|

काठमाडौं :

यो ब्रह्माण्ड कहाँ रहन्छ यसको मासेर मूलै जरा

रोक्दै छौ किन जन्मिने पथ यहाँ छोरीहरूकै तर  

त्रासै त्रास छ भ्रूणमै पनि हरे पाउन्न की जन्मिन

छोरी जन्मनु श्राप हो यदि भने संसार कस्को भन?

शार्दूलबीक्रीडित छन्द

राष्ट्रिय नाचघरमा आयोजित कार्यक्रममा कवि टीका आत्रेयले स्टेजमा एउटी छोरी जन्मन नपाउँदै हत्या हुने कहालीलाग्दो विकृतिमा आधारित भएर कविता वाचन सुरु गरिन्।

उनको कवितासँगै दर्शक दीर्घामा तालीको वर्षा सुरु भयो। प्रमुख अतिथिका रूपमा साहित्यकार तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली उपस्थित रहेको कार्यक्रममा उनले पहिलो चरणमा तीनवटा कविता वाचन गरिन्। कार्यक्रम थियो- सांस्कृतिक संस्थानद्वारा मासिक रूपमा आयोजना हुने आठौँ एकल कविता वाचन। हरेक महिनाको तेस्रो बिहीबारका दिन हुने यस कार्यक्रममा यस पटक सुनसरीमा प्राध्यापन गर्दै आएकी कवि आत्रेयलाई उभ्याइएको थियो।

उनका कवितामा सामाजिक परिवेश र देशभक्ति, आमनेपालीले भोग्दै आएका दैनिकीहरू विषयका रूपमा समेटिएका थिए। उनले जीवनका सूक्ष्म विषयवस्तुलाई समेटेका १२ वटा आफ्ना छन्दकविता बडो लयात्मक तरिकाले वाचन गरेकी थिइन्। कविता सुनेपश्चात् साहित्यकार तथा परराष्ट्रमन्त्री ज्ञवालीले कुनै पनि सिर्जना अभिव्यक्ति गर्ने शैली, कलात्मक प्रस्तुति र प्रभावकारी लेखनले मात्र उत्कृष्ट हुने धारणा व्यक्त गरे। उनले कवि आत्रेयका कवितामा देश प्रेम र देशमा भएका विसंगतिलाई बेजोड तरिकाले उठाएको पनि बताए। 

कार्यक्रममा विभिन्न क्षेत्रमा आवद्ध व्यक्तित्वको उपस्थिति थियो। प्रा.डा. टंकप्रसाद न्यौपानेले कवि आत्रेयको परिचय दिएका थिए। उनले कवि आत्रेयका कवितामा देशभक्ति, सामाजिक पीडा, हामीले बाँचेको समाजको चित्रण रहेको बताए। एउटा कवि तथा लेखकमा युगचेत हुनुपर्ने बताउँदै उनले यो खुबी कवि आत्रेयमा रहेको भन्दै प्रशंसा गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.