|

काठमाडौं : फिल्म 'प्रसाद'को प्रिमियर सो सम्पन्न भएको छ। बुधबार साँझ राजधानीको 'बिग मुभिज्'मा धेरै कलाकर्मी तथा संचारकर्मीहरूको उपस्थितिमा फिल्मको प्रिमियर सम्पन्न गरिएको हो। प्रिमियरमा उपस्थित धेरैले फिल्मको मुक्तकण्ठले प्रशंसा गरेका थिए। धेरैले फिल्मको कथावस्तु र कलाकारको अभिनयको प्रशंसा गरे।

फिल्म हेर्न हलसम्म पुगेका नायक भुवन केसीले फिल्म एकदमै राम्रो भएको तर्क दिए। उनले भने, 'फिल्म एकदमै राम्रो बनेको छ। कथावस्तु र कलाकारको अभिनय प्रशंसनीय छ। यसले हरेक दर्शकको मन जित्नेछ।' भुवनले निर्देशक दिनेश राउतको निर्देशकीय क्षमताको पनि प्रशंसा गर्न भ्याए।

त्यस्तै, कलाकार तथा निर्माता दीपकराज गिरीले पनि फिल्मको प्रशंसा नै गरे। उनले फिल्मको विषयवस्तु बलियो भएको बताए। 'फिल्मको विषयवस्तु राम्रो छ। यसले हसाउँछ पनि रुवाउँछ पनि', उनले भने, 'यस्तो गम्भीर विषयमा पनि फिल्म बन्नुपर्छ जस्तो लाग्छ।'

केदार घिमिरे 'माग्ने बुढा' प्रसाद नेपाली माटोसँग सम्बन्धित फिल्म भएको बताउँछन्। उनले भने, 'यस फिल्मको विषयवस्तु तथा प्रस्तुति त बलियो छँदै छ। यसले नेपालीपनको आभाष गराउँछ। त्यो नै यसको मुख्य आकर्षण हो।'

नृत्य निर्देशक तथा निर्देशक रेनशा वान्तवा राई कलाकारको अभिनय तथा विषय एकदमै मन परेको बताइन्। उनले भनिन्, 'सामाजिक कथावस्तुमा फिल्म निर्माण भएको छ। यसको बलियो पक्ष नै कथावस्तु र प्रस्तुति छ। त्यसमा कलाकारको अभिनयको त कुरै नगरौँ, उहाँहरूले निकै राम्रो अभिनय गर्नुभएको छ।'

त्यस्तै, नायिका सुरक्षा पन्तले पनि फिल्मको निकै प्रशंसा गरिन्। उनले फिल्मको कथावस्तु र कलाकारको अभिनय उत्कृष्ट भएको बताएकी थिइन्। फिल्म हेर्न हलसम्म आएका नेपाल आइडलका प्रतिस्पर्धीहरूले पनि फिल्म राम्रो भएको र फिल्म हेर्दा आफूहरू निकै भावुक भएको बताइरहेका थिए।

नम्रता श्रेष्ठ फिल्मबाट पाएको प्रतिक्रियाले एकदमै उत्साहित भएको बताइन्। उनले भनिन्, 'फिल्मबाट एकदमै राम्रो प्रतिक्रिया पाएँ। सबैले प्रशंसा गर्नुभयो। अरूले फिल्म हेर्दा मज्जा लिएको देखेर चाहिँ निकै खुसी लाग्यो।'

लेखक सुशील पौडेल पनि फिल्मबाट आएको प्रतिक्रियाबाट खुसी छन्। तर, यस विषय जुन समुदायको मान्छेसँग सम्बन्धित भएर बनाइएको छ त्यो समूहलाई मन परे आफू सफल भएको ठहरिने उनले बताए। 'यो प्रिमियरको प्रतिक्रिया प्राइमरी मात्र हो', उनले भने, 'खास प्रतिक्रिया जसको कथा हो त्यही समूहका सर्वसाधारणलाई कस्तो लाग्छ त्यसकै प्रतीक्षामा छु।'निर्देशक दिनेश राउत पनि फिल्मको प्रतिक्रियाबाट निकै खुसी देखिन्थे। हरेकबाट प्रशंसा पाइरहेका उनले भने, 'जे सोचेर फिल्म बनाइयो त्यो पूरा भएको जस्तो लाग्यो। सबैले फिल्म मन पराइदिनुभएको छ त्यो नै हाम्रो सफलता हो।'

प्रिमियरमा फिल्म निर्माण युनिटसँगै रमेश उप्रेती, ऋचा शर्मा, निर्देशक दीपेन्द्र के खनाल, केशव भट्टराई, जितु नेपाल लगायतका कलाकार पनि उपस्थित थिए। प्रिमियरमा फिल्मका मुख्य कलाकार विपिन कार्की भने उपस्थित हुन सकेनन्। उनी केही दन अघि मात्र दुर्घटनामा परेका कारण उनी अहिले 'बेड रेस्ट'मा छन्।

अन्तरजातीय विवाहपछि राजधानी छिरेका विवाहित जोडीको जीवन संघर्ष बोल्ने फिल्मलाई दिनेश राउतले निर्देशन गरेका छन्। फिल्मले सन्तान नहुँदा परिवारमा उब्जिने खटपटलाई पनि प्रस्तुत गरेको छ। सुशील पौडेलले लेखेको यस फिल्मलाई सुभाष थापाले निर्माण गरेका हुन्।

फोटो : विवेक बस्याल

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.