|

तनहुँ : जिल्ला प्रशासन कार्यालय र डिभिजन वन कार्यालय तनहुँको समन्वयमा नरभक्षी चितुवाको नियन्त्रणका लागि क्यामेराबाट ट्रयाप गरिने भएको छ। राष्ट्रिय प्रकृति संरक्षण कोष काठमाडौँबाट क्यामेरा ल्याएर मंगलबार जडान गरिएको तनहुँका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले बताए।

तनहुँको भानु नगरपालिकामा नरभक्षी चितुवाले बालबालिकामाथि आक्रमण गर्ने क्रम दिनप्रतिदिन बढेपछि दुई प्राविधिकहरूले जङ्गलमा क्यामेरा जडान गरेको प्रजिअ शर्माले बताए। ‘भानु नगरपालिका क्षेत्रमा चितुवाको आक्रमणलाई नियन्त्रण गर्न कदम चालेका छौँ, क्यामेरा जडानले चितुवाको नियन्त्रण गर्न सकिन्छ भन्ने अपेक्षा लिएका छौँ,’ शर्माले भने। 

स्थानीय, सशस्त्र र जनपद प्रहरीको टोली तीन दिनसम्म खोजी गर्दा समेत चितुवालाई नियन्त्रणमा लिन नसकेपछि क्यामेराबाट नियन्त्रण गर्ने प्रबन्ध मिलाइएको डिभिजन वन कार्यालयले जनाएको छ। क्यामेरा ट्रयापबाट चितुवाको नियन्त्रण गर्न सहज हुने भएपछि क्यामेरासँगै लठ्याउने सामग्री समेत ल्याइएको डिभिजन वन कार्यालय तनहुँका वन डिभिजन अधिकृत केदार बरालले जानकारी दिए। ‘क्यामेराको नजिकबाट कुनै पनि जनावर हिडेको भए क्यामेराले फोटो लिने र लठ्याउने सामग्रीको माध्यमबाट चितुवाको नियन्त्रण गर्न सकिनेछ,’ बरालले भने, ‘यसको माध्यमबाट चितुवालाई समात्न सके चिडियाखानामा लगेर राख्ने प्रबन्ध मिलाइनेछ।’

राष्ट्रिय प्रकृति संरक्षण कोष काठमाडौंका प्राविधिक हर्क लामा र अर्को एकजनालगायत डिभिजन वन कार्यालयको सहयोगमा क्यामेरा जडान गरिएको छ। यसअघि चितुवा नियन्त्रणका लागि डिभिजन वन कार्यालयको सहयोगमा दुई ठाउँमा पासो समेत लगाइएको छ। जनताको सुरक्षाप्रति प्रशासन गम्भीर बनेको भन्दै छिट्टै नरभक्षी चितुवा नियन्त्रणमा आउने प्रजिअ शर्माले दाबी गरे। ‘दिनरात नभनी २४सैँ घण्टा हाम्रो संयन्त्रले काम गरिरहेको छ। आवश्यक सबै काम भइरहेको छ, छिट्टै चितुवालाई नियन्त्रणमा लिएर भानुवासीको त्रास हटाउनेछौँ,’ शर्माले भने।

मंगलबार पनि भानु नगरपालिका क्षेत्रमा चितुवाको खोजी कार्य तिव्रताका साथ भइरहेको बताइएको छ। प्रत्येक गौँडागौँडामा स्थानीयवासी, प्रहरी र भानु मनकामना गणका सशस्त्र प्रहरी बलको समूह बनाई सुरक्षामा खटिरहेको छ।

नियन्त्रण गर्नेलाई पुरस्कार 

चितुवा नियन्ण गर्ने व्यक्तिलाई पुरस्कारको व्यवस्था गरिएको छ। भानु नगर कार्यपालिकाले सोमबार गरेको सर्वपक्षिय भेलाबाट नरभक्षी चितुवाको नियन्त्रण गर्ने व्यक्तिलाई पुरस्कारको व्यवस्था गरेको हो। 

जङ्गली जनावरबाट मानवीय क्षति हुनबाट बचाउनका लागि साझा पहल स्वरुप नगरपालिकाले बोर्ड बैठकमा सरोकारवालाहरूसँग गरी उक्त निर्णय गरिएको भानु नगरपालिकाका प्रमुख उदयराज गौलीले जानकारी दिए।

एक वर्षमा तीन जनाको मृत्यु

चितुवाको आक्रमणबाट भानु नगरपालिकामा एक वर्षमा तीन जनाको मृत्यु भएको छ। एक महिनाको अवधिमै दुई जनाको मृत्यु हुनुका साथै एक जना घाइते भएका छन् भने भालुको आक्रमणबाट एक वर्षको अवधिमा दुई जना घाइते भएका छन्। २०७४ फागुन १ गते एक जना, २०७५ साल कात्तिक २९ गते र मङ्सिर १५ गते समेत गरी तीन जनाको चितुवाको आक्रमणबाट मृत्यु भएको थियो।

भानु नगरपालिकाको कार्यालयमा छलफल गरी नरभक्षी चतुवालाई नियन्त्रण वा मार्न प्रतिवेदन सहित जिल्ला प्रशासन कार्यालयलाई आग्रह गरेको छ। भानु नगरपालिका क्षेत्रभित्र विशेष गरी २,३,४,५,९ र ११ लगायतका सबै वडामा चितुवाले पटक\पटक आक्रमण गरी मानिसको ज्यान मार्ने, घाइते बनाउने र गाउँवस्तीमा प्रवेश गरी जनमानसमा त्रास फैलाउने गरेको छ।  

टोली गठनसहित चितुवाको खोजी

भानु नगरपालिकाको वडा नम्बर १ देखि १३ सम्मका टोल विकास सस्था, युवा क्लब, विभिन्न सामाजिक संघसंस्था सहितको टोली गठन गरी घरवरपरका झाडी सफा गर्न लगाउने, विशेषगरी साँझ र बिहानपख चितुवाले बच्चाहरूमाथि आक्रमण गर्ने भएको हुनाले बत्ती बाल्न लगाउने, बालबालिकालाई एक्लै नछाड्न आग्रह गरिएको छ। 

जिल्ला प्रशासनद्धारा अपिल 

जिल्ला प्रशासन कार्यालय तनहुँले सोमबार एक अपिल जारी गर्दै भानु नगरपालिका क्षेत्रमा चितुवाको आक्रमणबाट हुन गएको क्षतिप्रति गम्भीर ध्यानाकार्षण भएको जनाएको छ। प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माद्धारा जारी विज्ञप्तिमा यस प्रकारको मानवीय क्षतिलाई गम्भीर रूपमा लिई विगत देखि नै नेपाल प्रहरी, सशस्त्र प्रहरी, सशस्त्र वन रक्षक, राष्ट्रिय प्रकृति कोषको डार्टिङ प्रविधिसहितको चितवन राष्ट्रिय निकुञ्ज उद्धार टोली, सदर चिडियाखाना जावलाखेलको उद्धार टोली समेतलाई परिचालन गरि नियन्त्रणको लागि विभिन्न प्रयासहरु भइरहेको जनाइएको छ। 

त्यस किसिमको नरभक्षी चितुवा नियन्त्रणको लागि स्थानीय बासिन्दाहरुको सहयोग र परिचालन समेतबाट खोर बनाई प्रत्येक साँझ बाख्रासहितको पासो थाप्ने कार्य भइरहेको छ। सामुदायिक वन उपभोक्ता समूहबाट वन क्षेत्रको झाडी सफा गर्ने, नगरपालिका मार्फत स्थानीय एफएम रेडियोबाट सुरक्षा उपायको जानकारीमूलक सूचना प्रसारण गर्ने लगायत भइरहेको जनाइएको छ।

चितुवाको वास्तविक अवस्था थाहा पाउन चितुवाको दिसा र रौं समेतको परिक्षणको लागि पठाउने व्यवस्था मिलाइएको विज्ञप्तीमा उल्लेख गरिएको छ। चितुवा नियन्त्रणमा नआएसम्म सुरक्षा फौज र स्थानीय समुदायको परिचालन भइरहने जानकारी दिँदै यस प्रकारको आक्रमणबाट जोगिन साँझ बिहान घरबाट ननिस्कन महिला तथा बालबालिकाहरूलाई आग्रह गरिएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.