|

हेटौंडा : प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले कृषि र पर्यटन समृद्धिको आधार भएको बताएका छन्। पश्चिम मकवानपुरको प्रमुख व्यापारिक केन्द्र मनहरीमा शुक्रबार चौथो मनहरी महोत्सव उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले कृषि र पर्यटन व्यवसायबाटै समृद्धि खोज्नुपर्ने र त्यसका लागि सवै उत्पादनसँग जोडिन आवश्यक रहेको औंल्याएका हुन्।  

पुस २ गतेसम्म सञ्चालन हुने महोत्सवले स्थानीय उत्पादन प्रवर्द्धन टेवा पुर्‍याउने दावी उनले गरे। प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले प्रदेश सरकारले नौ महिनाको अवधिमा धेरै काम गरेको स्मरण गराउँदै अब नतिजा विस्तारै देखिन थाल्ने दावी गरे। उनले प्रदेश सरकारले धेरै काम गरेको दावी गर्दै कृषि कार्यका लागि बजेटको अभाव नहुने बताए। 

समितिका सभापति गोविन्दप्रसाद रिजालका अनुसार उद्घाटनअघि मनहरीको ८ वडा कार्यालयबाट महोत्सवस्थलमा झाँकीसहितको शोभा यात्रा निकालिएको थियो। महोत्सवमा स्थानीय उत्पादनलाई प्राथमिकता दिइएको उनले बताए। महोत्सवमा चेपाङ समुदायको जीवनशैली झल्कने घर तथा मिनी संग्रहालय व्यवस्थापन गरिएको नेपाल चेपाङ संघ मकवानपुरले जनाएको छ। यस क्षेत्रको मनहरी, राक्सिराङ र कैलाश गाउँपालिकाले आफ्ना उत्पादनको प्रवर्द्धन गर्नका लागि स्टलहरूको व्यवस्थापन गरेका छन्। यस क्षेत्रबाट उत्पादन हुने मास, गहत, तेलहन तथा माछा र तामा स्टलहरूमा राखिएको छ। 

गाउँपालिकाले महोत्सवमा पञ्चेबाजा प्रतियोगिता गर्ने भएको छ। गाउँपालिकाको आर्थिक सहयोगमा गाउँपालिका स्तरीय पञ्चेबाजा प्रतियोगिता गरिने गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले बताए। महोत्सवमा २५० वटा स्टलहरू रहेका छन्।

राष्ट्रिय तथा स्थानीय स्तरमा ख्यातिप्राप्त कलाकारले दैनिक सांस्कृतिक कार्यक्रम सञ्चालन गर्ने गरी व्यवस्थापन गरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.