|

रुकुम : रुकुम पश्चिम मुसिकोट नगरपालिका- ५ का २९ वर्षीय दुर्गाराज बुढाको परिचय नै दौड हो। जहाँ र जतिबेला पनि बजार, डाँडापाखा र बेँसीहरूमा दौडिरहने बुढाको लक्ष्य विश्व च्यापियनसम्म बन्ने छ। स्नातकसम्मको शिक्षा हासिल गरेका बुढाको सपना पढेलेखेर सरकारी वा अन्य कुनै जागिर खाने छैन। उनको लक्ष्य नै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय धावक बन्नु हो। 

क्याम्पसबाट घर फर्किंदा भएको पैदल नै दौडको प्रेरणा

बुढा सानैदेखि दौड वा खेलकुद क्षेत्रमा चासो राख्दैनथे। तर एक दिन क्याम्पसबाट घर फर्किंदा गाडी नपाएर पैदल हिँड्नुपर्ने भयो। त्यही पैदल नै उनको दौडका लागि ठूलो प्रेरणा बन्यो। २०६५ सालमा पाल्पाको त्रिभुवन बहुमुखी क्याम्पसमा उनले प्लस टुमा विज्ञान विषय लिएर अध्ययन गर्दै थिए। क्याम्पसमा बिदा भएको बेला उनी रुकुम घर आउनुपर्ने भयो। रुकुम आउन गाडी खोजे तर गाडी नै पाइएन।

उनलाई लाग्यो, गाडी नपाउँदैमा लामो क्याम्पस बिदाको दिनमा पनि यतै बस्ने कुरा त भएन। घर त जानै पर्‍यो तर अब गाडीमा होइन, हिँडेरै घर जाने योजना बनाए। उनी पहिलो पटक बाटो स्थानीयहरूलाई सोध्दै पाल्पा ढोरपाटन, तकसेरा हुँदै खलंगामा पैदल हिँडेरै नै घर पुगे। तीन दिन लगाएर उनी रुकुम घरमा पुगेका थिए। त्यसबेला लाग्यो, त्यो गाडीको धूलोधुवाँ र पैसा खर्च गर्नु भन्दा डाँडापाखामा प्राकृतिक आनन्दको यात्रा नै रमाइलो हुनेरहेछ। त्यसपछि उनले सानातिना यात्रा कहिल्यै पनि गाडीमार्फत् गरेनन्, जहिल्यै पैदल नै गरे। यसले उनलाई एउटा धावकको रूपमा परिचय दियो। 

दैनिक ५० किलोमिटर दौडन्छन् बुढा

जिल्ला सदरमुकाम मुसिकोट बजारलगायतका अन्य डाँडाकाँडामा प्रायः दौडिरहेका देखिने बुढा दैनिक ५० देखि ५५ किलोमिटर दौडने बताउँछन्। ‘बिहान ५ बजेदेखि १० बजेसम्म र साँझ ४ बजेदेखि ७ बजेसम्म म दैनिकजसो दौडने गरेको छु’, बुढाले भने, ‘साँझ-बिहान दौडने होइन भने तर के बिर्सियो के बिर्सियो जस्तो हुन्छ, खाना नि रुच्दैन।’ खानामा नुन, खुर्सानी कम खाने बुढालाई माछामासुभन्दा साग सब्जी नै बढी मनपर्छ। कुनै बेला त राम्रोसँग पखालेको साग उनले नपकाएर काँचै पनि खान रुचाउँछन। भातभन्दा रोटी र ढिँडो मनपराउने बुढा मासु र गेडागुडीको झोल अनि मह पनि त्यतिकै रुचाउँछन्।

जिल्ला, क्षेत्रीय र राष्ट्रियस्तरका दर्जनौँ दौडमा विजयी

क्याम्पसको बिदामा गाडी नपाउँदा पैदल हिँडेरै घरमा पुगेका बुढालाई त्यसपछि दौडको नशा नै चढ्न लाग्यो। पढाइभन्दा दौडमा नै रुचि जाग्न थाल्यो। अनि जिल्ला र क्षेत्रीयस्तरका विभिन्न दौड प्रतियोगिताहरूमा भाग लिए। दौडमा भाग लिए पनि उनी क्रमश: विजयी हुँदै गए र झन् उत्साह थपिँदै गयो। बुढाले २०७२ सालमा रुकुमको तकसेरामा आयोजना गरिएको जिल्लास्तरीय गुरिल्ला हाफ म्याराथुन प्रतियोगितामा प्रथम भए। त्यस्तै, जिल्लाकै समृद्ध समाजले आयोजना गरेको २८ किलोमिटरको गुरिल्ला ट्रेलमा पनि प्रथम स्थान हासिल गरे। त्यसलगायत जिल्लास्तरमा भएका दर्जनौँ दौडमा उनले प्रथम स्थान हासिल गरेका छन्। 

त्यस्तै, १० हजार मिटरको क्षेत्रीय प्रतियोगिताको रूपमा सातौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा उनी तृतीय भए। त्यसैगरी यही बैशाख २९ गते नेपालभरको सहभागिता रहेको अल्टा ट्रेल रेस प्रतियोगितामा पनि दोस्रो भए। ४४ किलोमिटर दौडको उक्त प्रतियोगिता व्यास नगरपालिका तनहुँले गरेको थियो, जसबाट उनले ५५ हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्रसमेत हात पारे। त्यस्तै, केही समयअघि मात्र संचालन भएको अन्तर्राष्ट्रियस्तरको ट्रेल रनिङ नेपाल १०० किलोमिटरको दौडमा उनी दोस्रो भए। त्यसमा विश्वभरका १६१ धावकहरू उक्त प्रतियोगितामा सहभागी थिए। यस प्रतियोगितामा विश्वको दोस्रो र नेपालको तर्फबाट प्रथम भएपछि उनी चीनमा हुन लागेको एसियन च्याम्पियनसीप प्रतियोगितामा भाग लिन छनोट पनि भएका छन्। त्यसलगायतका राष्ट्रियस्तरका पनि दर्जनौँ प्रतियोगितामा उनले राम्रो स्थान हासिल गरेका छन्। 

प्रतियोगितामा नाम दर्ता गर्न हुँदैन पैसा

जिल्ला, क्षेत्र र राष्ट्रियस्तरका धेरै प्रतियोगितामा विजय हासिल गरिसकेका बुढासँग जसरी दौडने आँट र क्षमता छ, त्यसरी नै आर्थिक रूपमा पनि निकै समस्या छ। गाउँमा गरिब परिवारमा हुर्किएका बुढा कतै दौड प्रतियोगिता खुलेको खबर आएमा भाग लिन उत्साहित हुन्छन् तर उनीसँग कहिलेकाहीँ त प्रतियोगितामा नाम दर्ता गर्नेसम्म पैसा हुँदैन। ‘धेरै पटक त्यस्तो भएको छ अनि शुभेच्छुक साथीभाई र व्यापारीहरूलाई भन्छु अनि दुई चार हजार सहयोग सबैले गर्नुहुन्छ’, उनले भने।

प्रतियोगितामा नाम दर्ता गर्ने मात्र होइन, उनलाई प्रतियोगितामा भाग लिन तयार हुनसमेत खर्च हुँदैन। बाटोमा खानपिन, गाडी भाडा र यात्रामा दौडँदा चाहिने महँगो जुत्ता, ड्रेस किन्नसमेत धौधौ पर्छ। ‘एउटा राष्ट्रियस्तरको प्रतियोगितामा भाग लिँदासम्म कम्तीमा ३०-४० हजार खर्च हुन्छ’, उनले भने, ‘मलाई साँझ-बिहानको छाक टार्न त समस्या छ भने साथीभाइबाट मागेरै अनि जहिल्यै खर्च व्यहोर्न गाह्रो छ, जसले गर्दा आर्थिकलगायतका आवश्यक सामग्री नहुँदा अन्य कम क्षमता भएका व्यक्तिहरूले पनि उछिन्छन्।' आर्मी क्लबलगायतका अन्य निकायबाट दौडमा सहभागी हुनेहरूलाई कुनै खर्चको चिन्ता नहुने, अफिसले व्यहोर्ने तर आफूहरूले व्यक्तिगत रूपमा व्यहोर्न नसक्ने उनको भनाइ छ। 

उनले कोठाभरि प्रमाणपत्र र मेडल राखेका छन्। 'आफ्नो सम्पत्ति नै त्यही हो। सबैभन्दा मुख्य कुरा मान्छेको इच्छा हो, सोच हो, अरू बिस्तारै जुट्दै जान्छ भनेर दौडको नशा मरेको छैन’, उनले भने। 

कसैले सहयोग गरेमा विश्व च्याम्पियन हुने लक्ष्य

आफ्नो लक्ष्यमा कसैले साथ दिएमा आफू विश्व च्याम्पियनसम्म बन्ने उनको लक्ष्य छ। केही समयअघि सम्पन्न ट्रेल रनिङमा नेपाल छनोट खेलबाट उनी अन्तर्राष्ट्रियस्तरको खेलमा समेत छनोट भएका छन्। उनी अहिले केही समयभित्रै चीनमा हुन लागेको एसियन च्याम्पियनसीप खेलका लागि तयारी गरिरहेका छन्। उनी दैनिक दौडलगायका अन्य व्यायामहरूलाई पनि तीब्रता दिइरहेका छन्।

‘चीनमा हुन गइरहेको एसियन च्याम्पियनसीपमा पनि मैले विजय हासिल गर्ने लक्ष्य छ’, उनले भने, ‘त्यहाँसम्म पुगेर सहभागिता जनाउन र आवश्यक सामग्रीहरू खरिद गर्न मलाई आर्थिक सहयोगको खाँचो छ, जोकसैले पनि मलाई सक्दो सहयोग गर्न सक्नुहुन्छ।’ दौड क्षेत्रबाट नै रुकुम मात्र नभएर आफ्नो देशको नाम राख्ने लक्ष्यमा जिल्लास्थित सरकार र विभिन्न निकायहरूबाट आवश्यक सहयोग नहुँदा पनि उनी रुष्ट छन्।

‘म रुकुमको मात्र होइन, नेपालको नाम राख्न चाहान्छु तर मलाई समस्या भनेको आर्थिक हो। म तपाईंहरूको सहयोग खेर जान दिनेछैन’, उनले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.