|

मनाङ : आफैँमा चिसो हावापानी हुन्छ, हिमाली क्षेत्रमा। मंसिर महिनाको सुरुवातसँगै हिमाली जिल्ला मनाङमा पनि विस्तारै चिसो बढ्न थालेको छ।  चिसो बढ्न थालेसँगै सिजनको अन्त  हुने अत्यधिक चिसो र हिमपातको सिजन भएकोले यहाँका मानिसहरु जाडो छल्न जिल्लाबाहिर जाने गर्छन्। 

प्रायः बाह्रै महिना मनाङमा जाडो हुन्छ। विशेषगरी हरेक वर्ष मंसिर, पुस र माघ महिनामा यहाँ बढी जाडो हुन्छ। यस समयमा जिल्लाका विभिन्न ठाउँमा हिउँ पर्छ।

मनाङमा अहिले बिहान र बेलुकाको समयमा अति जाडो हुन थालेको छ। यो समयमा बजार तथा बाटोहरुमा मानिसहरुको चहलपहल घटेको छ। अन्नपूर्ण संरक्षण क्षेत्र धारापानीका अनुसार मनाङमा चिसो बढे पनि फाट्ट फुट्ट विदेशी पर्यटकहरु आउने गरेका छन्। अफ सिजनमा सिजनको जस्तो चालु हुँदैन तर थोरै थोरै मात्रमा निरन्तर छ। जाडो महिनामा हिउँसँग खेल्न, रमाउन पाउने भएकाले पनि चिसो मौसममा पर्यटकहरु मनाङसम्म पुग्छन्। मंसिर, पुस र माघ महिनामा जाडो छल्नाका लागि स्थानीयहरु देशका विभिन्न ठाउँमा पुग्ने गर्दछन्।

मनाङका होटल व्यवसायी विनोद गुरुङका अनुसार पर्यटकको सिजनको अन्तसँगै जिल्लाका होटल व्‍यवसायी पनि चिसो छल्नका लागि जिल्लाबाहिर जाने गरेका छन्। सिजनल व्‍यवसाय चल्ने हुँदा एउटा सिजन सकिएपछि अर्को सिजनको पर्खाइमा र चिसो छल्न आफूहरु काठमाडौं, पोखरा लगायतका सहरहरूमा जाने गरेको बताए।

माथिल्ला भेगहरुमा हिउँ पर्न सुरु भइसकेको छ। तल्लो क्षेत्रमा भने हालसालै खासै हिउँ पर्दैन। अब विस्तारै तल्लो भेगहरूमा पनि हिउँ पर्न सुरु हुने  र माथिल्ला भेगहरुमा हिउँ पर्न थालेसँगै तल्लो भेगहरुमा चिसो बढ्दै गएको स्थानीय बताउँछन्।

चिसो बढेसँगै यहाँका गाउँघर सुनसान र रित्तो हुने गर्दछ। विद्यालयको अन्तिम परीक्षा सकाएर शिक्षक विद्यार्थी बिदामा हुन्छन्। गाउँमा भने घर कुर्ने एक दुईजना मानिसहरु रहन्छन्। हिमालमा रहेका भेडा चौरीहरूको   खर्क बेसी सार्ने र  चिसोले नभेट्ट्ने ठाउँमा राख्ने प्रचलन रहेको छ। चौरीगोठहरू मनाङको नासों गाउँपालिकाका लेकहरूमा राखिने र भेडा च्याङग्रा लमजुङको बाहुन डाँडा र घनपोखरा पुराउने  चौरीपालक सुरेस थकालीले बताए।

खर्क सार्ने तयारी

माथिल्ला भेगमा रहेका खर्कहरुबाट घरपालुवा पशु जिल्लाको तल्लो भेगहरूमा सार्ने तयारीमा किसानहरु जुटेको पनि थकालीले बताएका छन्। ‘अबका तीन महिना माथिल्लो भेगहरुमा हिउँ पर्छ। अति जाडो हुन्छ। घाँस पूरै हिउँले पुर्छ। त्यसैले माथिल्लो भेगमा रहेका खर्कबाट किसानहरु घरपालुवा पशु तल्लो भेगमा सार्ने तयारीमा जुटिसकेका छन्।

यस क्षेत्रका किसानहरुको माथिल्लो भेग र तल्लो भेगमा गरी २ गोठ रहेका हुन्छन्। चिसो बढेसँगै माथिल्लो भेगमा रहेका खर्कबाट किसानहरुले घरपालुवा पशु याक, चौँरी, च्याङ्ग्रा र भेडाबाख्रा जिल्लाको तल्लो भेगमा रहेका तालगाउँ, धारापानी, दानाक्यू लगायतमा ठाउँमा सार्ने गर्दछन्।

हिमपातबाट जोगिन दाउरा संकलन   

मंसिर, पुस र माघ महिना मनाङमा हिमपात हुने भएकोले स्थानीय चिसो मौसम सुरु हुनुअगावै दाउरा संकलनमा जुट्छन्। होटल व्यवसायीहरुले कामदार लगाएरै दाउरा संकलन गर्छन्। यो समयमा जिल्लामा रहेका विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थामा काम गर्ने कर्मचारीहरुले स्थानीयबाट दाउरा खरिद गर्छन्।    

स्थानीयका अनुसार स्थानीयबासी तथा कर्मचारीहरुलाई आफ्नो व्यक्तिगत उपयोगको लागि दाउरा संकलन गर्नको लागि कुनै समस्या छैन। कर्मचारीहरु कार्यालयकै कामकाजमै व्यस्त हुने भएकाले दाउरा संकलन गर्न भ्याउदैनन्। त्यसैले विभिन्न कार्यालयका कर्मचारीहरुले स्थानीयबाटै दाउरा खरिद गर्छन्। दाउरा संकलन गर्नेहरुले नियमअनुसार शुल्‍क तिरी दाउरा संकलन गर्नुपर्ने चामेकी धनमाया विकले बताइन्।

‘शुल्क तिरी दाउरा जम्मा गर्छौँ। दाउरा बेच्दा प्रतिभारी १५० रुपैयाँ लिन्छौं। एक चट्टा दाउरा घरसम्म पुर्याइदिएको  १०,००० रुपैयाँ लाग्छ,’ उनले बताइन्। हरेक गाउँपालिकाले दाउरा संकलनको लागि स्थानीय स्तरमै दाउरा संकलन समिति गठन गर्छ। दाउरा सकंलनसम्बन्धी आवश्यक नीति–नियम बनाइन्छ। ‘समितिको रोहवरमा मात्रै दाउरा संकलन हुने गर्दछ,’ चामे गाउँपालिकास्तरीय दाउरा संकलन समितिकी अध्यक्ष अनिता लामा बताइन्। चिसो समयमा स्थानीयले आगो ताप्नका लागि दाउराको उपयोग गर्छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.