|

हेटौंडा: नेपाली फुटबलको सर्वोच्च संस्था अखिल नेपाल फुटबल संघ (एन्फा) ले मकवानपुर जिल्लाको हेटौँडामा ट्रेनिङ सेन्टर स्थापना गर्ने भएको छ। एन्फाले फिफा र एएफसीको सहयोगमा सन् २०१९ भित्रमा देशभरका विभिन्न १५ शहरमा ट्रेनिङ सेन्टर स्थापना गर्दै छ। १५ वटा ट्रेनिङ सेन्टरमध्ये हेटौँडा,पोखरा र झापा पहिलो प्राथमिकतामा राखेर काम अगाडि बढाइरहेको एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले जानकारी दिए। शेर्पाका अनुसार खेलाडी उत्पादनको अवस्था, बढ्दो शहरीकरण र फुटबलको क्रेज रहेको सहरमा उक्त ट्रेनिङ सेन्टरको स्थापना गरिनेछ।

सबै दृष्टिकोणबाट मकवानपुर उपयुक्त रहेका कारण तत्काल जग्गा लिजमा लिने प्रक्रिया अगाडि बढाउन आफूले अखिल नेपाल फुटबल संघ मकवानपुरलाई आग्रह गरेको र उक्त प्रक्रिया टुंगिएसँगै ट्रेनिङ सेन्टर निर्माणको काम अगाडि बढ्ने एन्फा अध्यक्ष शेर्पा बताए। एन्फा अध्यक्ष शेर्पाले हेटौंडाको विभिन्न स्थानमा ट्रेनिङ सेन्टरका लागि जग्गा हेरेपछि क्याम्पडाँडामा उक्त मैदान बनाउनका लागि उपयुक्त रहेको निष्कर्ष निकालेका हुन्। ‘शहरनजिकै रहेको र दैनिक खेलाडीलाई आउजाउ गर्न सजिलो हुने स्थान भएकाले क्याम्पाडाँडा नै उपयुक्त देखिएको हो।

हामीले दैनिक ८०० भन्दा बढी खेलाडीलाई प्रशिक्षण हुने गरी मैदान निर्माण गर्नेछौं। करिब आठवटा खेल मैदान बन्नेछन्,’ शेर्पाले भने। अध्यक्ष शेर्पाले आफ्नो कार्यकालमा एन्फासँग आबद्ध देशभरका ४५ वटै जिल्लामा ट्रेनिङ सेन्टर स्थापना गर्ने लक्ष्य रहेको जानकारी दिए।  हेटौंडा ५ स्थित क्याम्पडाँडाको खेल मैदानमा निर्माण हुने उक्त ट्रेनिङ सेन्टरका लागि आवश्यक आठ कठ्ठा जग्गा उपलब्ध गराउने सवपक्षीय सहमति जुटिसकेको एन्फा मकवानपुर अध्यक्ष टीकाराम लामाले बताए। उनका अनुसार टेूनिङ सेन्टर निर्माणका लागि एन्फाले ५० हजार अमेरिकी डलर उपलब्ध गराउने र बाँकी ५० हजार डलर संघले व्यवस्थापन गर्नुपर्ने हुन्छ।

एन्फाले उपलब्ध गराउने रकमबाहेक बाँकी रकमका लागि प्रदेशको सामाजिक विकास मन्त्रालय र जिल्लाका स्थानीय निकायहरू तयार रहेको लामाले बताए। उनका अनुसार मकवानपुर जिल्लाका करिब डेढ दर्जन खेलाडी अहिले पनि ए डिभिजन लिगमा व्यवसायिक फुटबल खेलिरहेका छन्। राष्ट्रिय टोलीमा आधा दर्जन मकवानपुरका खेलाडीले प्रतिनिधित्व गरिहेको र जुनियर टोलीमा सधै मकवानपुरका खेलाडी समावेश हुने गरेको अध्यक्ष लामाले बताए।

हेटौंडा ५ का वडाअध्यक्ष राजेश बानियाँले उक्त जग्गा सरकारी स्वामित्वमा रहेको र सर्वपक्षीय सर्वदलीय बैठकबाट सरकारलाई टेूनिङ सेन्टर बनाउनका लागि माग्न सकिने बताए। उनका अनुसार उक्त मैदानको संरक्षण पनि हुने र खोलाको कटान समेत रोक्न उक्त आयोजनाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए। जिल्ला खेलकुद विकास समिति मकवानपुरका उपाध्यक्ष दिपेन्द्र ढकालले मकवानपुरमा स्तरीय मैदानको धेरै पहिलेदेखि नै आवश्यक भए पनि हालसम्म उपलब्ध नभएको र अब एन्फाले बनाउने भएसँगै खेलाडी, प्रशिक्षक तथा फुटबलप्रेमीहरू खुशी भएको बताए। ढकालले वर्षेनी मकवानपुरमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता हुने गरेको भए पनि स्तरीय मैदानको अभाव भोग्न परेको समेत बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.