|

भद्रपुर, (झापा) : चाँडो मुद्दा मिलाई दिएको भन्दै पीडितबाट रकम असुल्ने एक जना प्रहरी सहायक निरीक्षक (असई)लाई प्रहरी कार्यालय झापाले जागिरबाट निलम्बन गरेको छ।

प्रहरी चौकी चाराआलीका इञ्चार्ज प्रहरी सहायक निरीक्षक उत्तमकुमार कार्कीलाई जागिरबाट निलम्बन गरिएको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

घटना विवरणअनुसार इलाका प्रहरी कार्यालय बिर्तामोडले मेचीनगर नगरपालिका १३ बस्ने यादव भट्टराईलाई मंसिर १० गते पक्राउ गरी अभद्र व्यवहारसम्बन्धी मुद्दा चलाई कारवाही अघि बढाएका थिए। प्रहरीले अभद्र व्यवहारको मुद्दा चलाएका भट्टराई मंसिर १६ गते जिल्ला प्रशासन कार्यालय झापामा ८ हजार धरौटी बुझाएर छुटेका थिए।

धरौटी बुझाएर छुटेका भट्टराईसँग प्रहरी चौकी चाराआलीका असईले कार्कीले त्यसको भोलिपल्ट मंसीर १७ गते १५ हजार लिएका थिए। कार्कीले चाँडो मुद्दा मिलाइ दिएको भन्दै भट्टराईसँग रकम लिएका हुन्।

प्रहरीले घुस लिएको भन्दै भट्टराईले प्रहरी कार्यालय झापालाई सो विषयमा जानकारी गराएपछि तत्काल प्रहरीमाथि अनुसन्धान सुरु गरिएको प्रहरी नायव उपरीक्षक श्रेष्ठले बताए। ‘प्रहरी अनुसन्धानबाट प्रसनि कार्कीले भट्टराईसँग रकम लिएको भेटियो’, प्रनउ श्रेष्ठले भने, ‘त्यसपछि प्रहरी संगठनको कानुनबमोजिम उनलाई जागिरबाट निलम्बन गरिएको हो।’

यस लेनदेनको घटनामा इलाका प्रहरी कार्यालय बिर्तामोडमा कार्यरत प्रहरी नायव निरीक्षक (सई) उत्तम कार्कीको समेत संलग्नता रहेको आंशकामा प्रहरी कार्यालय झापाले उनीमाथि छानबिन सुरु गरेको प्रनउ श्रेष्ठले बताए। ‘मेरो अध्यक्षतामा छानबिन टोली गठन भएको छ', उनले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.