|

सुनसरी : इटहरी उपमहानगरपालिकाको ‘जनता पार्क इटहरी’ कार्यक्रम शिलान्यास हुनुभन्दा अगावै विवादमा परेको छ। इटहरी उपमहानगरपालिकाले मंसिर २० गते मुख्यमन्त्री शेरधन राईबाट जनता पार्क इटहरी शिलान्यास कार्यक्रम गर्ने जनाएको छ। तर सो कार्यक्रमबारे स्वयं उपमहानगरपालिकाकी उपप्रमुख भने बेखबर बनेकी छन्।

प्रदेश १ का मुख्यमन्त्री नै ल्याएर तामझामसहित शिल्यान्यास गर्ने भन्दै निमन्त्रण पत्र बाँडेर प्रचार प्रसार भइरहेको बेला कार्यक्रमबारे आफूलाई जानकारी नै नभएको उपप्रमुख लक्ष्मी गौतमले बताएकी छन्। मंगलबार इटहरी उपमहानगरपालिकामा क्रिकेट मैदान मास्न लागेको भन्दै ज्ञापनपत्र बुझाउन गएका खेलाडीको ज्ञापनपत्र बुझ्दै उपप्रमुख लक्ष्मी गौतम स्वयं बेखबर भएको बताइन्।

‘दुई दिनपछि कार्यक्रम छ अरे भन्ने सुनिएको हो। मलाई चाहिँ जानकारी छैन’ उपप्रमुख गौतमले भनिन्, ‘जानकारी छैनभन्दा तपाईहरूकै सञ्चार माध्यम, रेडियो पत्रपत्रिकाबाट सुनेको हुँ।’ उपप्रमुखले यसो भनिरहँदा ज्ञापनपत्र बुझाउन गएका खेलाडी, खेल आवद्ध संस्थाका पदाधिकारी र पत्रकार सवै छक्क परेका थिए।

उपमहानगरपालिकाले बुधबार कार्यपाकिालको बैठक बोलाइएको पनि उपप्रमुख गौतमले जानकारी दिइन्। उपमहानगरपालिकाको वार्षिक बजेट पुस्तिकामा जनता पार्क कार्यक्रम इटहरी ५ वडामा गर्ने भनिएको छ। तर एकाएक कसरी वडा ९ मा सारियो त्यो पनि आफूलाई जानकारी नभएको उपप्रमुख गौतमले स्पष्ट पारिन्। मंसिर २० गते मुख्यमन्त्री ल्याएर गर्ने भनिएको कार्यक्रम पनि कार्यपालिकाबाट पारित नभएको पनि जानकारी दिइन्। 

वडा ९ मा रहेको सार्वजनिक जग्गाको सदुपयोग गर्दै क्रिकेट मैदान बनाइएको थियो। तर सोही क्षेत्रमा घेराबारा सहित पार्क बनाउन उपमहानगरले तयारी थालेको बुझिएको छ। नगर प्रमुख द्वारिकलाल चौधरीले कार्यक्रममा सहभागी हुन निमन्त्रणा पत्र बाँडिरहेका छन्। बाँडिएको निमन्त्रणामा स्थान भने जुट अनुसन्धान तथा रेशम खेती विकास कार्यक्रमको पूर्वी किनार लेखिएको छ। विरोधपछि खेलाडीले दावी गरेको स्थानमा कार्यक्रम हुने वा नहुने त्यो स्पष्ट हुन सकेको छैन। 

आन्दोलन गर्ने खेलाडीको चेतावनी   

सातौँ राष्ट्रिय महिला क्रिकेट सहितका अन्य राष्ट्रिय प्रतियोगिता हुँदै आएको क्रिकेट मैदानमा पार्क बनाउन लागेको भन्दै खेलाडीहरू विरोधमा उत्रिएका छन्। इटहरी उपमहानगरपालिकाले क्रिकेट मैदान मास्न खोजेको भन्दै इटहरीका खेलाडीहरुले पहिलो चरणमा ज्ञपान पत्र बुझाएर अन्दोलन सुरु गरेका छन्। आन्दोलको पहिलो कार्यक्रमअन्तर्गत उनीहरूले मंगलबार इटहरी उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतमलाई ज्ञापन पत्र बुझाएका हुन्।

इटहरी क्रिकेट एकेडेमी, सेभेन स्टार क्लब, इटहरी ग्रिन सिटी क्रिकेट क्लब, सुनसरी जिल्ला क्रिकेट संघ लगायतका संस्थाका पदाधिकारीसहित क्रिकेट खेलाडी र खेलसँग आवद्ध सरोकारवालाहरू ज्ञपानपत्र लिएर उपप्रमुख भेट्न पुगेका थिए। प्रमुख द्वारिकलाल चौधरीले ज्ञापनपत्र बुझ्न समय नदिएपछि उपप्रमुख लक्ष्मी गौतमलाई ज्ञापनपत्र बुझाइएको खेलाडीले बताएका छन्। 

इटहरीको क्रिकेटको भविष्य नै सक्ने गरी मैदान मास्न लागेकाले विरोध गर्नु परेको जिल्ला क्रिकेट संघका अध्यक्ष सिपी पौडेलले बताए। उपमहनगरको यो कदम कदापी स्वीकार गर्न नसकिने उनले बताए। आफ्ना मागका विषयमा कार्यपालिका बैठकमा उठाइदिन आग्रह गरे। क्रिकेट मैदानमा अहिले पनि दैनिक रूपमा खेलाडीले अभ्यास गर्दै आएको इटहरी क्रिकेट एकेडेमिका अध्यक्ष कैशाल विष्टले बताए।

हिजो खेलाडीले पसिना बगाएर बनाएको मैदान मासेर पार्क बनाउन नदिने उनले बताए। पसिना बगाउने खेलाडी मैदानका लागि रगत बगाउन पनि तयार रहेको चेतावनी दिए। ज्ञापनपत्र बुझ्दै उपप्रमुख लक्ष्मी गौतमले तयारी मैदान मास्ने विषयमा आफू गम्भीर रहेको बताइन्। खेलको विकास र त्यसमा पनि क्रिकेटको विकासका लागि लगानी गर्नुपर्ने अवस्थामा बनेको संरचना मास्ने विषय उचित नहुने उनको तर्क थियो। यो विषयमा आफूले कार्यपालिकाको बैठकमा आवाज उठाउने आश्वासन दिइन्।

कार्यक्रमको विषयमा आफूलाई जानकारी नै नभएको उपप्रमुख लक्ष्मी गौतमले बताइन्। कार्यक्रमको विषयमा आफूलाई जानकारी नभएको र कार्यपालिकाबाट पारित पनि नभएको पनि उनले ज्ञापनपत्र लिँदै सबैलाई जानकारी गराइन्। सार्वजनिक जग्गाको उपयोग गर्दै राष्ट्रिय स्तरको प्रतियोगिता सञ्चालन गर्ने गरी क्रिकेट मैदान निर्माण गरिएको थियो। मैदान तयार भएपछि साताैं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेट, दोस्रो प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियागिता र अन्डर १९ राष्ट्रिय प्रिमियर लिग सम्पन्न भइसेको छ।

उक्त मैदानको केही दिनअघि नेपाली राष्टिय क्रिकेट टिमका कप्तान पारस खड्का, पोखरा प्रिमियर लिगका प्रमुख आयोजक छुम्मि लामा, बिराटनगर किग्सका टिम मालिक पारस लुनिया, क्रिकेटका राष्टिय प्रशिक्षक प्रदिपराज पाण्डे, लगायतको टोलीले निरीक्षण गरेको थियो। निरीक्षणका क्रममा उनीहरूले मैदान प्रदेश १ कै उत्कृष्ट भएकाले संरक्षण गरी थप स्तर उन्नति गर्नुपर्ने बताएका थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.