|

काठमाडौं : 'आँखा छोपी नरोऊ भनी भन्नु पर्‍या छ' तीसको दशकमा बजारमा आएको लोकप्रिय, चर्चित र विवादित गीत हो। कवि तथा गीतकार कालीप्रसाद रिजालको शब्दमा रहेको यस गीतमा स्वर नारायण गोपालको रहेको छ। पंचायती व्यवस्था लागू भएको त्यसबेला यस गीतलाई प्रसारण गर्न बन्देज पनि लगाइएको रिजाल बताउँछन्। 

नारायणगोपालसँग उनको सहकार्य वि.सं. २०३१/०३२ बाट भएको सम्झना गर्छन्। तीसको दशकमा नारायणगोपालले उनका धेरै शब्दमा स्वर भरेको उनी बताउँछन्। 'गीत लेख्ने एउटा व्यक्ति भए पनि लेखाउने पक्ष धेरै हुने गर्छन्। त्यस बेलाको समय, परिस्थिति र आममान्छेको भोगाइ नै गीत लेखनका स्रोत हुन्', उनी पंचायती व्यवस्थातर्फ इंगित गर्दै भन्छन्, 'नेपालीहरूको जीवनशैलीमा आधारित रहेर मैले लेखेको हुँ तर बन्देज भयो।'

सूचना विभागको प्रमुख रहेको व्यक्तिले राज्यविरुद्ध नै विद्रोहको गीत लेख्ने भन्दै कोही विद्वानले तत्कालीन राजा वीरेन्द्रलाई रिजाललाई कारवाही गर्नुपर्छ भन्दै बिन्तीपत्र चढाएको पनि सम्झन्छन् उनी। राजाले 'आवश्यक जाँचबुझ गर्नू' भन्दै जाँचबुझ आयोगमा पत्र लेखे। पत्र सूचना तथा संचार मन्त्रालयमा पुग्यो। सञ्चार सचिव तीर्थराज तुलाधर, रेडियो नेपालमा भोग्यप्रसाद शाहलगायतले  पुन: यो गीत सुने। कारवाही गरिहाल्नुपर्ने आवश्यकता नरहेको भन्ने ठहर गरे, जसका कारण उनी कारवाहीमा परेनन्। 

रिजालका अनगिन्ती गीत र कविता कालजयी छन्। चर्चित छन्। उनका ज्वारभाटा (२०१९), रिजालका केही कविता (२०२५), यो प्रश्न कोसित सोधौँ? (२०४७), आफैँलाई हराएपछि (कवितासंग्रह, २०६१), के छ र जिन्दगी बिताइदिन्छु (कविता/गीतसंग्रह, २०३६) लगायतका कृतिहरू प्रकाशित छन्। रिजाल नेपालका थोरै त्यस्ता गीतकारमध्ये पर्छन्, जसले कम गीत लेख्छन्। रेकर्डिङ पनि कम गर्छन्। उनी भन्छन्, 'आफूले मिहिनेत गरेर लेखिएको शब्दलाई न्याय गर्न सक्नेलाई मात्र म गीत दिन्छु।'

केही दिनअघि नारायणगोपाल संगीत कोषले आयोजना गरेको नारायणगोपालको २८अौँ स्मृति दिवस कार्यक्रममा भेटिएका उनी आफ्नो पहिलो गीत  लेखन र नारायणगोपालबारे खुलेर बोले। उनी भन्दै थिए, 'नारायणगोपाल संगीतको क्षेत्रमा सगरमाथा हुनुहुन्छ।'

उनी २०१३ सालमा एसएलसी सकेर राजधानी आउनुभन्दा पहिले पनि गीत लेख्थे। गाउने पनि गर्थे। धरान, विराटनगरमा उनले धेरै पुरस्कार पनि प्राप्त गरिसकेका थिए। जब उनी राजधानी आए, आफूलाई कवितातर्फ समर्पित गरे। गीत लेखन र गायन उनले आफ्नो जिन्दगीबाट हटाइदिए। विभिन्न पेसा अँगाल्दै देशका विभिन्न भूभागमा पुगेका उनी वि.सं. २०३२ मा लोकसेवा पास गरेर सूचना विभागको महानिर्देशक भएर पुन: राजधानी आए।

जहाँ पुगे पनि उनले कविता लेखनलाई सँगसँगै बढाएका थिए। त्यस बेलासम्म उनी कविको रूपमा आफू केही हदसम्म परिचित भइसकेको पनि बताउँछन्। एक दिन सुसेली मार्दै नेपाली साहित्यको गम्भीर अध्येता पनि रहेका स्वर सम्राट नारायणगोपालले उनलाई खोज्दै उनको कार्यालयमा आइपुगे। उनी भन्छन्, 'त्यस बेला उहाँ कुनै हाकिमलाई भेट्न आउनुभएको थिएन। उहाँले  एउटा कविलाई भेट्न आउनुभएको थियो। खुसी त केमा लाग्यो भने मेरो कविता उहाँले पढ्नुहुनेरहेछ।' 

अरूका गीतमा टिप्पणी गरिरहने रिजाललाई लाग्यो- कसैको गीत होला। घरमा गएर गीत सुन्दा आफूले लेखेको गीत पो रहेछ! उनी त्यस बेलाको खुसी सम्झन्छन र मुसुक्क हाँस्दै भन्छन्, 'नारायणगोपालजीलाई मेरा गीत मनपरेछन्। त्यो मेरालागि स्वर्णिम पल थियो।'

 रिजाल पनि नारायणगोपालको स्वरको प्रशंसक थिए। एउटा चल्तीको गायक आफूलाई भेट्न आउँदा खुसीको कुनै सीमा नरहेको पनि उनी सुनाउँछन्। त्यस बखत गीत/संगीतका कुरा गर्दै जाँदा नारायणगोपालले गीत लेख्न अनुरोध गर्दै आफूले गाउने इच्छा रहेको कुरा हिजो जस्तै लाग्ने रिजालले बताए। नारायणगोपालले त्यस्तो अनुरोध गर्दा आफू अलिक हच्किएको उनले स्वीकारे। उनले नारायणगोपाललाई भनेछन्, 'हेर्नुहोस, मैले गीत लेख्न छाडेको २० वर्ष भइसक्यो। अब गीत लेख्न सक्दिनँ होला।' 

रिजालको उक्त प्रतिक्रिया सुनेका नारायणगोपालले 'तपाईंभित्र गीतको अथाह ज्ञान छ। जसरी पनि लेख्नुहोस्' भनेर निस्किएछन्। रिजाल भन्छन्, 'मप्रति उहाँको कति धेरै विश्वास रहेछ! बरु म आफैँले आफैँलाई विश्वास गर्न नसक्ने व्यक्ति रहेछु।' नारायणगोपाललाई मान्छेहरू घमण्डी भन्ने गर्छन् तर रिजाल भने उनलाई प्रतिभाको कदर गर्ने व्यक्तिका रूपमा लिन्छन्। नारायणगोपालको अनुरोधपछि उनले गीत लेखे, शनिबारको दिन। 'आँखा छोपी नरोऊ भनी भन्नुपर्‍या छ' र 'झरेको पातझैँ भयो उदास मेरो जिन्दगी।' एकैचोटि दुईवटा गीत लेखे। दुईवटा गीत लेख्नुको विशेष कारण रहेको उनी सुनाउँछन्।

उनी नारायणगोपालको विशेषतालाई उल्लेख गर्दै भन्छन्, 'उहाँ एकदमै छानेर गीत गाउने मान्छे, एउटा गीत मन नपरे अर्को मनपर्ला नि भन्ने मनस्थितिका साथ मैले दुईवटा गीत लेखेको हुँ।' गीत लेखेर उनले आफ्नो कोटको खल्तीमा हालेर बसे। यी गीतहरू नारायणगोपालले नमागिदिए पनि हुने भन्ने लागिरहेको थियो उनलाई तर एक दिन नारायणगोपाल उनलाई भेट्न पुन: आए सूचना विभागको कार्यालयमा। फटाफट गीत मागे। रिजाल त्यो दिन सम्झन्छन्, 'मलाई खल्तीबाट ती गीत दिन अप्ठ्यारो लागिरहेको थियो। यद्यपि, मैले आँट गरेर गीत दिएँ।'

नारायणगोपालले उनका दुईवटा गीत तीन-चारचोटि पढे अनि आफ्नो बाटो लागे। एक सातामा उनी पुन: रिजाललाई भेट्न आइपुगे। खल्तीमा रहेको क्यासेट दिए। अरूका गीतमा टिप्पणी गरिरहने रिजाललाई लाग्यो- कसैको गीत होला। घरमा गएर गीत सुन्दा आफूले लेखेको गीत पो रहेछ! उनी त्यस बेलाको खुसी सम्झन्छन र मुसुक्क हाँस्दै भन्छन्, 'नारायणगोपालजीलाई मेरा गीत मनपरेछन्। त्यो मेरालागि स्वर्णिम पल थियो।'

रेडियो नेपालबाट रेकर्डिङ भएर बजारमा आइसकेपछl हरेक सभा, समारोहमा पनि यही गीत गुंजिएको स्मरण गर्छन् उनी। आफैँलाई विश्वास नलागेको कुरामा नारायणगोपालले गरेको विश्वासका कारण उनी गीत लेखनमा आएको बताउँछन्। रिजालका यिनै दुई गीत नै पहिलो रेकर्डेड गीत पनि हुन्। आज आफू जुन स्थानमा छन्, यो सब नारायण गोपालको देन रहेको पनि उनले भन्न छुटाएनन्। यदि त्यो दिन नारायणगोपालले गीत लेख्न कर नगरेको भए आज नामको अगाडि गीतकार उपमा नजोडिने पनि उनले बताए। 

पढौँ उक्त गीत

आँखा छोपी नरोऊ भनी भन्नुपर्‍या छ 
मुटुमाथि ढुंगा राखी हाँस्नुपर्‍या छ

भोलि उठी कहाँ जाने केही थाहा छैन 
फर्की आउने हो कि होइन केही थाहा छैन 
बाचा छिट्टै आउँछु भनी गर्नुपर्‍या छ

छातीभरि गाउँबेँसी पखेरीको छाया 
आँखाभरि मेलापात मायालुको माया 
आफैँलाई छाडी कतै जानुपर्‍या छ

भन्ने कुरा कति थियो छातीभित्रै रह्यो 
परेलीका ओठबाट आँसु झरिरह्यो 
कुल्चिएर आफैँलाई हिँड्नु पर्‍या छ

शब्द : कालीप्रसाद रिजाल
संगीत र स्वर : नारायण गोपाल

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.