|

काठमाडौं : स‌ंचार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले भर्खरै सम्पन्न एसिया प्यासिफिक सम्मेलनलाई बढी भ्रमित बनाइएको भन्दै मिडियाले भ्रम छर्ने काम गरेको बताएका छन्।

मन्त्रिपरिषद्का निर्णयहरू सार्वजनिक गर्दै सरकारका प्रवक्तासमेत रहेका मन्त्री बाँस्कोटाले आइक्यापलाई भक्तमान प्रकरण  र दिलशोभा प्रकरण जस्तो भ्रमित बनाउन खोजिएको दाबी गरे। 'आक्षेप जे पनि लगाइदिएको छ। जवाफदेहिता बोक्नु नपर्ने। यस्ता कुराहरू हामीले देखिरहेका छौँ', उनले भने।

पूर्वप्रधानमन्त्रीहरू गिरिजाप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराईलगायतका नेताहरूले भाग लिएको उक्त कार्यक्रमलाई अहिले आएर प्रधानमन्त्री केपी शर्मा ओली जाँदा जानै नहुने ढंगले व्याख्या गरिएको भन्दै मन्त्री बाँस्कोटाले दु:ख व्यक्त गरे। 'गिरिजाप्रसाद कोइरालाज्यूले प्रधानमन्त्रीका रूपमा यही अवार्ड लिँदा तपाईंहरूले शान्तिका दूत भेटिनुभयो, कोशेढुंगा भयो भन्नुभयो', मन्त्री बाँस्कोटाले भने, 'तर केपी ओली जाँदा मानौँ अपराधी गएजस्तो व्यवहार किन गर्नुभएको छ? यो दृष्टिकोणको कुरा गर्नुभएको छ। कसै न कसैले निहुँ नपाएपछि कनिका बुकाऊँ भन्ने हुन्छ।'

देशको प्रधानमन्त्री कुनै धर्मप्रतिको आशक्ति र भक्तिवाद र कुनै धर्मप्रतिको घृणा फैलाउने पात्र नभएको भन्दै सम्मेलनमा सबै धर्मको उत्तिकै चर्चा भएको बताए। कुनै व्यक्ति जाँदा पवित्र त कुनै व्यक्ति जाँदा अपवित्र ढंगले विषयवस्तुलाई हेर्न नहुने उनले बताए। 'सुजाता कोइराला, प्रदीप गिरि गएको कुरा गर्नुभएको छैन। धनराज गुरुङले बोल्नुभएको कुरा उठाउनुभएन', प्रवक्ता बाँस्कोटा भन्छन्, 'को जाँदाचाहिँ त्यो पवित्र हुन्थ्यो? को गएरचाहिँ त्यो भयंकर अपवित्र भयो? त्यहाँ कसले होली वाइन खायो  खानेले खायो होला। प्रधानमन्त्रीले खानुभयो?'

यस्तो खालको कुरा 'झूठ' को संज्ञा दिँदै यस्ता काम नगर्न भन्दै बाँस्कोटाले सूर्यलाई हत्केलाले छेक्ने कोसिस गर्नु सुहाउँदो कुरा नभएको समेत बताए।

अर्को प्रसंगमा प्रवक्ता बाँस्कोटाले अपराधी ठेगान लगाएपछि मात्रै सरकार भएको देख्ने र अरू बेला नदेख्ने प्रवृत्ति गलत भएको बताए। निर्मला हत्या काण्डमा सरकार निरन्तर लागिरहेको भन्दै उनले कुनै बेला गंगामाया अधिकारीको काण्डमा चुप लागेर बस्नेहरू अहिले जागेको बताए। उनले तिनीहरूलाई लेकका जुकाको संज्ञासमेत दिए। बाँस्कोटाले भने, 'कुनै बेला गंगामायाको बारेमा पनि यस्तै भएको थियो। गंगामायाको बारेमा यतिकै कुरा चल्दाखेरि मुख थुनेर बस्‍नेहरू अहिले उठेका छन्। लेकका जुका जस्तो स्याउँस्याउँ गरिरहेका छन्।'

'सरकार भेटियो, न्याय भेटिएन' लेखिएका पोस्टरहरू अहिले छ्याप्छ्याप्ती टाँसिएको बारेमा बोल्दै मन्त्री बाँस्कोटाले पोस्टर छाप्न मन लाग्नेले लोकतन्त्रमा पोस्टर छाप्न पाइने प्रतिक्रिया दिए।

केही घटनाहरू अपवाद बन्न गएको भन्दै उनले कतिपय घटनामा सरकारले छानबिन नै गर्दैन जस्तो व्यवहार नगर्न आग्रह गरे। 'सरकारले लगातार यसमा सरकारले आफ्नो शक्ति, सामर्थ्य, बुद्धि, विवेक, प्रविधि प्रयोग गरेर सूचना लिइरहेको छ', मन्त्री बाँस्कोटाले भने, 'हामी (सरकार)ले प्रतिवद्धता, संकल्प जनाएका छौँ कि अपराधीलाई कुनै न कुनै हिसाबले पक्राउ गर्छौं। त्यसका लागि समय लाग्न सक्छ।'

अर्को एक प्रसंगमा मन्त्री बाँस्कोटाले आवश्यकताअनुसार सरकारले अध्यादेश ल्याउन सक्ने बताए। अध्यादेश ल्याए पनि संसदमा पेस गर्नै पर्ने बताउँदै उनले अध्यादेश ल्याउनै नहुने, आउनै नहुने भन्ने ढंगले नबुझ्न आग्रह गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.