|

विराटनगर : रानी-विराटनगर-धरान 'सिक्स लेन' सडक निर्माण परियोजना चलिरहेको छ। विराटनगरका केही स्थानमा सडक सिक्स लेनको बनाइएको पनि छ। तर पार्किङ अभावको कारण देखाउँदै आयल निगमका ट्यांकरको पार्किङका नाममा रजाइँ छ सडकमा।

सडक साँघुरो भएसँगै फराकिलो पारिएको सडकमा लावालस्कर पेट्रोलियम पदार्थ बोक्ने ट्यांकरहरू सडकमै राखिँदा सिक्स लेन सडकको उपयोगितामा प्रश्न मात्रै उठाएको छैन, ट्यांकरबाट झर्ने तेलका कारण सडक विग्रिएको छ। ट्यांकरकै कारण सवारी दुर्घटना भएको छ भने ट्राफिक प्रहरीले गर्ने व्यवहारले चालकसमेत आजित छन्। 

४० वर्ष अगाडि ३० वटा ट्यांकरलाई मध्यनजर गर्दै बनाइएको विराटनगरस्थित नेपाल आयल निगम १ नम्बर प्रदेश कार्यालयको डिपोका लागि हाल ४०० बढी ट्यांकरले तेल भरिरहेका छन्। उच्च सवारीको चापको कारण सर्वसाधारणलाई आवत जावतमा निक्कै समस्या हुँदै आएको विराटनगर–इटहरीको कोशी राजमार्ग फराकिलो बनाउने काम अहिले भइरहेको छ। सिक्स लेनको सडक निर्माणको काम भइरहँदा निर्माण सम्पन्न भएका सडकमा भने तिनै आयल निगमका दर्जनौं ट्यांकर लामबद्ध पार्किङमा राखिएका छन्।

ट्यांकर एउटा होइन दुईवटा होइन कहिले काहिँ पचासौंको हाराहारीमा सडकमै पार्किङमा राखिएको देख्न सकिन्छ। आवत जावतमा सवारी साधनको त समस्या छ नै त्यो भन्दा पनि मुख्य समस्याबीच सडकमा नै पार्किङ गर्ने आयल निगमको तेल बोकेका ट्यांकर हो। यो समस्याले अन्य सवारी चालकहरुलाई समस्या छनै त्यसभन्दा बढी ट्यांकर चालकले पनि भोगिरहेका छन्। ‘सडकमा ट्यांकर राखिस् भनेर ट्राफिकले लाइसेन्स खोस्छ। कागजपत्र खोस्छ। जरिमाना काट्छ,’ ट्यांकर चालक केशवराज आचार्यको भनाइ छ, ‘सडकमा पार्किङ नगरौं भने आयल निगमको पार्किङस्थल नै छैन।’

पेट्रोलियम पदार्थको ढुवानी गर्दै आएका ढुवानी व्यवसायीको माग पनि आयल निगमले पार्किङस्थल बनाइदिनुपर्नेमा छ। तर, आफूहरुको भनाइको लामो समयदेखि कनुै सुनुवाई नभइरहेको पेट्रोलियम ढुवानी संघ पूर्वाञ्चलका अध्यक्ष गुणराज निरौलाको भनाइ छ। तेल भरेर ल्याएको गाडी बाहिर राख्दा सबै क्षेत्रलाई जोखिम छ। प्रज्वलनशील पदार्थ डिजेल र पेट्रोल बोकेका ट्यांकरमा कुनै दुर्घटना भए वा पड्किए आसपासमा ठूलो प्रभाव पार्न सक्ने बताइन्छ। त्यसै कारण पनि आयल निगमको डिपोभन्दा वस्ती १ किलोमिटर भन्दा टाढा हुनुपर्ने अन्तराष्ट्रिय मान्यता छ।

आयल निगमको विराटनगर डिपोमा भने आसपासमा टाँसिएरै नीजि घर तथा वस्ती बसाइएको छ। त्यसमा पनि ट्यांकरहरुको उचित व्यवस्थापन हुन नसकेको निरौलाको भनाइ छ। पार्किङ व्यवस्थित हुन नसक्दा ट्यांकर सडकमा नै राख्नु पर्ने बाध्यता चालकहरूसँग छ। त्यसको लागि निगमले जिम्मेवारी लिनु पर्ने उनीहरूको भनाइ छ। ट्यांकरका चालक भन्छन् हामीलाई गाडी सडकमा राख्न मन थिएन। हाम्रो बाध्यता नै यस्तै छ। केही समय अगाडि सडक विभागले ट्यांकर सडकमा पार्किङ नगर्न भन्दै ट्राफिक प्रहरीलाई पत्राचार गर्‍यो।

ट्राफिक प्रहरीले सडकमा पार्किङ गरेर राखिएका ट्यांकर चालकहरुको कागजपत्र खोसिदिने र दुःख दिने काम गर्‍यो। तर सरकारको एउटा निकायले चालकहरूलाई सडकमा पार्किङ नगर्न भनिरहँदा त्यही सरकारको अर्को निकाय आयल निगमले पार्किङको उचित व्यवस्थापन गर्न सकेको छैन। आयल निगम विराटनगरले पार्किङको जग्गा खोजिरहेको छ।

केही समययता जग्गा खरिद प्रकरणमा घोटाला भएको भन्दै मुद्दा मामिला चलिरहेको छ। त्यही डरले पनि आफूहरूले जग्गा खरिद गर्न नसक्ने आयल निगम विराटनगरका प्रमुख दिनेश यादवको भनाइ छ। तर भाडामा लिएर भएपनि पार्किङको समस्या छिटो भन्दा छिटो हल गर्न आफूहरू लागिरहेको उनको भनाइ छ। 
आयल निगमले जग्गा खरिदमा विवाद हुने भएकै कारण जग्गा भाडामा लिन खोजेको हो। पार्किङको जग्गा प्राप्तीकै लागि निगमले गतअसोज १५ गते विराटनगरमा गोष्ठी गरेको थियो।

सरोकारवालासँगको छलफलमा एउटा धारणा पनि आयो। जग्गा खरिदको विषयमा महानगरपालिकाका प्रमुख भीम पराजुलीको संयोजकत्वमा बैठक पनि बस्यो। वडा ३ र ४ को वडाध्यक्षले जग्गा खोजेर दिने निर्णय भयो। त्यस अनुसार जग्गा खोजीको काम अहिले भइरहेको छ। जग्गा खोज्ने काम द्रुत गतिमा काम भइरहेको र उपर्युक्त स्थानमा फेला पर्ने वित्तिकै आवश्यक प्रक्रिया मिलाएर २ देखि ३ विगाहा जग्गा लिने आयल निगम कार्यालय प्रमुख दिनेश यादवको भनाइ छ।

‘पार्किङ गरिएको सडकमा तेल चुहिँदा पक्की सडक उप्किने, सडकमै राख्दा दुर्घटनाको जोखिम हुने, प्रज्वलनशील वस्तुमा कुनै दुर्घटना भए अझै ठूलो दुर्घटनाको जोखिम हुने कुरा हामीलाई पनि थाहा छ,’ आयल निगम प्रमुख यादवले भने, ‘त्यसमाथि आयल निगमले पार्किङको व्यवस्थापन नगर्दा बारम्बार प्रश्न पनि उठिरहेकै छ।पछिल्लो पटक विराटनगर दुग्ध वितरण आयोजनाको छेउमा रहेको चिया विकास संस्थाको जग्गा हेरेको छ। तर अत्याधिक गहिरो र पानी जम्ने रहेको कारण अन्य विकल्पको खोजी भइरहेको छ।’

ट्यांकर व्यवसायीले पनि पार्किङको व्यवस्थापन गर्नुपर्ने भन्दै आयल निगमलाई दबाब दिइरहेका छन्। ५ किलोमिटर टाढा भए पनि पार्किङस्थलमा लगेर राख्न आफूहरू तयार रहेको उनीहरुको भनाइ छ। पार्किङ रोडभन्दा बाहिर हुनुपर्ने स्थानीयको माग छ। ‘सिक्स लेनको उपयोग पार्किङ गर्दा हुँदैन’, स्थानीय राजेन्द्र खनालको भनाइ छ, ‘गाडी चलाउन पाइयोस्, ट्यांकर पार्किङकै कारण धेरै दुर्घटना पनि भएको छ। यततर्फ सबैको ध्यान जानुपर्छ।’

विराटनगर आयल निगमको स्थापना २०३५ सालमा नै भएको हो तर अहिलेसम्म पार्किङ बन्न सकेको छैन। अब बन्ने कुरामा आशावादी छन् ट्यांकर व्यवसायी, ट्यांकर चालक र स्थानीय पनि। विगतमा पार्किङको कुरा उठ्दै हराउँदै गरेको भएपनि केही समययता जग्गा हेर्ने र काम अगाडि बढाउन आयल निगमले सक्रियता देखाइरहेको छ।

ट्यांकर व्यवसायी एशोशिएशन र ढुवानी ब्यवसायि संघले पनि अब काम हुनेमा आशावादी रहेको बताउँछन्। ‘४० वर्ष पुरानो अवस्था अहिले छैन। ३० वटा ट्यांकर त्यसबेला थिए। अहिले ४०० बढी भइसकेका छन्’ पेट्रोलियम डिलर्स एसोसिएसन कोशीका पूर्व अध्यक्ष मुकुन्द न्यौपानेले भने, ‘पहिले जनसंख्या पनि कम र सवारीका साधनको चाप पनि उति थिएन। तर पछिल्लो १० वर्ष उच्च मात्रामा भित्रिएका सवारी साधनका कारण सडक त्यसै त जाम हुने समस्या छ। त्यसकारण पनि पार्किङको उचित व्यवस्थापन आवश्यक छ।’

ट्यांकर चालक संघ प्रदेशका अध्यक्ष केशवराज आचार्यले पनि अब पार्किङको समस्या हल हुने आशा व्यक्त गरे। यस्तै चालक संघका सहसचिव उमेश थापा मगरको भनाई पनि उस्तै छ। आयल निगमले पछिल्लो पटक केही सक्रियता देखाएको छ। यस्तै पेट्रोलियम डिलर्स एशोसिएसन कोशीका महासचिव महेन्द्रकुमार अग्रवालले पनि समस्या हल हुनेमा आफूहरू आशावादी रहेको बताए। 

२०३५ सालमा स्थापना भएको आयल निगमले पार्किङ व्यवस्थित गर्न २०६६ सालदेखि प्रक्रिया सुरु गरेको हो। अहिलेसम्म त्यसको व्यवस्थापन हुन सकेको छैन।२०६६ यता झण्डै १० पटक भन्दा बढी सडक डिभिजन कार्यालयले पत्र पठाएपछि पार्किङ ब्यवस्थापन गर्ने काम पनि सुरु भएको थियो। त्यसअनुसार १० कठ्ठा जग्गामा पार्किङ पनि बनाइयो। यो पार्किङ क्षेत्रमा ८० देखि ९० वटासम्म ट्यांकर अट्न सक्छ। तर अहिले विराटनगर डिपोमा तेल ओसार्ने ४०० बढी ट्यांकर छन्। त्यसै कारण पनि वर्षौंदेखि आयल निगमको पार्किङ क्षेत्र कोसी राजमार्ग बनेको छ।

२०३५ सालदेखि अहिलेसम्म पार्किङको उचित व्यवस्थापन नहुँदा कति सवारी दुर्घटना भए त्यसबारे सबै बेखबर छन्। यो अवस्था अन्त्यका लागि विराटनगर महानगरपालिका र प्रदेश सरकार पनि जिम्मेवार भएर लाग्नु पर्ने स्थानीय बताउँछन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.