|

  • नीर शाह

ष्ट्रिय चलचित्र उद्योग र मेरो व्यक्तिगततर्फबाट नेपालका मूर्धन्य संगीतकर्मी नारायणगोपालको स्मृति दिवसका अवसरमा उहाँप्रति भावपूर्ण श्रद्धान्जलि अर्पण गर्न चाहन्छु। यही अवसरको सेरोफेरो पारेर आदरणीय कर्म योञ्जनसँगै सम्मानित हुने अवसर मिल्यो। उहाँलगायतको छत्रछायामा बसेर कलाकारिता क्षेत्रमा कलाकारको रूपमा रूपान्तरित भएको मानिस हुँ म। धेरै वर्ष अगाडिदेखि म उहाँहरूको गतिविधि नियालिरहेको छु। अब केही नक्षत्रको अन्त्यपछि नेपाली सांगीतिक क्षेत्रको एक अध्याय पूर्ण रूपमा समाप्त हुनेछ। तसर्थ आज योञ्जनलाई पनि यस प्रांगणमा पाउँदा आफूलाई गौरवान्वित महसुस गरेको छु।

नारायणगोपाल संगीत कोषको यस घरमा विशेष गरेर म आउन रुचाउँदिनँ। यसका आफ्नै कारण छन्। एक बिहान नारायणगोपालजीले आफ्नो मोटरसाइकलमा बसालेर मलाई यसै ठाउँमा ल्याउनुभयो र भन्नुभयो, 'मैले यहाँनेर सानो एक टुक्रा जमिन किन्ने विचार गरेको छु। यो विचार कस्तो छ विश्लेषण गर्नुपर्‍यो र तिमीले पनि गर।' त्यसरी आजको दिन एउटा अध्यायको साक्षी बसेर उभिने घर रहेछ यो। त्यसको प्रारम्भिक विन्दुमा त्यसरी संलग्न हुन गएको कारणले गर्दा एकदमै नोस्टाल्जिक हुन पुग्छु म। यो प्रांगणमा छिर्नेबित्तिकै मलाई एक मिनेट पनि चैन हुँदैन। तसर्थ अक्सर म यस ठाउँमा आउन रुचाउँदिनँ किनभने यस घरको हरेक कुनाकुनाले केही न केही कुरा अभिव्यक्त गरिरहेको हुन्छ। नारायणगोपालजीले यी घरका झ्यालबाट चिहाएजस्तो लाग्छ।

म नारायणगोपालको बारेमा बोलिरहँदा पेमलाजीको नाम छटाएँ भने एउटा कथाले पूर्णता पाउँदैन। नारायणगोपालजीको कथामा एक जनाकै सम्झना एउटा जुनिभरीको बोझ बोक्न काफी छ मेरा लागि। त्यसमाथि दुई जनाको सम्झना आउँदा यो जीवन कति गह्रौँ बन्न पुग्ला! म कलाकार भएको नाताले हलुङ्गो जिन्दगी बाँच्न रुचाउने मान्छे हुँ। यस कारण गह्रौँ जिन्दगी भुल्नका लागि पनि म यो प्रांगणभित्र आउन रुचाउँदिनँ।

नारायणगोपालजीसँग जोडिएका प्रत्येक विषय र प्रसंगले मेरो जीवनमा ठूलो अर्थ राख्छ। यसमाथि आज सम्मान ग्रहण गर्नका लागि बोलाइएपछि मैले अस्वीकार गर्ने विषय नै भएन। अस्वीकार गर्ने कुरा म सोच्नै सक्दिनँ। मेरो घरको भित्तामा नारायणगोपाल नारायणगोपाल भनेर लेखेर राख्ने मेरो रहर हो।नारायणगोपाल नाम गरेको अक्षरले मेरो घरमा प्रवेश पाउने एउटा अलौकिक अवसरलाई म गुमाउन चाहन्नथेँ। तसर्थ ससम्मान यो आजको सम्मानपत्र ग्रहण गर्ने ठहर गरेको हुँ। यस कारण म यो प्रांगणमा आइपुगेँ। यहाँ आइसकेपछि म धेरै बेर यहाँ बस्न सकिनँ। बाहिर घुमेर आएँ। एउटा साह्रै संघर्षशील संगीतको कारणले, गीतको कारणले संघर्षशील, एउटा बेग्लै समूह गठन गर्ने मनसायले उत्प्रेरित, चलनचल्तीका सांगीतिक परिपाटीलाई भत्काएर साँच्चिकै राष्ट्रलाई संगीत दिने उद्देश्यले अभिप्रेरित एउटा बागीना नाम गरेको सांगीतिक पत्रिकाको कारणले होस् अथवा यदाकदा आयोजना हुने गरेका सांगीतिक माहोलका माध्यमबाट होस्।

खेलकुद उद्योगमा अनुशासनको अभाव छ। सांगीतिक उद्योगमा अध्ययनशीलताको अभाव छ। यही क्रममा नारायणगोपालजीलाई स्मरण गर्नु समय सान्दर्भिक र समय सापेक्ष हुन्छ भन्ने मैले अनुभूत गरेको छु।

एउटा छुट्टै अध्यायको प्रारम्भ गर्ने क्रममा सहयात्रीको रूपमा एउटा कालखण्डबाट गुज्रिएको उहाँसँगको मेरो सहयात्रा भोलि बिहानसम्म पनि बोलेर नसकिने खालको कयौँ दिन लाग्ने स्मरणहरूले भरिपूर्ण छ, मसँग। स्मरणका लागि क्षितिजबाट देखिने एउटा संसार छ- उहाँसँगको सम्बन्धलाई लिएर मसँग। तसर्थ यी सबका बारेमा व्याख्या गर्नु सम्भव रहेन। मात्र एउटा कुरा आजको पुस्ताले मनन् गर्नु अतिआवश्यक म के देख्छु भने नेपालमा साह्रै नजानिँदो ढंगबाट तर व्यापक रूपले अगाडि बढेका स्थापित दुईवटा उद्योग छन्, एउटा खेलकुद, अर्को सांगीतिक उद्योग।

नेपालको खेलकुद उद्योग र सांगीतिक उद्योगले प्राइभेट क्षेत्रको तर्फबाट जुन किसिमले अन्तर्राष्ट्रियकरण गर्ने सौभाग्य प्राप्त गरेको छ, जुन किसिमबाट नेपाली माटोभित्र नेपाल र नेपालबाहिर पनि नेपाली भन्न सकिने केही मौलिक विषय छन् भनेर चिनाउन सफल भएको छ, यो काम नेपालमा खुलेका चाउचाउ र डण्डीका उद्योगले गर्न सकेका छैनन्। वास्तवमा भन्नुपर्दा यी दुई उद्योगहरू असाध्यै प्रभावकारी ढंगबाट गत दुई दशकमा नेपालमा विकास भएका छन्। तर दुईवटै उद्योगमा दुईवटा गहन कुराको ठूलो अभाव छ। खेलकुद उद्योगमा अनुशासनको अभाव छ। सांगीतिक उद्योगमा अध्ययनशीलताको अभाव छ। यही क्रममा नारायणगोपालजीलाई स्मरण गर्नु समय सान्दर्भिक र समय सापेक्ष हुन्छ भन्ने मैले अनुभूत गरेको छु।

नारायणगोपालजी एक जना गायक मात्र हुनुहुन्थ्यो। उहाँ मूर्धन्य संगीतकार हुनुहुन्थ्यो, जसरी गोपाल योञ्जनजीको गीतकारिता उहाँको संगीतकारिताका कारणले गर्दा ओझेलमा पर्‍यो, त्यसरी नै नारायणगोपालजीको संगीतकारिता पनि गायकीले ओझेलमा पर्‍यो। अन्यथा नेपालका थोरै तर असाध्यै प्रभावकारी र कुशल संगीतकारहरूमध्येको एक संगीतकार नारायणगोपाल पनि हो। उहाँ एक सिद्धहस्त, अद्भूत संगीतकार मात्र होइन, उहाँ संगीतको ठूलो अध्येता पनि हुनुहुन्थ्यो। उहाँ हरेक किसिमका सिर्जनाहरू पढ्नुहुन्थ्यो। उहाँ नोटेशनहरू पढ्नुहुन्थ्यो। भावी पिँढीलाई पढाउन चाहनुहुन्थ्यो। बुझाउन चाहनुहुन्थ्यो। संगीत सिर्जना गर्नुभन्दा तीन गुणा समय उहाँले संगीतको अध्ययनमा बिताउनुभएको छ।

तसर्थ नेपालको उहाँ एउटा अद्वितीय, संगीतको अध्येता पनि हुनुहुन्थ्यो। आजको सांगीतिक उद्योगमा उदीयमान प्रतिभाशाली सबै संगीतकर्मीहरूलाई आफूभित्र अध्ययनशीलतालाई प्रवेश गराउने शक्ति माता नाट्यश्वरीले प्रदान गरून् भन्ने शुभकामना दिन चाहन्छु। अध्ययनशीलताप्रतिको गाम्भीर्य जुन दिन नयाँ पिँढीका संगीतकारहरूको मन मस्तिष्कमा छिर्छ, त्यही दिन नारायणगोपालप्रतिको सही अर्थमा श्रद्धान्जलि पनि त्यही सावित  हुनेछ। 

त्यो सामर्थ्य प्राप्त गर्न आजको सांगीतिक माहोल सक्षम होस्। एउटा कुरा मनन् होस्- राष्ट्रका लागि योगदान गर्न र राष्ट्रको इतिहासमा अमरत्व प्राप्त गर्नका लागि ठूला र महँगा मोटर चढ्नुपर्दैन। ठूला र महँगा घरमा बस्नुपर्दैन। स्मरण रहोस्- नारायणगोपालजीले आफ्नो जीवनकालमा कहिल्यै पनि मोटर चढ्नुभएन तापनि उहाँको योगदान यो राष्ट्रमा अमर छ। त्यस्ता हजारौँ अमरहरू यो राष्ट्रले प्राप्त गर्न सकोस्, गाढा कामना व्यक्त गर्छु।

(नारायणगोपाल संगीत कोषले आयोजना गरेको नारायणगोपालको २८अौँ स्मृति दिवसको अवसरमा सम्मानित भएपश्चात कलाकार नीर शाहले व्यक्त गरेको मन्तव्यको अंश)

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.