|

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले चिनियाँ मोबाइल कम्पनी हुवावेकी वरिष्ठ अधिकारी पक्राउमा आफ्नो स‌ंलग्नता नरहेको बताएका छन्।

हुवावेकी वरिष्ठ अधिकारी मेङ वाङ्जुलाई अमेरिकी सुरक्षा निकायको आग्रहमा पक्राउ गरिएको र त्यसमा कुनै राजनीतिक पूर्वाग्रह नरहेको ट्रुडोको भनाइ छ। मेङ डिसेम्बर १ मा क्यानडाको भ्यानकुभरबाट हिरासतमा लिइएको भए पनि उनलाई अमेरिका सुपुर्दगी गर्ने तयारी भइरहेको छ। वाङजुलाई पक्राउ गर्नुको कारण खुलाइएको छैन। उनलाई सुपुर्दगी गर्नेबारे आज सुनुवाइ हुने अन्तर्राष्ट्रिय स‌ञ्चारमाध्यमले जनाएका छन्।  क्यानडाका अधिकारीहरुले उनलाई पक्राउ गरिएकोबारे थप विवरण दिन अस्वीकार गरेका छन्।

यसैबीच चीनले मेङ्गको पक्राउ मानवअधिकारको गम्भीर उल्लंघन भएको जनाउँदै तत्काल रिहा गर्न माग गरेको छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले 'विना कुनै कारण पक्राउ गरिनु मानवअधिकारको गम्भीर उल्लंघन हुनु हो' भनेका छन्। चीनले क्यानडासमक्ष उनलाई पक्राउ गर्नुपर्ने कारण प्रष्ट पार्न  पनि भनेको छ।

चीनले पक्राउ परेकी मेङ्ले अमेरिका तथा क्यानडाको कुनै पनि कानुन उल्लंघन नगरेको दाबी गरेको छ। अमेरिकी सञ्चारमाध्यमले भने हुवावेले इरानमाथि लगाइएको अमेरिकी प्रतिबन्धको उल्लंघन गरेको आरोपमा छानबिन चलिरहेको जनाएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.