|

दमक (झापा) : उपचारकै क्रममा आँखाको ज्योति गुमाएका झापा दमक–६ का ११ वर्षीय रोशन ठाकुरको उपचारमा रकम अभाव भएको छ। 

घरको आर्थिक अवस्था कमजोर भएकै कारण उनी मावली घर झापाकै कमल गाउँपालिका–२ मा बसेर पढ्दै आएका थिए। तर स्थानीय कमला मदन–आश्रित माविमा कक्षा ७ मा पढ्दै गरेका रोशन गएको वैशाखदेखि  विद्यालय जान सकेका छैनन्। वैशाखदेखि स्वास्थ्यमा समस्या आए पनि  उनलाई पूर्वमा नाम चलेका मानसिक रोग विशेषज्ञले मानसिक समस्या भन्दै अौषधि सिफारिस गरे। नियमित अौषधि सेवन गर्न थालेसँगै एकाएक रोशनका दुवै आँखा बन्द भएको आमा शोभा ठाकुर बताउँछिन्।

'खै के कारणले हो तर दबाइ गर्न थालेपछि छोराका दुईटै आँखाको रोशन बन्द छन्',शोभाले भनिन्, 'दबाइ खाएपछि निदाउन त थालेको थियो तर अरु बानी ब्यवहारमा खासै परिवर्तन देखिएन। बिराम झन धेरै बढेर गयो।' अहिले रोशन आँखा देख्दैनन्। बेसुरमै आयो...आयो...मलाई लान्छ भन्दै डराएर आमा, दिदी बहिनीको सहारा खोज्छन्। 'के आयो' भनेर सोध्दा बोक्सी आयो..‍.मात्रै भन्छन्। बेलाबेलामा बोली पनि बन्द हुन्छ।  शोभाका अनुसार दिउँसो १२ बजे हुनै लाग्दादेखि उनलाई धेरै च्याप्छ।  कम नभएपछि विशेषज्ञसँग फेरि भेट गर्दा विस्तारै ठिक हुन्छ भन्ने जवाफ आएको तर समस्या झनै बढेका कारण रोशनलाई अौषधि बन्द गरिएको छ। दिनैपिच्छे धामी झाँक्रीको घरमा पुर्‍याउने गरे पनि समस्या घटेको छैन।

सामान्य ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्दै आएकी शोभाले थप उपचारका लागि कतै लैजाने आफूसँग पैसा नहुँदा झनै समस्या भएको बताइन्। उनका पति पुनित ठाकुर दमकमै सामान्य खेतीबारीमा काम गर्छन्। तर अलग बसेका श्रीमानबाट पनि उपचारमा साथ नपाएको उनको गुनासो छ। रोशनकी एक बहिनी छिन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.