कर्मचारी पनि पुगेनन्

|


बैतडी : बैतडीमा सुदूरपश्चिम प्रदेश सरकार मातहत स्थापना भएका विभिन्न सरकारी कार्यालयहरूको प्रथम चौमासिकको विकास खर्च शून्यजस्तै भएको छ। बैतडी, दार्चुला र बझाङ जिल्लामा निर्माण हुने प्रादेशिक रणनीतिक सडक, ठुल्ठूला झोलुंगे पुल र सडक पुल निर्माण गर्नका लागि बैतडीमा भौतिक पूर्वाधार विकास कार्यालय स्थापना भए पनि पहिलो चौमासिकमा विकास बजेट खर्च नभएको भौतिक पूर्वाधार विकास कार्यालयले जनाएको छ।

कात्तिक महिनामा मात्रै कार्यालय स्थापना भएको ढिलो गरी अख्तियारी आएकाले पहिलो चौमासिकमा विकास बजेट खर्च नभएको भौतिक पूर्वाधार विकास कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर जगतप्रसाद जोशीले बताए। भौतिक पूर्वाधार विकास कार्यालयले तीनवटै जिल्लामा ९९ ओटा सडक निर्माण गर्ने अख्तियारी पाएको भए पनि अहिलेसम्म एउटा काम पनि सुरु भएको छैन।

कर्मचारीको अभावमा काम सुरु गर्न नसकिएको सिनियर डिभिजनल इन्जिनियर जोशीले बताए। बैतडी र दार्चुला हेर्ने गरेर बैतडीमा स्थापना भएको कृषि ज्ञानकेन्द्रले पनि समान्य काम बाहेक अन्य काम सञ्चालन गर्न नसकेको कृषि ज्ञान केन्द्र बैतडीका निमित्त प्रमुख कर्णबहादुर चन्दको भनाइ छ।

प्रदेश सरकार मातहत स्थापना भएको भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले पनि पहिलो चौमासिकमा विकास खर्च गर्न सकेको छैन्। अख्तियारी नै नआएको विकास खर्च गर्न नसकेको कार्यालयका पशुसेवा प्राविधिक बिसनसिंह विष्टले बताए।

विकास निर्माणका कामसँग प्रत्यक्ष जोडिएको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले पनि पहिलो चौमासिक विकास बजेटतर्फ एक रुपैयाँ पनि खर्च गर्न सकेको छैन। अख्तियारी नै ढिला आएकाले विकास निर्माणका काम अघि बढाउन नसकिएको कार्यालयका ओभरसियर गोविन्द भट्टले बताए।

प्रदेश सरकार मातहत स्थापना भएका कार्यालयले पहिलो चौमासिक विकास बजेट खर्च नसकेको कोष तथा लेखा नियन्त्रक कार्यालयका सहायक सूचना अधिकारी पूर्णानन्द जोशीले बताए। पहिलो चौमासिकको बजेट खर्च शून्यजस्तै भएपछि प्रदेश सरकारको आलोचनासमेत हुने गरेको छ। आफू मातहतका सरकारी कार्यलयमा आएको विकास खर्चसमेत गर्न नसक्दा आलोचना हुँदै गएको हो।

कर्मचारी पुगेनन्

सुदूरपश्चिम सरकार मातहत बैतडीमा स्थापना भएको पूर्वाधार विकास कार्यालयमा कर्मचारीको पनि अभाव भएको छ। कार्यालयमा कर्मचारी नहुँदा कार्यालयले गर्ने काम अघि बढाउन नसकिएको पूर्वाधार विकास कार्यालय बैतडीका प्रमुख सिनियर डिभिजनल इन्जिनियर जगतप्रसाद जोशीले जानकारी दिए।

७ सबइन्जिनियर र ४ जना इन्जिनियरहरुको दरबन्दी भएको कार्यालयमा एकजना सबइन्जिनियर र एकजना इन्जिनियरबाहेक अन्यको पदपूर्ति हुन नसकेको उनले बताए। दार्चुला, बैतडी र बझाङ तीन जिल्लामा प्रादेशिक रणनीतिक सडक, सडक पुल र ठुल्‍ठूला झोलुंगे पुल निर्माणको जिम्मा पाएको कार्यालयले कर्मचारीको अभावमा काम अघि बढाउन नसकेको जोशीको भनाइ छ।

कात्तिक महिनामा स्थापना भएको कार्यालयले पहिलो चौमासिकमा कुनै काम गर्न पाएन भने कार्यालय स्थापना भएयता कर्मचारीको अभावमा काम हुन सकेको छैन्। चालु आर्थिक बर्षमा तीनओटै जिल्लामा ९९ वटा सडक निर्माणको जिम्मा पाएको कार्यालयले कर्मचारीको अभाव हुँदा समस्या भएको जनाएको छ। कर्मचारीको अभावमा काम समयमै नसकिने चिन्ता बढेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.