|

विराटनगर : उर्लाबारीका सनम शाक्यको हत्या र ३८ क्विन्टल सुन तस्करी प्रकरणमा मुछिएका निलम्बित प्रहरी सहायक निरीक्षक (सई) बालकृष्ण सञ्जेललाई उच्च अदालत विराटनगरले साधारण तारेखमा छाड्ने आदेश दिएको छ।

उच्च अदालतका न्यायाधीश थिरबहादुर कार्की र जनक पाण्डेको इजलासले बिहीबार जिल्लाको आदेश बदर गर्दै साधारण तारेखमा छाड्न आदेश दिएको हो। २६ पटक पेसी चढेको मुद्दा १८ पटक स्थगित गरी बिहीबार साधारण तारेखमा छाड्ने आदेश दिएको हो। बिहीबार उच्च अदालतका न्यायाधीश कार्की र जनक पाण्डेको इजलासले जिल्लाको आदेश वेरितको भएको ठहर गर्दै साधारण तारेखमा छाडेर मुद्दाको पूर्पक्ष गर्ने आदेश भएको उच्च अदालत विराटनगरका रजिष्टार नारायण रेग्मीले जानकारी दिए। रेग्मीका अनुसार बिहीबार नै सुन तस्करी प्रकरणका अर्का अभियुक्त आर के भन्ने राजेन्द्रकुमार शाक्यको आदेशको मिसिल झिकाउने आदेश दिएको छ।

जिल्ला अदालत मोरङले  गतजेठ ८ गते पूर्पक्षकालागि थुनामा राख्ने आदेश दिएपछि थुनामा रहेका सञ्जेलले गत साउन ६ गते जिल्लाको आदेश बदर गर्न उच्च अदालत विराटनगरमा पुनरावेदन गरेका थिए। सुन तस्करी प्रकरणका मुख्य अभियुक्त चुँडामणि उप्रेती 'गोरे' लाई सुन तस्करी प्रकरणमा सहयोग गर्दै आएको आरोप लागेका सञ्जेल गत माघ १८ गते सनम शाक्यको शव व्यवस्थापन गर्न काठमाडौंबाट विराटनगर आएका थिए।

यसअघि उच्च अदालत विराटनगरले उच्च पदस्थ प्रहरी अधिकृत पूर्व डिआइजी गोविन्द निरौला, एसएसपी दिवेश लोहनी, एसपी विकाशराज खनाल, डिएसपी प्रजित केसीलाई साधारण तारेखमा छाड्ने आदेश दिइसकेको छ। उच्चको आदेश रितपूर्वक नभएको भन्दै सरकारी वकिलको कार्यालयले सर्वोच्च अदालतमा अदालती बन्दोबस्तीको १७ नम्बर गर्ने जनाएको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.