|

धनकुटा : धनकुटा जिल्लामा मात्र बसोबास गर्दै आएका आठपहरियाहरू यतिवेला आफ्नो प्रमुख चाड बढाङ्मी र खाल्सा क्षेत्रमा बसोबास गर्ने राई जाति पापानी चाड मनाउन व्‍यस्त छन्। आठपहरिया जातिको बढाङ्मी खुसियालीको हर्कबढाइ गर्ने तथा सबै दुखबाट उक्सिने मुख्य चाड हो भने खाल्सा क्षेत्रका राईहरू पापानी नयाँ बाली भित्रिएको खुसियालीमा मनाउने गर्दछन्। आठपहरियाहरुको वर्षभरीमा परेको मृत्यु शोक सामूहिक रूपमा उकास्ने यो एक मात्र पर्व पनि हो बढाङ्मी।

धनकुटा यतिबेला स्थानीय बाजागाजाले सुसज्जित भएको छ। स्थानीय बाजागाजा गीत नाच इष्ट देवताको पूजा र खानपिनले धनकुटा जिल्लामा मात्र बसोवास रहेको आठपहरिया जाति बढाङ्मी चाड मनाइरहँदा खाल्सा क्षेत्रका राईहरू पापानी चाडमा रमाइरहेका छन्। आठपहरिया जातिको मुख्य चाडको रूपमा रहेको बढाङ्मी कात्तिक पूर्णिमा बाट सुरु भएर १५ दिनसम्म जारी रहन्छ। सुनसरीको बराहाक्षेत्रमा गएर नुहाइने र पितृको सम्झना गरी दुख विर्सीएर मिठो खानेकुरा खाएर नाचगान गर्दै मनाइने चलन रहेको स्थानीय सुरेन्द्र आठपहरियाले बताए।

वर्षभरीमा मृत्यु हुनेहरुका परिवारका सम्पूर्ण सदस्य तीन दिन हिँडेर सुनसरीको बराहक्षेत्रस्थित कोकाहा खोलामा नुहाएर कपाल, दाह्री मुण्डन गरी बराह भगवानको दर्शन गरी बरखी फुकाउने प्रचलन रहेको छ। तीनदिने यात्राको क्रममा बरखी फुकाउने व्यक्तिले खोलाको बगर तथा खुला ठाउँमा बस्नुपर्ने हुन्छ। अरूले निर्माण गरेको पाटीपौवा तथा भवन प्रयोग गर्न नमिल्ने यो चाडमा बास बसेको ठाउँमा अन्य समयमा गाउन नमिल्ने मुन्धुम तथा भक्ति गाउने गरिन्छ। बरखीको कार्यक्रम सम्पन्न गरी चौथो दिन घर फर्किएर नाचगान गरेर यो चाड मनाउने चलन रहेको छ। खासगरी परिवारका सदस्यको मृत्यु भएको दुःखको पीडालाई सप्तकोसी, कोकाहाखोला र तमोरमा बगाउने चाडको रुपमा साथै हर्कबढाइ गर्ने चाडको रूपमा बढाङ्मीको विशेष महत्व रहेको स्थानिय सुर्य कुमार आठपहरीयाले बताए।

यो चाडमा दुख बिर्सिएर भक्ति गाउनुका साथै ढोल, मारुनी र आठपहरिया जातिभित्रको हुम्वारक, छिर्लिङे, खावाडो तीन पाछा अर्थात पुस्ताको डल्लो नाच नाचेर तथा संस्कृति अनुसारको परिकार खाएर मनाउने गरिन्छ।

धनकुटा सदरमुकामको सान्ताङ, डा'डागाउ', छारागाउँ, भीरगाउँ, ओक्मालुङ र बेलहारा लगायतको क्षेत्रमा करिब २० हजारको हाराहारीमा यो जातिको बसोवास रहेको छ। आफ्नो संस्कृति लोप हुन नदिन स्थानीय युवाहरूसमेत सचेत बनेका छन्। अन्य चाडमा जस्तै आफ्नो चाडमा विकृति आउन नदिन युवाहरु लागि पर्नुको साथै विभिन्न कार्यक्रमसमेत अघि सारिएको धनकुटा नगरपालिकाका प्रवक्ता जमसेर आठपहरियाले बताए।

यस्तै, धनकुटाको सहिदभूमि गाउँपालिकाको खाल्सा क्षेत्रका राईहरू पापानी चाड मनाउन व्यस्त छन्। कात्तिक पूर्णिमा पछिको पहिलो मंगलबार छिन्ताङ तिनमा रहेको साकेन्वा थानमा पूजा गरी यो पर्व सुरु गरिन्छ। नयाँ बाली भित्रिएको खुसियालीमा ६ दिन ६ रातसम्म नाचगान गरी मनाउने गरिएको छ। यो पर्वमा किरात राईहरूले कुलदेवताको पूजा गर्नुका साथै ढोल, झ्याम्टा बजाउँदै लहरै कुम जोडेर नाच्ने गरेका छन्। तर, पछिल्लो समय यो पापानी नाच लोप हुने क्रममा रहेकाले यसको संरक्षण लागि पापानी नाच्ने ६ जना कलाकारलाई सम्मान गरेको सहिदभूमि गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष योगेन्द्र राईले बताए।

धनकुटा नगरपालिकाका आठपहरिया र खाल्सा क्षेत्रका छिन्ताङ, आखिसल्ला र खोकु गाविसका राई जाति सांस्कृतिक धरोहरको रुपमा आ-आफ्नो चाडपर्व मनाउने गरेका छन्। यसको संरक्षणमा राज्यले अन्य पर्वको जस्तो चासो नदिएको उनीहरुको गुनासो छ। धनकुटा नगरपालिकामा मात्र बसोबास रहेको आठपहरियाको जातिको जनसंख्या करिब २० हजारको हाराहारीमा मात्र रहेको छ। अन्य जातजातिको भन्दा फरक कला संस्कृति भए पनि यसको प्रचारप्रसार तथा संरक्षणमा सरकारले चासो नदेखाउँदा उनीहरु चिन्तित छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.