|

दार्चुला : स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत दार्चुलामा चार करोड विनियोजन गरिएको छ। स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम (सञ्चालन कार्यविधि) नियमावली २०७५ को व्यवस्थाअनुसार योजनाहरू छनोट गरिएको जिल्ला समन्वय समिति दार्चुलाले जनाएको छ।

नेपाल सरकारले चालु आर्थिक वर्षको बजेट वक्तव्यमार्फत प्रतिनिधिसभाको प्रत्येक निर्वाचन क्षेत्रमा चार करोड बजेटको व्यवस्था गरेको थियो। विगतमा सांसद विकास कोषको नामले परिचित यो कार्यक्रमअन्तर्गत चालु वर्षका लागि २० वटा योजना छनोट गरिएका छन्। दार्चुलाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य गणेशसिंह ठगुन्ना नेतृत्वको कार्यक्रम निर्देशक समितिले बजेट बाँडफाड गरेको जिल्ला समन्वय समिति दार्चुलाले जनाएको छ। बाँकी योजनाहरु १० लाखभन्दा माथिका छन्। छनोट गरिएका योजनाहरुको कार्यान्वयन सम्बन्धित स्थानीय तहबाट गरिने व्यवस्था छ। 

५०/५० हजारका दुई योजना मात्रै नभई सितीको विद्यालय भवन तथा टकनाको प्रावि भवन निर्माणका लागि पनि पर्याप्त बजेट विनियोजन गरिएकोले यी योजनाहरू यो वर्षको बजेटबाट नमुनाका रुपमा निर्माण सम्पन्न हुने प्रतिनिधि सभा सदस्य गणेशसिंह ठगुन्नाले बताए।

झण्डै दुई करोडको सडक र बाटो

प्रतिनिधिसभाका सदस्यद्वय गणेशसिंह ठगुन्ना र दिलेन्द्रप्रसाद बडुको सहमतिमा छनोट गरिएका योजनाहरूले सडक र बाटोमा प्राथमिकता दिएका छन्। कार्यक्रम अन्तर्गत ८ ठाउँमा सडक तथा बाटो निर्माण गर्न एक करोड ९३ लाख रुपैयाँ छुट्याइएको छ। दत्तु-थाप्ला-भगवती-मालिकार्जुन सडक निर्माणमा ५० लाख रुपैयाँ छुट्याइएको छ। दत्तु-थाप्ला खण्डमा २५ लाख रुपैयाँ र मालिकार्जुन-भगवती खण्डमा २५ लाख रुपैयाँ खर्च गरी सडक निर्माण गरिने जिल्ला समन्वय समिति प्रमुख करवीरबहादुर कार्कीले बताए। 

शैल्यशिखर नगरपालिकामा देथला रानीशिखर आगर सडक, मालिकार्जुन र लेकम गाउँपालिका जोड्ने भर्तोला लाली सडक र महाकाली नगरपालिका ५ मा बाटो निर्माणका लागि ३०/३० लाख रुपैयाँ विनियोजन गरिएको छ।

एक करोड २२ लाख विद्यालय क्षेत्रमा 

कार्यक्रम अन्तर्गत दुहुँ गाउँपालिकाको जनविकास मावि बारबाजको छात्रबासका लागि ५० लाख, नौगाड गाउँपालिकाको गणेशविनायक मावि सिप्टीको फिल्ड निर्माण र अपिहिमाल गाउँपालिकाको निमावि सितीको भवन निर्माणका लागि २०/२० लाख विनियोजन गरिएको छ। त्यसैगरी महाकाली नगरपालिकामा रहेको कैलाशपति निमाविको घेर पर्खाल र शौचालय निर्माणका लागि १५ र लेकम गाउँपालिकाको प्रावि टकना भवन निर्माणका लागि १७ लाख रुपैयाँ विनियोजन गरिएको जिल्ला समन्वय समितिको कार्यालयले जानकारी दिएको छ।

तीस लाखका मन्दिर निर्माण हुने 

कार्यक्रमअन्तर्गत ३० लाख रुपैयाँ मन्दिर निर्माणका लागि विनियोजन गरिएको छ। नौलो मन्दिर हुती र द्वालपाटा मन्दिर, दुर्गामन्दिर ताकु गुल्जर तथा ऐरीटोल मन्दिर निर्माणका लागि १०/१० लाख रुपैयाँ विनियोजन गरिएको छ। त्यसैगरी लास्कुखोला जलविद्युत भौतिक निर्माणका लागि १६, मडगाउँमा सामुदायिक भवन निर्माणका लागि १५ र शैल्यशिखर ८ को सहकारी भवन निर्माण सुधार तथा चुकान खोनपानीका लागि १०/१० लाख रुपैयाँ विनियोजन गरिएको छ।

राख्नै पर्ने योजना छुटेको स्थानीयको गुनासो

स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत विनियोजन गरिएको वजेटले केही योजना नमुनाका रुपमा निर्माण हुने देखिए पनि निर्माण हुनै पर्ने योजनाहरू छुटेको स्थानीयले गुनासो गरेका छन्। २०५४ सालमा श्रम शिविर राखेर उद्घाटन गरिएको खलंगा दल्लेख खार धुलिगडा सडक अहिलेसम्म स्तरोन्नति भएको छैन। ‘२१ वर्षदेखि निर्माणाधीन सडक स्तरोन्नति हुने अपेक्षा राखेका थियौं तर कार्यक्रमले पनि यो सडकका लागि वजेट छुट्याएको देखिँदैन।’

नौगाड गाउँपालिका ३ खारका स्थानीय अर्जुनसिह ठगुन्ना भन्छन्। कार्यक्रमले विद्यालय स्तरका लागि वजेट विनियोजन गरेको भए पनि उच्च शिक्षामा लगानी गर्न नसकिएको पनि स्थानीयको भनाई छ। महाकाली नगरपालिका १ मा दार्चुला बहुमुखी क्याम्पसलाई जग्गादान गरेका स्थानीय करनसिंह धामी कार्यक्रमले उच्च शिक्षामा बजेट विनियोजन नगरेको बताउँछन्। ‘उच्च शिक्षाको विकासका लागि स्थानीयले ५ रोपनी भन्दा बढी जग्गा निशुल्क उपलब्ध गराएका छन्। सरकारी स्तरबाट बजेट विनियोजन भएन’ धामीले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.