|

हेटौँडा :प्रदेश ३ सरकारले चालु आर्थिक वर्षमा करिब ३० करोड रुपैयाँ बराबरको विद्युतीय बस खरिद गर्ने भएको छ।

प्रदेश सरकारले विद्युतीय बस सञ्चालनको प्रक्रिया तत्काल सुरु गर्ने विषयमा बुधबार हेटौँडामा सर्वपक्षीय बैठक सम्पन्न भएको छ। प्रदेश सरकारले साझा यातायात सहकारी संस्था लिमिटेड र काठमाडौं महानगरपालिकासँगको सहकार्यमा विद्युतीय बससेवा यसै आर्थिक वर्षबाट सञ्चालनमा ल्याउने तयारी अगाडि बढाएको छ।

सर्वपक्षीय छलफलमा प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल, आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेल, प्रदेश ३ का नीति तथा योजना आयोगका उपाध्यक्ष डा. खिमलाल देवकोटा, काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, साझा यातायातका अध्यक्ष कनकमणि दिक्षितसहित हेटौँडामा भएको बैठकबाट बस सञ्चालनका लागि आवश्यक प्रक्रिया अगाडि बढाउने निर्णय भएको हो।

प्रदेश सरकारले यस आर्थिक वर्षमा ३० करोड रुपैयाँ र काठमाडौं महानगरपालिकाले दश करोड रुपैयाँ बराबरको विद्युतीय बस खरिद गरेर सञ्चालन गर्नेसमेत सहमति भएको छ। प्रदेश सरकारले २०८५ सालसम्ममा काठमाडौं उपत्यकासहित चितवन, हेटौँडा, बनेपा, धुलिखेल, पनौतीमा पेट्रोलियम पदार्थबाट सञ्चालन हुने सवारी साधन विस्थापित गर्ने नीतिअनुरूप विद्युतीय बस सञ्चालनको तयारी गरिएको मुख्यमन्त्री डोरमणि पौडेलले जानकारी दिए।

नमूनाको रूपमा यस वर्ष ३० करोड रुपैयाँ बराबरको विद्युतीय बस खरिद गर्न लागेको उनले बताए। आर्थिक मामिला तथा योजनामन्त्री ढुंगेलले प्रदेश सञ्जाल जोडिने गरी विद्युतीय बस सञ्चालन हुने बताए। सरकारी लगानीको संस्था भएकोले पनि साझा यातायातसँग सहकार्य हुने उनको भनाइ थियो। काठमाडौं महानगरपालिकाका प्रमुख शाक्यले बस खरिदका लागि १० करोड रुपैयाँ छुट्याएको भन्दै साझा यातायातसँगको सहकार्यमा बस खरिद गरेर चलाउन लागिएको बताए।

साझा यातायातका अध्यक्ष दिक्षितले काठमाडौंका लाखौँ यात्रुले यातायातमा समस्या खेपिरहेकोले साझा यातायातले धेरै राहत दिएको बताए। अझै पनि यो समस्या कायम रहेको भन्दै साझामार्फत् चल्ने बसको संख्या र सुविधा बढाउनुपर्ने बताए। छलफलमा प्रदेशका प्रमुख सचिव आनन्दराज ढकाल, प्रदेश सांसद दीपक निरौला, प्रदेश योजना आयोगका उपाध्यक्ष डा. देवकोटा, सदस्य श्याम बस्नेत, साझा यातायातमा प्रतिनिधित्व गर्ने काठमाडौं महानगरपालिकाका कानुन महाशाखाका प्रमुख वसन्त आचार्यको पनि उपस्थिति थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.