|

हेटौँडा : ट्राफिकको आँखा छलेर जाथाभावी तीव्र गतिमा सवारी चलाउने गर्नुभएको छ भने होसियार हुनुहोस्। ट्राफिक प्रहरीले अब राडार गनको सहायताले तपाईंको सवारीको गति मापन गरी तीव्र गतिमा हाँक्नेलाई कारबाही गर्नेछ। केहीवर्षअघिदेखि ट्राफिक प्रहरीले प्रयोग गर्ने सुरु गरेको सवारीको गति मापन गर्ने ‘राडार गन’ हेटौँडामा पनि आइपुगेको छ। काठमाडौंमा नियमित रुपमा राडार गनमार्फत गति मापन गरी तीव्र गति नियन्त्रणमा राडार गनको सहायता लिइएको भए पनि जिल्लामा भने दोस्रोपटक राडार गन ल्याइएको ट्राफिक प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। 
०७० सालमा मकवानपुरमा राडार गनको प्रयोग भएको थियो। उक्त गन सीमित संख्यामा भएकाले केहीदिनको प्रयोगपछि अन्य जिल्ला पठाइएको थियो। यसपटक पनि ३ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय चितवनले केही समयको लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरलाई राडार गन उपलब्ध गराएको हो। 

राडार गन आएसँगै ट्राफिकले तीव्र गति नियन्त्रणका लागि चेकजाँचमा तीव्रता ल्याएको छ। जसअन्तर्गत मंगलबार हेटौँडा–१५ रातोमाटेस्थित पूर्व–पश्चिम लोकमार्ग भएर संचालित विभिन्न सवारी साधनहरूलाई चेकजाँच गरिएको थियो। ५० वटा सवारीसाधनहरूलाई चेकजाँच गरिएकोमा २ वटा सवारीसाधनले तीव्र गतिमा चलाएको पाइएको जनाइएको छ। सो सवारीलाई कारबाहीसमेत गरिएको छ। 
 गति निर्धारणका लागि बजार एरियामा २५ किमि प्रतिघण्टा तथा नगरको हाइवे क्षेत्रमा ४० किमि प्रतिघण्टाको गति निर्धारण गरेको  ट्राफिक प्रमुख वीरेन्द्रकुमार ठाकुरले जानकारी दिए। पछिल्लो समय मकवानपुरमा तीव्र गतिकै कारण सवारी दुर्घटना बढेको  देखिएको छ। तथ्या‌कलाई केलाउँदा अधिकांश दुर्घटना सवारीको तीव्र गतिको कारण भएको पाइएको ट्राफिक प्रहरी जवान काशीराम थापामगरले जानकारी दिए। 

दुर्घटना न्यूनीकरणका साथै ट्राफिक नियमको पालना गराउने गर्ने उद्देश्यका साथ बुधबार हेटौंडा–११ नवलपुर स्थित जेम्स बोर्डिङ स्कूलका  ९ र १० कक्षामा अध्ययनरत ४२ जना  छात्रछात्राहरूलाई जनचेतनामुलक कक्षासमेत सञ्चालन गरिएको छ।  यात्रा गर्दा अपनाउनु पर्ने सुरक्षा, पैदल हिँड्दा वा सवारीमा बस्दा अपनाउनु पर्ने सुरक्षाका उपाय, ट्राफिक संकेत, इसारा तथा दुर्घटनाबाट बच्ने तथा अन्य सुरक्षाका बारेमा ट्राफिक प्रहरी प्रमुख यादव र प्रहरी जवान थापामगरले विशेष प्रशिक्षण दिएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.