|

बालोन डी’ओर को परिकल्पना फ्रान्सेली खेलाडी तथा पत्रकार ग्राविएल हेर्नटले सन १९५६ मा गरेका थिए। उनले आफ्ना समकक्षीलाई युरोपको उत्कृष्ट खेलाडी छनोटका निम्ति आह्वान गरी वितरण सुरु गरे।

युरोपियन खेलाडीलाई मात्र दिइने भएकाले त्यस समयमा ब्राजिलका पेले र अजेन्टिनाका डिएगो अरम्यान्डो म्याराडोना जस्ता २०औँ शताब्दीका महान खेलाडीसमेत यो उपाधी पाउनबाट बञ्चित भएका थिए। सन १९५६ देखि सन १९९५ सम्म युरोपियन देशका खेलाडीलाई वितरण गरिँदै आएको यो उपाधीको त्यसपछि नियम परिर्वतन गरी युरोपियन क्लबबाट खेल्ने खेलाडीलाई पनि दिन थालियो।

नियम परिर्वतनसँगै एसी मिलानका लाइब्रेरियन स्ट्राइकर जर्ज वे पहिलो उपाधि जित्ने गैरयुरोपियन खेलाडी घोषित भए। सन २००७ पछि भने विश्वभरका सबै देश र क्लबलाई सहभागिताका लागि योग्य ठहराउन थालियो। सन २०१० देखि २०१५ सम्म अस्थायी रूपमा फिफासँगको सहकार्यमा फिफा वर्ष खेलाडीका रूपमा ‘फिफा बालोन डी’ओर’ को नामबाट वितरण गर्न थालियो। सहकार्यअगाडि बालोन डी’ ओर का नामबाट उपाधी पाउने अन्तिम खेलाडी बार्सिलोनाका लियोनल मेस्सी घोषित भए। त्यसपछिका २ संस्करण उनले ‘फिफा बालोन डी’ओर’ नामबाट लगातार जिते। तर सन् २०१६ यता पुनः बालोन डी’ओरको नामबाट नै वितरण गर्न थालिएको छ।

रोनाल्डो र मेस्सीको १० र्षे वर्चस्व तोडियो

क्रोएसियाका कप्तान लुका मोड्रिचले बालोन डी’ओर २०१८ को उपाधि जित्दै क्रिस्टियानो रोनाल्डो र लिओनेल मेसीले कायम गर्दै आएको १० वर्षे वर्चस्व तोडेका छन्। विश्वभरका १८० देशका पत्रकारको मतदानका आधारमा मोड्रिचले क्रिस्टियानो रोनाल्डोमाथि २७७ अंकको फराकिलो अन्तरले उपाधि जितेका हुन्।

फ्रान्स फुटबलले मतदान प्रक्रियामा हरेक देशको प्रतिनिधि पत्रकारबाट मनोनयनमा परेका ३० खेलाडीबाट शीर्ष ५ खेलाडीको नाम लिएको थियो। शीर्षस्थानमा पर्ने खेलाडीले ६ अंक, दोस्रोमा पर्नेले ४ र क्रमशः त्यसपछिका तीन खेलाडीले ३, २ र १ अंक हासिल गर्ने प्रावधान रहेको थियो। क्रोएसियाका लुका मोड्रिचले ७५३ अंकसहित बालोन डी’ओर जितेसँगै फुटबल विश्लेषकले मेस्सी र रोनाल्डाको युग खस्किँदै गएको अनुमान गरेका छन्। सन् २००७ मा ब्राजिलका काकाले उपाधी जितेपछि रोनाल्डो र मेस्सीको एक छत्र राज थियो। पेरिसमा सम्पन्न उपाधि समारोहमा दुवै हस्तीको उपस्थिति थिएन। बालोन डी’ओर को ६२ वर्षे इतिहासमा २००८ देखि २०१७ सम्म दुवै खेलाडीले ५/५ वटा अवार्ड हात पारेका थिए। मोड्रिचले उपाधि जितेसँगै नयाँ इतिहास नै कायम भएको छ।

बालोन डीओर २०१८ को चाख लाग्दो तथ्य

मोड्रिक बालोन डी’ओर जित्ने पहिलो क्रोएसियाली खेलाडी :

मोड्रिच पहिलो क्रोएसियाली खेलाडी जस्ले बालोन डी’ओर जितेका छन्। सन् २०१८ मा फर्ममा रहेको मोड्रिचले आफ्नो देशलाई कप्तानको रूपमा रहँदै विश्वकपको फाइनलसम्म पुर्‍याएका थिए। विश्वकपमा उत्कृष्ट खेलाडी चुनिदै उनले गोल्डेन बलसमेत पाएका थिए। आफनो क्लब रियल मड्रिडलाई लगातार तेश्रो च्याम्पियनस लिगको उपाधी दिलाउनसमेत उनको महत्वपूर्ण योगदान थियो। हालसालै मात्र उनी युइएफए पुरुष वर्ष खेलाडीसमेत घोषित भएका थिए।

यसअघि क्रोएसिया तथा रियल मड्रिडका डेभन सुकर सन् १९९८ मा  बालोन डी’ओरको उपाधी नजिकै पुगेका थिए। उनीभन्दा अघि रहँदै तत्कालीन विश्व विजेता फ्रान्सका जिनेदिन जिदानले उपाधि जितेका थिए।

सन २०१२ यताकै नेयमारको खराब प्रर्दशन :

बालोन डी’ओरमा सन् २०१२ यताकै ब्राजिलियन स्टार नेयमारको खराब प्रदर्शन भएको छ। गत संस्करणमा पेरिस सेन्टर जर्मेनका नेयमार क्रिस्टियानो रोनाल्डो र मेस्सीपछि तेश्रो स्थानमा थिए। सन् २०१७ सेप्टेम्बरमा बार्सिलोना छाडेर पेरिस सेन्ट जर्मेन गएका नेयमारलाई बालोन डी’ओरको दाबेदारको रूपमा हेरिएको थियो। तर यसपटक उनी ९ स्थान तल झदै १९ अंकका साथ १२औँ स्थानमा सीमित भए। उनी सन् २०१२ यता पहिलो पटक शीर्ष १० बाट बाहिरिएका हुन्।

२ खेलाडीले अंक नै पाएनन् :

बालोन डी’ओर २०१८ को अन्तिम ३० जनाको नामावलीमा २ जना चर्चित खेलाडीले अंक पाउन सकेनन्। स्पेनिस स्टार तथा रियल मड्रिडका मिडफिल्डर इस्को र विश्व विजेता फ्रान्स तथा टोटनहम हस्टस्परका गोलरक्षक ह्रयुगो लोरिसले एक अंकसमेत प्राप्त नगरी क्रमशः २९ र ३० औँ स्थानमा रहे।

सन् २००६ यता मेस्सीको खराब प्रर्दशन :

सन २००६ बाट बालोन डी’ओर को मनोनयमा परेको लियोनल मेस्सीले सन २०१८ को सिजनमा ७० खेलमा ६० गोल र २४ गोलका अवसर सृजना गर्दै आफ्नो क्लबलाई महत्वपूर्ण ३ वटा उपाधि जिताएका छन्। उनले युरोपको सर्वाधिक गोलकर्ता बन्दै गोल्डेन बुटसमेत जितेका छन्। तर बालोन डी’ओर को उपाधि होडमा भने ५ औँ स्थानमा रहे। उनीभन्दा अगाडि लुका मोड्रिच, क्रिस्टियानो रोनाल्डो, एन्टोनी ग्रिजम्यान र केलियन एम्बाप्पे रहे। सन् २००७ यता मेस्सी ५ पटक पहिलो, ५ पटक दोश्रो र सन् २००७ मा २५५ अंकका साथ तेश्रो स्थानमा रहेका थिए। खराब इतिहासको रूपमा मेस्सी सन् २००६ मा २० औँ स्थानमा रहँदा रोनाल्डो भने १४ औँ स्थानमा थिए।

रोनाल्डो सबै समयको समाप्तको गणनामा मेस्सीभन्दा शीर्ष :

बालोन डी’ओरको मञ्चको पछिल्लो १२ संस्करणमध्ये रोनाल्डो र मेस्सी ११ पटक शीर्ष ३ स्थानमा परेका थिए। तर समग्रमा मेस्सीको तुलनामा रोनाल्डोले अग्रता कायम गरेका छन्। ११ संस्करणमा मेस्सी पाँच पटक शीर्ष, पाँच पटक दोश्रो र एक पटक तेश्रो स्थानमा रहँदा रोनाल्डो ५ पटक शीर्ष र ६ पटक दोश्रो स्थानमा रहेका थिए।

मोड्रिकसँगै बालोन डी’ओरको अर्वाड बार्सिलोना र रियलको बराबरी :

सन् २०१८ को संस्करणको उपाधि लुका मोड्रिकले जितेसँगै बार्सिलोना र रियल मड्रिडका खेलाडीको बालोन डी’ओरको संख्या ११/११ बराबरी भएको छ। मड्रिडका ७ जना खेलाडीले गरी कुल ११ पटक जित्दा बार्सिलोनाका ६ खेलाडीले ११ पटक जिते। रियलका लागि क्रिस्टियानो रोनाल्डोले ४ र अल्फ्रेड स्टेफानो २ पटक, रेमन्ड कोप्पा, लुइस फिगो,  रोनाल्डो र फावियो कानाभारोले १/१ पटक जितेका थिए। बार्सिलोनाका लियोनल मेस्सीले ५ पटक, जोन क्रुफ २ पटक, स्पेनिस खेलाडी लुइस स्वारेज, रिस्टो स्टोकोफ, रिभाल्डो र रोनाल्डिन्होले १/१ पटक दिलाएका थिए। युभेन्टस र एसी मिलानका ८/८ जना खेलाडीले बालोन डी’ओर को उपाधि पाएका छन्।

(एजेन्सीको सहयोगमा तयार पारिएको रिपोर्ट)

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.