मैदान मास्‍नु पूर्वको क्रिकेट भविष्य सक्नु हो : कप्तान पारस खड्का

|

सुनसरी : इटहरी उपमहानगरपालिकाको सातौँ राष्ट्रिय महिला क्रिकेट सहितका अन्य राष्ट्रिय प्रतियोगिता हुँदै आएको क्रिकेट मैदानमा पार्क बनाउने तयारी गरेपछि विवाद चुलिएको छ। उपमहानगरपालिकाले क्रिकेट मैदान मासेर ‘जनता पार्क इटहरी’ कार्यक्रमको बिहीबार शिलान्यास गर्ने तयारी भइरहेको बेला चौतर्फी विरोध सुरु भएको हो। क्रिकेटको हब मानिएको पूर्वमा एकपछि अर्को क्रिकेट मैदान मासिँदै जाँदा खेलाडी उत्पादनमा ठूलो असर पुग्ने क्रिकेटका पदाधिकारी तथा खेलाडीको गुनासो गरेका छन्।

मैदान मास्‍नु पूर्वको क्रिकेट भविष्य सक्नु हो : कप्तान पारस खड्का 

पूर्वको क्रिकेट विकासमा महत्वपूर्ण योगदान दिँदै आएको इटहरीस्थित नेपाल डिभिएम स्कुल परिसरमा रहेको मैदानलाइ संरक्षण गर्नुपर्नेमा उल्टै मास्‍न खोज्नु दुःखद भएको नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले बताए। थाहा खबरसँग कुरा गर्दै उनले विभिन्न राष्ट्रिय प्रतियोगिता हुँदै आएको मैदान मास्नु भनेको समग्र पूर्वको क्रिकेटको भविष्य सक्नु भएको उल्लेख गर्दै विकल्प खोज्न उपमहानगरपालिकालाई आग्रह गरे।

आफूले गत साता उक्त मैदान अवलोकन गरेको बताउँदै कप्तान खड्काले सो मैदानलाई थोरै समयमा मर्मत गरेर नेपालकै उत्कृष्ट मैदान बनाउन सकिने बताए। उक्त मैदानमा सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला क्रिकेट, दोस्रो प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियागिता र अन्डर १९ राष्ट्रिय प्रिमियर लिग सफता पूर्वक सम्पन्न भएकोमा आफू पूर्ण जानकार रहेको बताउँदै क्रिकेट मैदान मासेर नेपाली क्रिकेटको भविष्यमाथि नै प्रहार नगर्न उनको आग्रह छ। पछिल्लो समय नेपाली क्रिकेटले ठूलो फड्को मारिरहेको अवस्थामा यस्ता कार्यले खेलाडीको मनोबल गिर्दै जाने भन्दै निकाश खोज्न क्रिकेट पदाधिकारी र खेलाडीलाई उनले सुझाव दिए।

पोखरा प्रिमियर लिगका प्रमुख आयोजक छुम्मी लामाले थोरै खर्च गरेर उत्कृष्ट मैदान बनाउन सकिने सम्भावना भएको इटहरी ९ मा रहेको उक्त मैदान मास्न नहुने बताए। मैदानको केही दिनअघि नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान खड्कासँगै आफूले पनि अवलोकन गरेको बताउँदै गत महिना मात्र पोखरा प्रिमियर लिग सफलता पूर्वक सम्पन्न गरेका लामाले मैदान मास्ने उपमहानगरको कदमले गलत म्यासेज जाने बताए। खेलकुद सबैको लागी भएकाले स्थानिय सरकारले खेल मैदान अझ ब्यवस्थित गर्नुपर्नेमा उल्टै अर्को प्रयोजनका लागि मास्न खोज्नुले आफूलाई पनि दुखित बनाएको लामाले बताए।

उक्त मैदानमा थोरै खर्च गर्ने हो भने पोखरा प्रिमियर लिग जस्ता ठूला प्रतियोगिता गर्न सहजै सकिने भन्दै लामाले मैदान नमास्न उपमहानगरपालिकालाई आग्रह गरे। पूर्वमा एकपछि अर्को क्रिकेट मैदान मासिँदै गएकाले पनि पूर्वको क्रिकेटको अवस्था अहिले खस्किएको उनको भनाइ छ।

क्रिकेटका राष्ट्रिय प्रशिक्षक प्रदीपराज पाण्डेले विभिन्न राष्ट्रिय प्रतियोगिता सफलतापूर्वक हुँदै आएको खेल मैदानमा वृक्षारोपण गरी पार्क बनाउनु उपमहानगरपालकाको मूर्खता भएको बताए। पाण्डेले सुनसरीको क्रिकेट नै सक्ने गरी मैदान मास्न लागेकाले विरोध गर्नु स्वभाविक भएको बताउँदै सुनसरी क्रिकेट संघले सुरु गरेको विरोध कार्यक्रमलाई छिमेकी जिल्लाका क्रिकेटका पदाधिकारीले पनि साथ सहयोग रहेको बताए। देशको पहिचानसँग जोडिएको क्रिकेट खेलको विकास र विस्तारमा लाग्नुको साट्टो नेपाली क्रिकेट मास्ने अभियानमा उपमहानगर लागेको दाबी गर्दै मैदान मास्ने कदम कदापी स्वीकार गर्न नसकिने उनले बताए। पाण्डेले नेपाली क्रिकेट मास्ने अभियानविरुद्ध एक जूट हुन सबै क्रिकेट प्रेमीलाई आग्रहसमेत गरे।

इटहरी क्रिकेट एकेडेमीका अध्यक्ष कैलाश विष्टले हिजो खेलाडीले पसिना बगाएर बनाएको मैदान मासेर पार्क बनाउन नहुने बताए। उक्त क्रिकेट मैदानमा अहिले पनि दैनिक रूपमा खेलाडी अभ्यास गर्दै आएको बताउँदै उनले खेलाडीले पसिना बगाएको मैदानका लागि रगत बगाउन पनि तयार रहेको चेतावनी दिए। सार्वजनिक जग्गाको उपयोग गर्दै राष्ट्रियस्तरको प्रतियोगिता सञ्चालन गर्ने गरी आफूहरूको पहलमै क्रिकेट मैदान निर्माण गरिएको विष्टको भनाइ छ।

सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदा सरकारको लागानीमा सो पिच बनेको थियो। त्यसपछि इटहरी क्षेत्रका क्रिकेट क्लब र क्रिकेटसँग सम्बद्ध संघ सस्थाले संरक्षण गर्दै आएको विष्टको भनाइ छ। आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि बिहीबारदेखि नै खेलाडी छनोट गर्नुपर्ने भएकाले उक्त मैदानको विकल्प नभएको उनले बताए। प्रदेश १ कै उत्कृष्ट मैदानको संरक्षण गरी थप स्तरउन्नति गर्नुपर्ने आवाज उठेका बेला उपमहानगरपालिकालको कदम गलत भएको उनको भनाइ छ।

यसो भन्छ उपमहानगर

इटहरी उपमहानगरका प्रमुख द्वारिकालाल चौधरीले भने क्रिकेट मैदानको विकल्प खोज्ने जानकारी दिए। उनले सो मैदान रहेको ऐलानी जग्गामा भूमाफियाले कब्जा गर्ने सम्भावना भएकाले त्यहाँ पार्क बनाउन लागिएको जानकारी दिए। इटहरी ९ मा रहेको क्रिकेट मैदानको जग्गा सार्वजनिक जग्गा हो। क्रिकेट मैदान रहेको क्षेत्रमा झण्डै दुई विगाह जग्गा छ। तर त्यो जग्गा इटहरीमा रहेको नेपाल डिभिएम स्कुलले हडपेको उपमहानगरपालिकाको दाबी छ।

भारतीय ट्रष्टको नाममा सञ्चालनमा रहेको सो विद्यालयले सार्वजनिक जग्गा मिचेर वर्षौंदेखि भोग चलन गर्दै आएको थाहा पाएपछि नगरपालिको गएको वर्ष जग्गा खाली गर्न स्कुललाई भनेको थियो। तर पटकपटक भन्दा पनि अटेर गरेपछि अहिले पार्क बनाउन लागेको बताइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.