|

कञ्चनपुर : निस्वार्थ सेवा भावनाले कार्य गर्दै आएका कञ्चनपुरका महिला स्वास्थ्य स्वयंसेविकाहरू सामाजिक सुरक्षाको माग गर्न थालेका छन्। महिला स्वयंसेविकाले बुढेसकालका लागि सामाजिक सुरक्षाको माग गरेका हुन्।

बिहीबार बिहानैदेखि स्वास्थ्य सुधारका लागि स्थानीय बासिन्दाको घर दैलोमा पुग्ने महिला स्वयंसेविकाले सेवा भावनाले काय गर्दै आए पनि बाच्नका लागि आर्थिक अभाव खेप्न बाध्य छन्। बिहानै एक छाक खाना खाएर सामाजिक कार्यका लागि घर बाट निष्कन्छौं कञ्चनपुरको शुक्लाफाँटाका महिला स्वास्थ्य स्वयंसेविका पुष्पा केसीले भनिन् ‘साँझ पर्दा रितो हात घर फर्कन्छौं। हाम्रो पनि परिवार छ। खान लगाउन चाहिन्छ। त्यसका लागि सरकाले व्यवस्था गरिदिनुपर्छ।’

स्वास्थ्यका क्षेत्रमा समाजले कोल्टे फेरे पनि अझै महिला स्वास्थ्य स्वयंसेविकालाई हेर्ने दृष्टिकोणमा परिवर्तन नभएको उनले बताइन्। महिला स्वयंसेविकाका लागि पैशा छुट्टयाउनु हुँदैन भनेर स्थानीय तहकै जनप्रतिनिधिले भन्ने गरेका छन्। उनले गुनासो पोख्दै भनिन्,‘प्रोत्साहनका लागि समेत रकम नपाउने भए सामाजिक क्षेत्रमा खटन गाह्रो छ।’

परिवार नियोजनका अस्थायी साधन बोकेर स्थानीय बासिन्दाको घर दैलोमा पुग्दा समाजमा नराम्रो दृष्टिकोणले हेरिन्छ स्वयंसेविका राजु रानाले भनिन्, ‘जनसंख्या नियन्त्रण गर्ने र सुखी परिवार बनाउनका लागि गरेको कार्य हेरिँदैन। समाजमा जनचेतना फैलाउने कार्यले स्वास्थ्य प्रतिको जागरुकता बढेको हेरिँदैन। समाज परिवर्तनका लागि गरिएका कार्य ओझेलमा पारिन्छ।’

स्वास्थ्य प्रवर्द्धन गर्ने, जनचेतना फैलाउने, खोप लगाउने, मातृ र नवजात शिशु मृत्युदर घटाउने, कुपोषण हटाउने, सुत्केरी हुन स्वास्थ्य संस्था जान प्रोत्साहित गर्ने, सरुवा रोग नियन्त्रण गर्ने, व्यक्तिगत सरसफाई र वातावरण सरसफाइबारे जनचेतना फैलाउने बचन दिएका छौं स्वयंसेविका लक्ष्मी भट्टले भनिन्,‘बचनवद्धता तोडेका छैनौं। दिनरात खटिएर कार्य गरेका छौं। अझै कार्य क्षेत्रमा खटिन तत्पर छौं। सामाजिक कार्यमा लागेपछि बुढेसकालमा बाच्नका लागि सरकाले समाजिक सुरक्षा योजनामा महिला स्वयंसेविकालाई समेत समेटनु पर्छ।’

‘महिला स्वास्थ्य स्वयंसेविकाको नाम छ, काम छ, दाम छैन’ भट्टले भनिन्। सुदूरपश्चिम प्रदेश सभाका सदस्य लालबहादुर खड्काले महिला स्वयंसेविकाले स्वास्थ्य क्षेत्रमा परिवर्तन ल्याउनका लागि अहं भूमिका खेलेका छन्। 'महिला स्वास्थ्य स्वयंसेविकाकै कारण विरामी पर्दा अस्पताल जान सिक्यौं' उनले भने, ‘उहाँहरूको सम्मानका लागि प्रदेश सरकारले जीवन धान्ने गरी योजना ल्याउन लागेको छ।’ समृद्धि ल्याउनमा लागि स्वास्थ्य र कृषिलाई जोडेर योजना बनाइने उनले बताए। 

स्वयंसेविकाले समाजमा जुन विश्वास आर्जन गर्नु भएको छ उनले भने, ‘त्यसकै आधारमा जीवनस्तरमाथि उठाउने कार्यक्रममा सघाउ पुर्‍याउनुहोस्। सबैसँग बसेर योजना बनाई त्यसकै आधारमा अगाडि बढने प्रयत्न प्रदेश सरकारले गरेको छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.