अबको बाटो के?

|

काठमाडौं : कंचनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको पाँच महिना बित्न लाग्दासमेत हत्यारा पत्ता लाग्न सकेको छैन।

प्रहरी निर्मलाको वास्तविक हत्यारा पत्ता लगाउनुको सट्टा सुरुवातदेखि नै नक्कली अभियुक्त सार्वजनिक गर्न उद्यत देखिन्छ, जसका कारण अहिले प्रहरीमाथिको जनताको आशा, भरोसा नै टुटेको छ।

यसको पछिल्लो उदाहरण प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले निर्मलाको बलात्कारपछि हत्या गरेको आशंकामा सोधपुछका लागि पक्राउ गरिएका प्रदीप रावल र कंचनपुर प्रहरीले पक्राउ गरेका विशाल चौधरीमाथि उठेको प्रश्न हो।

यी दुई जनाको पक्राउबाट प्रहरी हेडक्वार्टर नै हौसिएको थियो। गत बुधबार एक अनलाइन मिडियालाई प्रहरी प्रमुख महानिरीक्षक (आइजिपी) सर्वेन्द्र खनाल आफैँले निर्मला पन्तको हत्या आशंकामा एक जना पक्राउ गरिएको जनाएका थिए।

निर्मला हत्याले प्रहरी र सरकारको चौतर्फी आलोचना भइरहेका बेला आइजिपीले नै निर्मला हत्या अनुसन्धानका लागि एक जना पक्राउबारे सूचना चुहाउँदा अहिले राजनीतिक, सामाजिक क्षेत्र तरंगित भएको छ। के साँच्चै निर्मलाका हत्यारा पत्ता लागेकै हुन्?  तर परिणाम भने शून्य नै छ।

अझ आइजिपीले सूचना चुहाएकै दिनदेखि विरोध सुरु भएको छ- प्रहरीले फेरि निर्माला हत्या प्रकरणमा अर्का निर्दोष मानिस फसाउन त खोज्दै छैन भनेर। उसो त निर्मलाको हत्या भएको दिन साउन १० गते प्रदीप रावल र विशाल चौधरी कुखुरा चोरीको आरोपमा थुनामा रहेको कुरा सार्वजनिक हुनुले समेत आइजिपीको भनाइलाई नै 'ब्याक फायर' गरेको छ।

हत्या अनुसन्धानकै लागि प्रहरीले सयौँ जनालाई सोधपुछ गरिरहेको छ तर प्रदीप पक्राउबारे किन यति ठूलो हल्ला फैलायो प्रहरीले? के प्रदीपलाई निर्मला हत्याका अभियुक्त भन्दै सार्वजनिक गर्ने तयारीमा थियो प्रहरी? यसको नतिजा डिएनएको परिणामले नै दिनेछ। तर प्रदीप र विशालको डिएनए रिपोर्ट नआउँदै प्रहरीको आलोचना सुरु भइसकेको छ। 

यसरी चुक्दै आयो प्रहरी

विभिन्न ठूलाठूला अपराधको सफल अनुसन्धान गरेको नेपाल प्रहरी निर्मला बलात्कार र हत्या प्रकरणमा भने चुक्दै आएको छ। अझ अपराधी पत्ता लगाउनु भन्दा पनि प्रहरीले पीडितलाई विश्वास दिलाउन नसक्नुले प्रहरीमाथि झन ठूलो अविश्वास उत्पन्न भएको छ। पीडित परिवारलाई विश्वास दिलाउन सुरुदेखि नै प्रहरी चुक्दै आएको छ, जुन कुरा प्रहरी अधिकारीहरू नै स्वीकार गरिरहेका छन्।

त्यो क्रम अझै जारी छ। यसो त निर्मला हराएकै दिन प्रहरीले घटनाको गाम्भीर्य बुझेको भए प्रहरीमाथि यस्तो परिस्थिति नै आउने थिएन भन्ने कतिपय वहालवाला प्रहरी अधिकारीकै मत छ।

साउन ११ गते निर्मलाको बलात्कारपछि हत्या भएको अवस्थामै भेट्दासमेत प्रहरी त्यति गम्भीर देखिएन। हत्या अवस्थामा भेटिएको घटनास्थल सुरक्षित गर्नमा र प्रमाण संकलनमै ठूलो कमजोरी रह्यो, जसका कारण अहिले प्रहरी 'गर या मर'को अवस्थामा पुगेको छ। यसमा प्रहरी संगठनकै प्रतिष्ठासमेत जोडिएको छ।

त्यस्तै, निर्मलाको हत्यारालाई सार्वजनिक गर्ने हतारोले पनि प्रहरीमाथिको विश्वास अहिले गुमेको हो, जो अब पहिलेकै अवस्थामा आउन सक्ने अवस्था छैन। प्रहरीले निर्मला हत्यामा स्थानीय दिलीपसिंह बिष्टलाई संलग्न अभियुक्त भन्दै साउन २५ मा सर्वजनिक गरेको थियो। प्रहरीले नक्कली अभियुक्त सार्वजिनक गरेको भन्दै स्थानीयको दबाब बढेपछि बिष्टको डिएनए परीक्षण गरिएको थियो।

स्थानीयको भनाइलाई बल पुग्नेगरी डिएनए परीक्षणमा बिष्टको डिएनए मेल नखाएपछि बिष्टलाई प्रहरीले छाड्न बाध्य भयो, जसबाट प्रहरीमाथि निर्मलाको वास्तविक हत्यारा पत्ता लगाउँछ भन्नेमा जनताको विश्वास नै गुम्यो।

प्रमाणसहित अभियुक्त समात्न नसक्दा यो अवस्था सिर्जना भएको उच्च प्रहरी अधिकारीकै भनाइ छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले नै बिष्टलाई सार्वजनिक गरेको थियो।

परिणाम देखाउने लोभमा डिएनएको नमुना नै परीक्षण नगरी दिलीपलाई सार्वजनिक गर्न हतारो गर्दा प्रहरी निर्मला पन्त घटनामा तेस्रोचोटि चुकेको हो। सुरुमा निर्मला हराएको सूचनालाई वास्ता नगरेको प्रहरीले हत्या भएर शव भेटिएको अवस्थामा समेत प्रमाण संकलनमा लापरवाही गर्दै आएको थियो।

त्यस्तै, बुधबार प्रहरीले निर्मलाको हत्याको शंकामा पक्राउ गरेको प्रदीप रावलबारे आएका केही सूचनाले प्रहरीमाथि फेरि आशंका बढेको छ। रावलले निर्मलाको हत्याको साविती बयान दिएको भन्दै प्रहरी हौसिएको छ। आइजिपी खनाल आफैँले समेत निर्मला हत्याको अनुसन्धानको घेरा साँघुरिएको बताउँदै आएका छन्। तर प्रदीपको डिएनए रिपोर्ट आउनै बाँकी छ। यसअघि सार्वजनिक गरेका दिलीपसिंह बिष्टले समेत निर्मलाको हत्यामा साविती बयान दिएका थिए। 

आइजिपीमाथि नै प्रश्न

यसअघि ठूलाठूला अपराधमा समेत सफलतापूर्वक अनुसन्धान गरेको प्रहरी संगठन अहिले यति चाँडै किन 'विचरा' बन्न पुग्यो? यो अहिले आममानिसमा उठेको प्रश्न हो।

यति मात्र होइन, सोमबार सुशासन समितिमै पनि प्रहरी महानिरीक्षकमा सर्वेन्द्र खनालको नियुक्तिपछि देशमा विभिन्न अपराधका घटना बढेको र शान्ति सुरक्षा दिन नसकेको भन्दै समितिका सदस्य उनीमाथि खनिएका थिए। सांसद प्रमिला यादवले त आइजिपीको राजीनामासमेत माग गरेकी थिइन्।

त्यस्तै, प्रहरी संगठनभित्रै समेत अन्य उच्च प्रहरी अधिकारीसँग घटना र विवादका विषयमा खनालले खासै छलफल नै नगर्ने आरोप लागेको छ। यसका कारण प्रहरी संगठन नै आलोचित हुँदै गएको केही बहालवाला प्रहरी अधिकारी नै बताउँछन्।

३३ किलो सुन प्रकणमा समेत आइजिपी खनालले उच्च प्रहरी अधिकारी र विज्ञहरूको सुझाव नै नलिएको गुनासो पूर्व प्रहरी अधिकारीले गरेका थिए। ३३ किलो सनुकाण्डसमेत अहिले गुपचुप भएको छ। निर्मला हत्या प्रकरणमा समेत आइजिपी खनालले सुरुदेखि नै चासो नदिँदा उनीमाथिसमेत प्रश्न उठेको हो।

अबको बाटो के?

निर्मला पन्त हत्यामा सुरुदेखि नै चुक्दै आएको प्रहरीलाई अबको बाटो के? भन्नेमा अन्योल छ। उसो त गृह मन्त्रालयले सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वमा यसअघि उच्चस्तरीय छानविन समितिसमेत गठन गरेको थियो। समितिले निर्मला हत्यामा प्रहरीको कमजोरी रहेको प्रतिवेदन सार्वजनिक गरिसकेको छ। अपराधी को? भन्नेमा मैनाली नेतृत्वको समिति पनि चुप छ।

त्यस्तै, प्रहरी प्रधान कार्यालयले समेत प्रहरी अतिरिक्त महानिरीक्षक धीरु बस्न्यात नेतृत्वको छुट्टै समिति गठन गरेको छ। दुवै समितिको आधारमा कंचनपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) दिल्लीराज बिष्ट र प्रहरी निरीक्षक जगदीश भट्ट सेवाबाट बर्खास्त भएका छन्।

निर्मला हत्या काण्ड अनुसन्धान गर्ने सिआइबीका प्रहरी नायव उपरीक्षक (डिएसपी) अंगुर जिसीलगायत सात जना निलम्बनमा छन्। यसबाहेक एआइजी बस्न्यातको समितिले समेत उल्लेख्य काम केही गर्न सकेको छैन। यसका कारण निर्मला हत्या काण्डमा प्रहरीबाहेकको अर्कै कुनै अनुसन्धन समिति गठन गर्नुपर्ने अवस्थामा त पुगेको होइन? भन्ने प्रश्नसमेत उठ्न थालेको छ।

पूर्व प्रहरी नायव महानिरीक्षक (डिआइजी) गणेश केसी भने प्रहरीले सुरुवाती चरणमा गरेको कमजोरीका कारण अनुसन्धानमा केही ढिला हुन गए पनि प्रहरी अपराधीसम्म पुग्ने कुरामा आशावादी भएको बताउँछन्।

'प्रहरीले अपराध अनुसन्धान गरिरहेको बेला रचानात्मक दबाब हुनु सकारात्मक भए पनि अनावश्यक दबाब भयो भने अनुसन्धानमा समेत असर पुग्छ, त्यस्तो दबाब हुनुहुँदैन', केसीले भने। अहिले निर्मला पन्त हत्या प्रकरणमा समेत प्रहरीमाथि अनावश्यक दबाब बढेको उनको भनाइ छ।

त्यस्तै, पूर्व डिआइजी हेमन्त मल्ल पनि अहिले विभिन्न सामाजिक संजालका कारण प्रहरीमाथि नकारात्मक दबाब बढी भएको भन्दै निर्मला हत्या प्रकरणमा वास्तविक कुरा के हो? त्यो सार्वजनिक गर्नुपर्ने बताउँछन्। 'सिआइबीको नेवृत्वमा अपराध अनुसन्धानमा ख्याति कमाएका पूर्व प्रहरी अधिकारी र विधि विज्ञानकै डाक्टरहरूको छुट्टै समिति बनाउँदा प्रहरीमाथि लागेको अारोपसमेत कम हुनुसक्छ', मल्लले भने।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.