|

कपिलवस्तु : जिल्लाका विभिन्न स्थानमा भएका तीन छुट्टाछुट्टै दुर्घटनामा एक बालिकाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन्। बाणगंगा नगरपालिका– २ नन्दनगरमा लु ३ त ३९६३ नम्बरको ट्याक्टरले ठक्कर दिँदा पाँच वर्षीया बालिका साम्राज्ञी थापाको मृत्यु भएको प्रहरीले जनाएको छ।

गएराति ट्याक्टरको ठक्करबाट घाइते भएकी बालिकालाई उपचारका लागि लुम्बिनी अञ्चल अस्पताल बुटवल लगिएको थियो। उपचारको क्रममा उनको मृत्यु भएको प्रहरी नायब उपरीक्षक रवि रावलले बताए। लु ३३ प ४४५५ नम्बरको मोटरसाइकललाई ट्याक्टरले ठक्कर दिएको थियो।

मोटरसाइकल चालक सोही ठाउँकी ३० वर्षीया सीमा थापा गम्भीर घाइते भएकी छिन्। उनी मृतक बालिकाकी अामा हुन्। ठक्कर दिने ट्याक्टर, ट्याक्टर चालक र मोटरसाइकललाई इलाका प्रहरी कार्यालय पिपराले नियन्त्रणमा लिएको छ।

यता कृष्णनगरबाट चन्द्रौटातर्फ आउँदै गरेको लु १९ प ७३ नम्बरको मोटरसाइकलले साइकलयात्री विजयनगर गाउँपालिका ३ का ६६ वर्षीय सौरभ चौधरीलाई ठक्कर दिएको छ। ठक्कर दिने मोटरसाइकल चालक फरार रहेको प्रहरीले जनाएको छ।

यस्तै शिवराज नगरपालिका ५ चन्द्रौटामा लु ४० प ८०१२ नम्बरको मोटरसाइकलले स्थानीय ५ वर्षीय प्रदीप पुनलाई ठक्कर दिएको छ। उनीहरू दुवैजनाको बुटवलमा उपचार भइरहेको प्रहरीले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.