|

काठमाडौंः विभिन्न प्रतियोगिताको बारेमा त सुन्नुभएकै होला। प्रतियोगितामा सहभागी भएपछि पुरस्कार पनि जितिन्छ नै। फुटबल, क्रिकेट, भलिबल, चेसलगायत खेल प्रतियोगिता त हामीले सुन्दै आएकै छौं। यी बाहेक लेखन तथा बोल्ने कलासम्बन्धी प्रतियोगिता पनि भइरहन्छन्।

नेपालमा हामीले देख्दै र भोग्दै आएकोभन्दा फरक प्रतियोगिता हुँदैछ। त्यो पनि संसद सचिवालयले आयोजना गर्ने। मन्त्री, सांसद तथा ठूला नेताहरू कार्यक्रमका पाहुना हुने होलान्! संसदले नै आयोजना गरेको प्रतियोगितामा नेता तथा मन्त्रीको उपस्थिति नहुने कुरै भएन।

संसद सचिवालयले आउँदो मंसिर २६ गते टाईबनाउने प्रतियोगिता गर्ने भएको छ। बाह्रौं व्यवस्थापिका–संसद दिवसको अवसर पारेर संसद सचिवालयले टाई बनाउने प्रतियोगिता आयोजना गरेको हो। प्रतियोगिता विहान ११ बजे सुरु हुँदैछ।

छिटो टाई बनाउनेले पुरस्कार जित्ने हो कि राम्रो टाईबनाउनेले पुरस्कार जित्ने हो त्यो भने खुलाइएको छैन। कस्तो टाइको गाँठो राम्रो भनेर मापन गर्न गाह्रो नै हुन्छ। सायद छिटो टाई बनाउनेले पुरस्कार पाउने गरी प्रतियोगिताको तयारी गरिएको होला।

संसद सचिवालयका अनुसार मंसिर २४ गतेसम्म प्रतियोगितामा सहभागी हुनका लागि नाम लेखाउन पाइन्छ। प्रतियोगितामा प्रथम, द्वितिय र तृतीयलाई पुरस्कारको व्यवस्था पनि गरिएको छ। प्रतियोगितामा भने संसद सचिवालयमा काम गर्ने कर्मचारीले मात्रै सहभागिता जनाउन पाउने भएका छन्।

टाई लगाउनु पर्ने भए पनि टाईबनाउन नजान्ने हामी थुप्रै नै छौँ। त्यस्तै सरकारी कर्मचारी पनि होलान्। घरमा श्रीमतीले बनाइदिएको टाई लगाएर जाने कर्मचारीलाई भने गाह्रै हुने भएको छ। नेपालमा महिलाहरूले टाई लगाएको खासै देखिँदैन। कर्मचारीहरू पनि पक्कै छैनन् होला!

संसद सचिवालयमा टाई प्रतियोगिताका लागि सम्पर्क व्यक्ति तोकिएका नासु समिर लम्सालले छिटो टाईबनाउनेलाई पुरस्कारको व्यवस्था हुने बताए। छिटो बनाउनेले पुरस्कार पाउने राम्रै त हो तर टाईनै बनाउन नजान्नेलाई भने समस्या हुँदैछ।

टाई बनाउन जानेको भए पुरस्कार पाइने रैछ भन्ने तपाईलाई पनि लाग्ला। चिन्ता लिनु पर्दैन। नाम लेखाएर एक दुई दिनसम्म टाई बनाउन सिक्नुभयो भने सानोतिनो पुरस्कार जित्न के बेर!

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.