फिचर

पर्यटकको रोजाइमा ऐतिहासिक 'राजारानी क्षेत्र'
SHARES

मंसिर १९, २०७५

    दुनै(डोल्पा) : डोल्पाभित्र पर्ने प्रमुख ऐतिहासिक सम्पदामध्ये एक हो राजारानी क्षेत्र। राजारानी क्षेत्र आकर्षक पर्यटकीय गन्तव्‍य बन्न थालेको छ। गाउँको तलतीर बिचमै छ राजारानी डाँडा। डाँडामा वृक्षारोपण गरिएको हराभरा सल्लाको जंगलले त्यस क्षेत्रको सुन्दरतालाई थप मनमोहक बनाइदिएको छ। बाह्रै महिना एउटै गतिमा बहने हावाले चैत्र वैशाखको गर्मीमा पनि शीतलता प्रदान गर्दछ। प्राकृतिक सुन्दरता मात्रै त्यहाँको परिचय होइन। रोचक प्राचीन इतिहास राजारानी क्षेत्रको अर्को परिचय हो।

    डाँडाको पूर्वतर्फको फेदैमा छ सिमालो (भिजेको) जमिन। करिब दश रोपनी क्षेत्रमा फैलिएको सेरा खेतको आफ्नै इतिहास छ। आजभन्दा सयौँ वर्षअगाडि बाजागाजासहित धान रोपाइँ गरिन्थ्यो। जेठ महिनामा गरिने धान रोपाइँमा खेताला, गोरु, रोपार्नी जिल्लाका विभिन्न विकट गाउँहरुबाट रल्लीगाउँ पुग्थे। त्यहाँ अनौठो प्रचलन थियो। रोपाइँ सुरु गर्नुपूर्व मान्छेको बली दिने परम्परा थियो। यदि मान्छेको बली नदिएरै रोपाइँ सुरु गरे सबै खेताला, गोरु हिलोमा फस्ने र अनिष्ठ हुने विश्वास थियो।

    खेतबाट पचास मिटर टाढा मानवबलीकालागि प्रयोग गर्ने  पाँच मीटर लामो त्यत्तिकै गहिरो अनौठो ढुंगा राखिएको छ, त्यसैमा मान्छे राखेर बलिदिने गरेको स्थानीय विषमान नेपालीले बताए। 'त्यो अनौठो ढुंगा अझै पनि देख्न पाइन्छ, त्यसैमा रोपाइँका दिन काटिने मान्छेको नाम लेखिएको हुन्थ्यो' नेपालीले भने।

    मानवबलि दिने कुप्रथा एक बाबुछोराले हटाएको बताइन्छ। साबिकको माझफाल गाविसका बाबुछोराले ढुंगामा लेखिएका अक्षर बासो (फलामे औजार)ले ताछेर मेटाएपछि हटेको इतिहास छ। रोपाइँ गरेको खेत अहिले बाँझो अवस्थामा छ। स्थानीयले पशुवस्तु चराउने ठाउँको रूपमा प्रयोग गर्दै आएका छन्। बाइसे–चौबिसे राज्य हुँदा डोल्पाका नौ राज्यमध्ये प्रमुख शक्तिशाली राज्यको रूपमा लिम्बूल्याप्चे नामका भोटे राजाले शासन चलाउँदै आएका थिए।

    त्यति मात्रै नभई राजारानी डाँडा बहुमूल्य प्राचीन वस्तु भेटिने स्थानको रूपमा समेत परिचित छ। चार वर्षअगाडि  पुरातत्व विभागको टोलीले १४ दिनसम्म बसेर अनुसन्धान गर्‍यो। अनुसन्धानकै क्रममा स्थानीयहरूसँग परामर्श गरेर र विभिन्न स्थानमा उत्खनन गर्न सुरु गर्‍यो।

    उत्खनन गर्दा सयौँ वर्ष पुराना वस्तुहरु फेला परे। जसमा पत्थरबाट बनेका बहुमूल्य माला (पुलिक) २ थान, फलामबाट बनेको तीर ५ थान, माटाका भाँडाहरू ३ थान, मानव साङ्लो, धातुका हात हतियार, मानव अस्‍थिपञ्जर लगायतका १५ प्रकारका पुरातात्विक वस्तुहरू फेला परे। उक्त पुरातात्विक वस्तुहरु त्रिपुराकोटमा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरियो। अनुसन्धान गर्ने भन्दै ति वस्तु पुरातत्व विभागले काठमाडौं लग्यो।

    'धामी(देउता चढेर भविष्‍यवाणी गर्ने मान्छे)ले उत्खनन गर्न रोक लगाएका थिए, पुरातत्वको टोलीलाई पनि उत्खनन नगर्न भन्यौँ तर मानेन्, उत्खनन गर्यो' स्थानीय टोपबहादुर शाहीले भने। 'उत्खननपछि विभिन्न ऐतिहासिक वस्तु भेटिए, हामीले ती वस्तु डोल्पामै राख्न आग्रह गर्‍यौँ, तर टोलीले मानेन ,काठमाडौं लग्यो।' 'राजारानी क्षेत्रलाई संरक्षित क्षेत्रको रुपमा विकास गर्ने र थप अनुसन्धानका लागि केही समयभित्रै डोल्पा पुग्ने वाचा गरेर फर्केको उक्त टोली फेरि  डोल्पा पुगेन' शाहीले थपे।

    जमिनमुनि घर

    राजारानी डाँडा वरिपरिका विभिन्न ठाउँमा जमिनमुनि बनाइएका खाडल आकारका घर भेटिन्छन्। जमिनभित्रै प्राचीन ढुंगाद्वारा निर्माण गरिएका जस्ता देखिने घरहरू अवलोकन गर्न त्यहाँ पुग्ने मान्छेहरुका लागि अनौठा लाग्छन्। त्यहाँभित्र सयौँ वर्ष पुरानाजस्ता लाग्ने मानव अस्तिपञ्जरहरू अझै देख्न पाइन्छ।

    परापूर्वकालमा नेपाल एकीकरणको क्रममा डोल्पा पुगेको बहादुर शाहको टोलीबाट बच्नका लागि बनाइएको बताइन्छ। बहादुर शाहको टोलीसँग युद्ध चल्दा मरेका सैनिकहरूलाई गाड्ने गरेकाले पनि धेरै परिमाणमा मानव अस्‍थिपञ्जर रहेको अनुसन्धानकर्ता बताउँछन्।

    राजारानी देवल

    त्यस क्षेत्रको अर्को आकर्षणको रूपमा राजा र रानीका देवल हुन्। प्राचिन ढुंगा कुँदेर बनाइएका उक्त देवलहरु निकै नै आकर्षक देखिन्छन्। त्यहाँ पुग्ने आन्तरिक तथा बाह्य पर्यटकहरु ती देवल तस्बिरमा कैद गर्न आतुर हुन्छन्। त्यहाँका राजाले सम्झनाका लागि राजारानी देवल खडा गरेको एकथरीको भनाइ छ भने अर्काथरी मान्छेहरूले डोल्पा एकीकरण गर्न आएको बहादुर शाहको टोलीले त्यहाँको राजालाई मारिसकेपछि उनीहरूको स्मारकको रूपमा राजारानीको देवल खडा गरेको बताउँछन् ।

    अस्तित्व लोप हुने खतरा

    बहु इतिहास बोकेको राजारानी क्षेत्र लोपहुने खतरा बढेको छ। सयौँ वर्ष पुरानो इतिहासको साक्षीको रूपमा पुरातत्व विभागले सूचीकृत गरेको उक्त क्षेत्र मानवीय अतिक्रमणको चपेटामा पर्न थालेको हो। प्राचीन इतिहास बोकेको सो क्षेत्रमा स्थानीयले जथाभावी उत्खनन गरेर माटो, ढुंगा निकाल्न थालेपछि अस्तित्व लोप हुने खतरा बढेको स्थानीय तुलबहादुर श्रेष्ठले बताए। संरक्षणका लागि कसैको पनि ध्यान पुग्न नसकेको भन्दै स्थानीयले दु:ख व्‍यक्त गरेका छन्।

    आन्तरिक पर्यटकको रोजामा

    राजारानी क्षेत्र आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ। रोचक इतिहास बोकेर पनि ओझेलमा परेको सो क्षेत्रको अवलोकन भ्रमणका लागि जिल्लाका विभिन्न क्षेत्रबाट आन्तरिक पर्यटकहरू आउने गरेका छन्। त्यतिमात्रै नभई त्यहाँबाट भेरी नदी, त्रिपुरा सुन्दरी मन्दिर, मुकुटेश्वर हिमाललगायत चारैतिरको दृश्‍य अवलोकन गर्न सकिने भएकाले भ्यु टावर निर्माण गरेर पर्यटक भित्र्याउन सकिन्छ।

    अवलोकन भ्रमणका लागि जिल्लाका विभिन्न विद्यालयबाट शिक्षक विद्यार्थीहरू आउने गरेको स्थानीयको भनाइ छ। त्यहाँ पुगेर मान्छेको बलि दिन प्रयोग भएको ढुंगा, सेरा खेत, राजारानी देवल, जमिनमुनिका घरहरू, मानव अस्‍थिपञ्जरहरूको अवलोकन गर्ने गरिएको छ। । पछिल्लो चार महिना यता मात्रै दर्जन धेरै विद्यालयहरूले सो क्षेत्रको भ्रमण गरिसकेको स्थानीय पन्न उखेडाले बताए।

    रोचक र रमाइलो वातावरण भएकै कारण चलचित्रहरू सुटिङका लागिसमेत मान्छेहरू पुग्ने गरेका छन्। केही महिना अगाडि मात्रै डोल्पाको मौलिक परिवेश र त्यहाँको कष्टकर जीवनशैलीलाई कथा बनाएर निर्माण गर्न लागिएको चलचित्र म्हेन्दुको छायांकन गरिएको थियो। अनौठो र रोजक इतिहास बोकेको राजारानी क्षेत्र अवलोकन भ्रमणका लागि एकपटक पुग्नैपर्ने शिक्षक लोकेश खत्रीले बताए।

    संरक्षण गर्न माग

    प्राचीन इतिहास बोकेको सो क्षेत्रको संरक्षण गर्न स्थानीयले माग गरेका छन्। जिल्लामै प्रमुख इतिहासिक ठाउँ भएर पनि कुनै पनि निकायले संरक्षणका लागि चासो नदेखाएको भन्दै स्थानीय चिन्तित भएका छन्। घेराबार गरेर संरक्षण गर्न स्थानीयको माग छ।

रामचन्द्र न्यौपाने

पत्रकार न्यौपाने थाहाखबरका डोल्पा संवाददाता हुन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]