|

जनकपुरधाम : संस्कृत विद्यालयअन्तर्गत हजारी जनक विद्यापीठ भोग चलनमा गुठी नाममा रहेको जग्गा किर्ते जालसाजी गरेर बेचेको आरोपमा रत्नसागर मन्दिरका महन्थ बैकुण्ठ दास पक्राउ परेका छ। जनकपुरधाम ८ स्थित गुठीको जग्गाको नक्कली जग्गा धनी दर्ता श्रेस्ता बनाई आफ्नो हो भनी बेचेको आरोपमा उनलाई काठमाडाैंबाट पक्राउ गरी सार्वजनिक गरिएको हो। 

जिल्ला प्रहरी कार्यालय धनुषाले बिहीबार दिउँसो पत्रकार सम्मेलन गरी दासले अरुको नाममा हुने गरी जग्गा धनी बनाई नक्कली लालपूर्जा बनाएर आफ्नो जग्गा भन्दै बेचेको आरोपमा जिल्ला अदालतमा मुद्दा परेपछि उनको नाममा वारेन्ट जारी भएको थियो। सोही क्रममा फरार रहेका महन्थ बैकुण्ठ दासलाई काठमाडाैंस्थित बागबजारको होटेल तिरुपतिबाट पक्राउ गरिएको प्रहरी उपरीक्षक गोविन्द थपलियाले जानकारी दिए। 

जनकपुरधाम उपमहानगरपालिका ८ को सिट नं. १३५४–१४ किता नं.६२ को क्षेत्रफल ०–२–११ र सिट नं. १३५४–१५ किता नं. २८ को क्षेत्रफल २–८–१४ भएको जग्गाको स्वामित्व ग्रहण गर्ने तथा सरकारी छाप दस्तखत किर्ते कार्यमा संलग्न रहेको जनकपुरधाम उप-महानगरपालिका २३ का अशोक शर्माको वयानका आधारमा बैकुण्ठ दासलाई पक्राउ गरिएको हो। प्रहरी हिरासतमा रहेका शर्माले प्रहरीलाई दिएको बयानअनुसार रत्नसागर मठका महन्त बैकुण्ठ दासको समेत किर्ते जालसाजी मुद्दामा धनुषा जिल्ला अदालतले वारेन्ट जारी गरपछि प्रहरीले उनको खोजी सुरु गरेको थियो। 

वारेन्ट जारी भएको एक सातापछि उनी लुकिछिपी बस्दै आएको समयमा अपराध अनुसन्धान महाशाखा काठमाण्डौंको समन्वयन तथा धनुषा प्रहरीको सक्रियतामा पक्राउ गरिएको प्रहरी उपरीक्षक थपलियाले जानकारी दिए। बुधवार साँझ पक्राउ परेका दासलाई बिहीबार एयरवसबाट जनकपुरधाम ल्याइएको हो।

२०६७ सालमा शिक्षा कार्यालयका एक कर्मचारीलाई भूमिगत समूह परिचालन गरेर हत्या गर्ने कार्यमा समेत संलग्न रहेको आरोप लागेका महन्थ दासपछि अदालतबाट धरौटीमा रिहा भएका थिए। यसैगरी जिल्ला प्रशासन कार्यालय धनुषामा भारतीय नागरिक बैकुण्ठ दासले नक्कली नागरिकता बनाएको समेत उजुरी परेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.