|

काठमाडौं : राष्ट्रिय महिला आयोगका सचिव अनिलकुमार ठाकुरले स्थानीय तह अझै बलियो नभएकाले महिलाका समस्या ठोस रुपमा समाधान हुन नसकेको बताएका छन्। राजधानीको गोकणेश्वर नगरपालिकामा आज लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत महिला अधिकार तथा लैङ्गिक हिंसा विषयक सचेतना कार्यक्रमलाई सम्बोधन गर्दै सचिव ठाकुरले व्यवहारिक रुपमा स्थानीय तह सशक्त हुन अझै केही समय लाग्ने बताए।

दीगो सम्मुनतिका लागि सवलीकरण नामक संस्थाले गरेको कार्यक्रममा सचिव ठाकुरले अत्यन्त चुनौतिपूर्ण समस्याको रुपमा देखा परेको महिला हिंसा अन्त्य गर्न सबैको सहयोग जरुरी भएको बताए। महिलाविरुद्ध कुनै हिंसा भएमा आयोगको हटलाइन ११४५ मा सम्पर्क गरेमा अत्यावश्यक सहयोग उपलब्ध गराइने जानकारी पनि सचिव ठाकुरले दिए।

वरिष्ठ अधिवक्ता समेत रहेकी आयोजक संस्थाकी अध्यक्ष साधना श्रेष्ठले महिलाहरु आफ्नो खुट्टामा उठन नसक्दा सम्म महिलामाथि हिंसा भइरहने बताइन्। गोकर्णेश्वर नगरपालिका वडा नम्बर ६ का अध्यक्ष रमेश अर्यालले महिला हिंसा अन्त्यका लागि आफ्नो पूरा सहयोग रहने प्रतिबद्धता जनाए।

आयोजक संस्थाका महासचिव निता ढुंगानाले संस्थाको गतिविधिबारे जानकारी दिएकी थिइन् भने शान्ति वैकल्पिक महिला विद्यालयको तर्फबाट शान्ति श्रेष्ठले महिला शशक्तिकरणको आवश्यकता बारे प्रकाश पारिन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.