कांग्रेस निकट प्राध्यापक आन्दोलित

|

सुर्खेत : मध्यपश्चिमाञ्चल विश्वविद्यालयका निलम्बित रजिस्ट्रार डा. महेन्द्रकुमार मल्लमाथि छानबिन गर्न छानबिन समिति गठन भएको छ। प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीको उपस्थितिमा बसेको विश्वविद्यालय सभाले रजिस्ट्रार डा. मल्ललाई निलम्बन गरी छानबिन समिति गठन गरेको हो। राष्टिय योजना आयोगका सदस्य उषा झा को संयोजकत्वमा शिक्षा मन्त्रालयका सचिव खगराज बराल र विश्वविद्यालय अनुदान आयोगको प्रतिनिधि सदस्य रहनेगरी छानबिन समिति गठन भएको छ। 

विश्वविद्यालय सभाले रजिस्ट्रार मल्ललाई निलम्बन गर्दै कामचलाउ रजिस्ट्रारको जिम्मेवारी डिन यामबहादुर कार्कीलाई दिएको छ। विगत २ महिनादेखि उपकुलपति प्राडा. उपेन्द्र कोइराला र रजिस्ट्रार डा. महेन्द्रकुमार मल्लबीच विवाद देखिएको थियो। रजिस्ट्रारले पदीय आचरण अनुरूपको व्यवहार नगरेको भन्दै विश्वविद्यालय सभाका १० जना सदस्यले बिहीबार कुलपति तथा प्रधानमन्त्री ओलीसमक्ष निवेदन दिएका थिए। बिहीबारै प्रधानमन्त्री ओलीले छानबिन समिति गठन गरी मल्ललाई जिम्मेवारीमुक्त गरेका हुन्। नवनियुक्त कामचलाउ रजिस्टार कार्की त्रिभुवन विश्वविद्यालय स्वास्थ्य केन्द्रीय विभागमा सहप्राध्यापकका रूपमा कार्यरत रहे पनि हाल मध्यपश्चिमाञ्चल विश्वविद्यालय शिक्षाशास्त्र संकायमा डिन छन्।
 

के छ कानूनी प्रावधान
मध्यपश्चिमाञ्चल विश्वविद्यालय ऐन २०६७ बमोजिम उपकुलपति, रजिस्टार र सेवा आयोग अध्यक्ष बर्खास्त गर्नको लागि सिनेटको एकचौथाई सदस्यले कुलपति (प्रधानमन्त्री) समक्ष निवेदन दिनुपर्छ। त्यसपछि कुलपतिले ३ सदस्यीय छानबिन समिति गठन गर्नुपर्छ। समितिमा कुलपतिले तोकेको व्यक्ति संयोजक र शिक्षा मन्त्रालयको सचिव र विश्वविद्यालय अनुदान आयोगको प्रतिनिधि सदस्य रहने प्रावधान छ। समितिलाई १ महिनाभित्र प्रतिवेदन दिने म्याद दिइन्छ। समितिले दिएको प्रतिवेदन सिनेट बैठकमा प्रस्तुत हुन्छ। 

प्रतिवेदनमा निज पदाधिकारीलाई हटाउने राय भएमा सिनेट बैठकले बहुमतबाट निर्णय गरेमा पदाधिकारी पदमुक्त हुने प्रावधान रहेको छ। त्यसरी हटाउनुपर्ने भएको खण्डमा निजलाई स्पष्टीकरणको मौका पनि दिनुपर्ने ऐनमा उल्लेख छ। मल्ल समर्थित विद्यार्थी र प्राध्यापकले आन्दोलन गर्ने मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा नेपाली कांग्रेसनिकट प्रजातन्त्रवादी प्राध्यापक संघ र नेपाल विद्यार्थी संघले आन्दोलनको सुरुवात गरेका छन्। रजिस्टारलाई काममा रोक लगाइएको निर्णयको विरोध गर्दै आइतबारबाट पठनपाठन बन्द गर्ने बताएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.