|

कालीकोट : कर्णाली करिडोरमा सवारीका साधन चल्न थालेपछि आर्थिक चहलपहलमा वृद्धि भएको छ। करिडोर क्षेत्रका आसपासमा बजार हुनसक्ने ठाउँमा जग्गाको कारोबारदेखि व्यापारको संभाव्यताले गर्दा आर्थिक चहलपहल बढेको हो।

कर्णाली करिडोरको लालीघाटदेखि थिर्पुको घाटपारी चौरसम्मको ४० किलोमिटर सडकखण्डमा सवारी साधन चल्न थालेका छन्।

कर्णाली करिडोरको ४० किलोमिटर सडकमा यातायातका साधन चल्न थालेपछि कालीकोटका सान्नी त्रिवेणी गाउँपालिका, पचाल झरना गाउँपालिका, पलाँता गाउँपालिका र रास्कोट नगरपालिकाका ६० हजार बढी जनसंख्या लाभान्वित भएका छन् भने बाजुराका करिब ४० हजारले यस करिडोरको उपभोग गर्ने गरेका छन्।

नेपाली सेनाले सडक निर्माण कार्यलाई तीव्रता दिएपछि खुलालु, लालीघाट, रेगिल, शान्तिघाट, भुराबगर, भात्तडी, घाटपारीचौर, जितेगडा, जारकोट, आम्तडालगायतका क्षेत्रहरू अहिले बजारमा रूपमा विकसित भएका छन्।

यी बजारहरू अहिले व्यापारिक केन्द्रका रूपमा स्थापित हुन थालेका छन्।

सडक नहुँदा विगतमा जितेगडा बजारसम्म पिठ्युँमा भारी बोकेर आउने यहाँका बासिन्दाहरू अहिले घरमा केही न केही व्यापार व्यवसायमा संलग्न हुने गरेको कालीकोट उद्योग वाणिज्य संघका पूर्ववरिष्ठ उपाध्यक्ष मथुरा न्यौपानेले बताए। ‘करिडोर क्षेत्रका धेरै ठाउँ अहिले बजारका रूपमा विकसित भएका छन्’, उनले भने, ‘विगतमा पिठ्युँमा भारी बोकेर नुनतेल गर्ने करिडोर क्षेत्रका बासिन्दाहरू अहिले गाडीमा सरर घरमा नै पुग्ने गरेका छन्।’

२० सवारी साधनले सेवा दिन्छन्

कर्णाली करिडोरको ४० किलोमिटर र रास्कोट नगरपालिकामा अहिले रारा कर्णाली यातायात प्रा.लि.का १७ वटा जीप र बुलबुले यातायात प्रा.लि.का तीनवटा जीपहरूले यात्रुहरूलाई सेवा दिने गरेका छन्।

त्यस्तै, निजी मोटरसाइकल र अन्य यातायातका सेवाले स्थानीयको दैनिक पैदल हिँड्नुपर्ने दैनिकीलाई समेत परिवर्तन गरेको छ।

करिडोरको निर्माण र यातायातका साधन चल्न थालेपछि स्थानीयहरूले यातायातका साधन जीप र ट्रक किनेर व्यावसायिक रूपमा राम्रो आम्दानी लिन थालेको रारा कर्णाली यातायात प्रा.लि.का अध्यक्ष हस्तबहादुर बलमे बताए। ‘करिडोरमा यातायातका साधन चल्न थालेपछि स्थानीयहरूले पनि सवारी साधन किनेर व्यावसायिक रूपमा राम्रो आम्दानी लिएका छन्’, उनले भने, ‘करिडोरको निर्माणले मानिसलाई व्यावसायिक बन्न पनि सिकाएको छ। आम्दानी लिन पनि सिकाएको छ।’

करिडोर क्षेत्रमा तरकारी खेती गर्ने बढे

कर्णाली करिडोरमा सवारी साधन चल्न थालेपछि आसपासका मानिसहरू अहिले तरकारी खेती गर्नेहरूको संख्यामा वृद्धि हुँदै गएको छ। विगतमा रोजगारको केही उपाय नहुँदा भारतमा रोजगारी गर्न जानेहरू अहिले तरकारी खेतीतर्फ आकर्षित भएका छन्।

गाउँगाउँमा नै बजार बनेका कारणले बारीमा लगाएको तरकारी कता लगेर बेच्ने भन्ने समस्या नभएकाले तरकारी खेती गर्न थालेको रास्कोट नगरपालिका- ६ भात्तडीका किसान नरप्रसाद बरालले बताए। ‘विगतमा बारीमा तरकारी लगायो भने कसरी कता बेच्ने भन्ने चिन्ता हुन्थ्यो’, उनले भने, ‘बारी छेउमा नै बजार बनेको छ। कता बेचौँ भन्ने समस्या छैन।’

आम्दानीको स्रोतमा वृद्धि

विगतमा परिवार पाल्न खेती किसानी मात्र गर्ने करिडोर क्षेत्रका स्थानीयबासीहरूले विभिन्न पेसा व्यवसायमार्फत् आम्दानी लिन थालेका छन्।

विगतमा कुनै पनि उपाय नभएका मानिसहरूले अहिले बजार क्षेत्रमा होटेल व्यवसाय र अन्य व्यापार गर्न थालेकाले मानिसहरूको आम्दानीमा वृद्धि भएको रास्कोट नगरपालिका प्रमुख काशीचन्द्र बरालले बताए। ‘अहिले करिडोर क्षेत्रमा होटललगायतका अन्य व्यापार व्यवसायमा वृद्धि भएको छ’, उनले भने, ‘मानिसहरूले अहिले राम्रो आम्दानी लिन थालेका छन्।’

घर जग्गाको मूल्य अकासियो

कर्णाली करिडोर क्षेत्रमा विगतमा सस्तो मूल्यमा बिक्री नहुने जग्गा अहिले भने निकै महँगोमा बिक्री हुने गरेको छ। करिडोर क्षेत्रमा चहलपहल बढेपछि व्यापार व्यवसाय गर्नका लागि पक्की घर बनाउन थालेपछि जग्गाको मूल्य बढेको हो।

कर्णाली करिडोर क्षेत्रमा विगतमा कुनै मूल्य नभएका घर जग्गाको मूल्य अहिले निकै अकासिएको छ। केही वर्षमा त किन्न नसकिने अवस्थामा पुग्ने पचाल झरना जारकोट बजारका धर्मराज सेजुवालले बताए। ‘विगतमा यस क्षेत्रमा कसैले जग्गा किन्दैनथे’, उनले भने, ‘अहिले यहाँ जग्गा किन्न मारामार हुने गरेको छ।’

सडक छेउछाउमा भावी दिनमा व्यापारको राम्रो संभावना देखेर व्यापारीलगायतका अन्य व्यवसायीले जग्गा किन्ने र घरसमेत बनाउन सुरु गरेको रास्कोट नगरपालिकाका स्थानीय तथा नागरिक समाजका अगुवा अम्मलराज शाहीले बताए। ‘विकटका गाउँबस्ती अहिले शहरका रूपमा बढेका छन्’, उनले भने, ‘विगतको भन्दा अहिले आर्थिक चहलपहल पनि निकै बढेको छ।’

त्रिदेशीय नाका

कर्णाली करिडोर अहिले त्रिदेशीय नाका पनि हो। चीन र भारतको त्रिदेशीय व्यापारिक केन्द्रका रूपमा लिइएको कर्णाली करिडोर कर्णालीका मानिसका लागि लाइफलाइन नै भएकाले निर्माण कार्य सुरु भएपछि करिडोर क्षेत्रमा बसोबास र आर्थिक चहलपहल बढेको कालीकोट थिर्पुका स्थानीय खेमराज रोकायाले बताए। ‘करिडोर त्रिदेशीय व्यापारिक केन्द्र बन्नेमा धेरैको आशा रहेको छ। कर्णालीका मानिसका लागि यो लाइफलाइन हो’, उनले भने, ‘त्यसले गर्दा अहिलेभन्दा आर्थिक चहलपहल आउँदा दिनमा बढी हुनेछ।’

विगतमा कर्णालीमा कुनै संभावना नदेखेर तराईलगायतका क्षेत्रमा बसाइँसराइ गर्नेले करिडोर क्षेत्रमा भावी संभावना देखेर जग्गा खरिद गर्ने गरेको कांग्रेस कालीकोटका महासमिति सदस्य मोतीराज बमले बताए। ‘विगतमा कर्णालीमा संभावना नदेखेर अन्य क्षेत्रमा बसाइँसराइ गरेकाहरूले अहिले यहाँ आएर जग्गा खरिद गर्ने गरेका छन्’, उनले भने, ‘यसले गर्दा अब मानिसले कर्णालीको संभावना देख्न थाले।’

सेनाले जिम्मा पाएपछि काममा तीब्रता

करिव ११ वर्ष अगाडिदेखि सडक विभागले काम थालेको कर्णाली करिडोरमा ठेकेदारमार्फत करिब २३ करोड रुपैयाँ बजेट खर्च गरे पनि अपेक्षित रूपमा काम भएको थिएन। कामले तीब्रता नपाउँदा स्थानीयबासीले आन्दोलन गरी २०७१ चैत ५ गते नेपाल सरकारको मन्त्रीस्तरीय निर्णयबाट नेपाली सेनाले २०७२ चैत ९ गतेबाट निर्माण कार्यको सुरुवात गरेको सान्नी त्रिवेणी गाउँपालिका अध्यक्ष डम्बरबहादुर शाहीले बताए। ‘कर्णाली करिडोरमा ठेकेदारमार्फत करोडौँ खर्च भयो’, उनले भने, ‘अहिले नेपाली सेनाले जिम्मा लिएपछि निर्माण कार्यले तीब्रता पाएको छ।’

लालीघाटदेखि बाजुराको अर्थिङ्गे चौरसम्मको ६८.५ किलोमिटर सडकको आंशिक ट्र्याक खुला हुने भएको छ। आउने आर्थिक वर्षको दोस्रो चौमासिकसम्म कर्णाली करिडोरको कालीकोट खण्ड ४० किलोमिटर ट्र्याक ओपन गरी सडक विभागलाई हस्तान्तरण गर्ने तयारी भएको नेपाली सेनाका कर्णाली करिडोर निर्माण कार्यदलका प्रमुख मिलन कार्कीले बताए। ‘कर्णाली करिडोर कालीकोट खण्ड ४० किमि, बाजुरा खण्ड ४३ किमि र हुम्ला खण्ड ११३.३४७ किमि गरी १९६.३४७ किमि रहेको छ’, उनले भने, ‘योमध्ये कालीकोट सडक खण्डको निर्माण कार्य यसै वर्ष पूरा गर्ने लक्ष्य लिएका छौँ।’

वि.सं. २०५७ मा कालीकोट करिडोरको शिलान्यास गरिएको थियो। शिलान्यास भएको १५ वर्षपछि सेनाले उक्त सडक निर्माणको जिम्मा पाएको हो।

कर्णालीमा पुल नबन्दा समस्या

कर्णाली करिडोरअन्तर्गतको खुलालुमा रहेको पुल समयमै नबन्दा समस्या भएको छ। कर्णाली नदीको खुलालुमा पुल नबन्दा खुलालुदेखि लालीघाटसम्मको एक किलोमिटर ट्र्याक खुल्न सकेको छैन।

पुल नबनेका कारणले अहिले जितेगडामा रहेको फेरीबाट सवारी साधनहरू कर्णाली नदी वारपार गर्ने गरेका छन्।

कर्णाली नदीमा पुल बन्न नसक्दा अहिले खुलालुदेखि लालीघाटसम्मको एक किलोमिटर चट्टानी भागलाई खोल्न समस्या भएको करिडोर निर्माण कार्यदलका प्रमुख मिलन कार्कीले बताए। ‘खुलालुमा पक्की पुल नबन्दा समस्या भएको छ। हामीले एक किलोमिटर कडा चट्टानी भाग खोल्ने हो भने त्यसको असरले झोलुङ्गे पुल र फेरि भत्किने संभावना छ’, उनले भने, ‘खुलालुमा रहेको पक्की पुल बन्यो भने एक महिनाभित्रै खुलालुदेखि लालीघाटसम्मको ट्र्याक खुल्छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.