|

डोल्पा : यहाँको त्रिपुरा सुन्दरी नगरपालिकाभित्र पर्ने ३२ वटा विद्यालयहरूमा वार्षिक परीक्षा सुरु भएको छ। नगरपालिकाभित्र पर्ने वडा नं १ देखि ११ सम्मका विद्यालयहरूमा मंगरबारबाट आधारभूत तह (१–८) र माध्यामिक तह (९–१०) को वार्षिक परीक्षा सुरु भएको हो।

मंसिर महिनादेखिनै चिसो बड्ने र पुस-माघमा हिमपात हुने भएकाले मंसिर अन्तिम सातासम्म परीक्षा सम्पन्न गरेर पुष पहिलो साताभित्रै नगरका सम्पूर्ण विद्यालयहरू बन्द हुने त्रिपुरा सुन्दरी नगरपालिकाले जनाएको छ। जारी शैक्षिक सत्र सकेर बन्द भएका विद्यालयहरू नयाँ  शैक्षिक सत्र सुरू भएसँगै फागुनमा खुल्ने गरेको नगरको भनाई छ। हिँउदको समयमा चिसोले पठनपाठन प्रभावित हुने भएकाले पुषमै विद्यालयहरू बन्द भएर फागुनमा खुल्ने गरेको बताइएको छ।

त्यस्तै ठूलीभेरी नगरपालिकाभित्र पर्ने २४ विद्यालयमा २६ गतेबाट, जगदुल्ला गाँउपालिकाका १० विद्यालयमा २६ गतेबाट, मुड्केचुला गाउँपालिका १३ विद्यालयमा २३ गतेबाट वार्षिक परीक्षा तोकिएको स्थानीय विभिन्न स्थानीय तहले जनाएका छन्। काइके गाँउपालिकाभित्र पर्ने १४ विद्यालयमा भने गत सोमबारदेखि नै परीक्षा सुरु भइसकेको छ।

उपल्लो डोल्पामापर्ने शे–फोक्सुन्डो,डोल्पो बुद्ध, छार्काताङसोङका २४ विद्यालयमा कात्तिक अन्तिमभित्र वार्षिक परीक्षा सम्पन्न गरेर बन्द भइसकेको जिल्ला प्रशासन शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख सिँहराज डाँगीले जानकारी दिए। गत कात्तिक अन्तिममा बन्द भइसकेका उपल्लो डोल्पाका विद्यालयहरू छ महिनापछि मात्रै खुल्ने उनको भनाइ छ। भौलिक विकटता र फरक हावापानीको कारण जिल्लाको शैक्षिक सत्र नै दुई भागमा विभाजित भएको छ।

उपल्लो डोल्पामा तीनवटा स्थानीय तहमा प्रत्येक बर्ष बैशाखमा सुरु भएको शैक्षिक सत्र कात्तिकमा सकिने र तल्लो डोल्पामा फागुनमा सुरुभएको शैक्षिक सत्र पुषमा सकिने गर्दछ। कर्णालीका डोल्पा, हुम्ला, जुम्ला, मुगुमा एकै वर्ष दुईवटा शैक्षिक सत्र लागू हुने गरेता पनि अन्य जिल्लामा भने प्रत्येक वर्षको चैत्रमा शैक्षिक सत्र सकिएर बैशाखमा नयाँ शैक्षिक सत्र सुरु हुने गर्दछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.