|

फ्रान्सका प्रधानमन्त्री एडुआर्डो फिलिप्पेले मंगलबार सरकारले इन्धनमा लगाएको कर फिर्ता लिने बताएसँगै प्रदर्शन अन्त्य हुने भएको छ।

प्रधानमन्त्री फिलिप्पेले प्रदर्शनकारीसँग भेट्न चाहेका थिए। तर, प्रदर्शनकारीहरूले आफ्ना माग पूरा गर्न माग गर्दै प्रदर्शन जारी राखेका थिए भने वार्तामा नजाने बताएका थिए। कट्टर आन्दोलनकारीहरूले वार्तामा जानेलाई मार्ने धम्की दिएपछि प्रदर्शनकारीका पक्षबाट कोही वार्तामा सहभागी भएनन्।  

'पहेँलो भेस्ट' लगाएका प्रदर्शनकारीले करवृद्धि विरुद्ध सडक प्रदर्शन गरेका थिए। करिब एक महिना फ्रान्सका विभिन्न सहरमा इन्धनमा गरिएको करवृद्धि विरुद्ध प्रदर्शन भएको थियो। पछिल्लो समय हिंस्रक बन्दै गएको प्रदर्शनमा तीन जनाको मृत्यु भएको थियो। सयौँ प्रदर्शनकारी र दर्जनौ सुरक्षाकर्मी घाइते भएका थिए भने झन्झै एक हजार प्रदर्शनकारीलाई नियन्त्रणमा लिइएको थियो। प्रदर्शनकारीले ठूलो मात्रामा सार्वजनिक र निजी सम्पती तोडफोड गरेका थिए।

फ्रान्सका गृहमन्त्रीले आइतबार भएको प्रदर्शनमा मात्रै एक लाख ३६ हजार मान्छेले भाग लिएको बताएका थिए।

यो प्रदर्शनलाई सामाजिक संजालले व्यापक मात्रामा बढावा दिएको थियो। प्रदर्शनकारीले राष्ट्रपति म्यानुअल म्याक्रोँको आर्थिक नीतिको कडा आलोचना गरेका थिए। जसका कारण पनि प्रदर्शनमा व्यापकता आएको थियो।

म्याक्रोँले राजधानी पेरिसमा भएको प्रदर्शन अनुचित भएको बताएका थिए। म्याक्रोँले विपक्षी राजनीतिक दलहरू जिम्मेवार भएको पनि आरोप लगाएका थिए।

सरकार पछि हटेसँगै प्रदर्शनकारीले पनि आन्दोलन अन्त्य गर्ने तयारी गरिरहेको बताइएको छ।

फ्रान्समा डिजल कारमा प्रयोग हुने प्रमुख इन्धन हो। पछिल्लो १२ महिनामा डिजलको मूल्य २३ प्रतिशतले वृद्धि भएको थियो। म्याक्रोँको सरकारले यो वर्ष प्रति लिटर डिजलमा ७.६ प्रतिशत हाइड्रोकार्बन कर लगाएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.