|

कञ्चनपुर :  कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ५ खजुवाका अमर रतुकी जन्मजात दृष्टिविहीन हुन्।  सानो छँदा विद्यालय पढ्ने सौभाग्य नपाए पनि उनको गायन क्षेत्रमा जाने निकै ठूलो इच्छा छ। जस्तोसुकै कठिन गीत उनी सुनेकै भरमा सुरिलो भाकामा सहजै गाउन सक्छन्।

प्रतिभा भए पनि अवसर नपाइँदा घरमै बस्न उनी बाध्य भएका छन्। सानो छँदा छिमेकका बालबालिका विद्यालय जाँदा विद्यालय जाने तीव्र इन्छा थियो उनले भने, ‘दृष्टीविहीनका लागि पढ्ने ब्रेन लिपिको विद्यालय त्यसबेला भेट्टाइनँ। अब गायन क्षेत्रमा जाने इच्छा भए पनि अवसर पाउन सकेको छैन।’

अमर एक उदाहरण मात्रै हुन्। अपांगता भएका व्यक्तिहरू शारिरिक रूपमा कमजोर भए पनि मानसिक रूपमा स्वस्थ्य भएर पनि अवसर पाउन सकेका छैनन्। अपांगता भएका व्यक्तिहरू अवसरबाट वञ्चित रहेका छन्।

अवसर दिइए अपांगता भएका व्यक्तिहरुले पनि सपांग जस्तै कार्य गरेर देखाउन सक्छन् अपांग एकता समाजका अध्यक्ष हरिदत्त भट्टले भने, ‘यसका लागि अवसर दिइनुपर्छ। समावेशिताको सिद्धान्तका आधारमा अपांगता भएका व्यक्तिहरूको शिक्षा, स्वास्थ्य र रोजगार सुनिश्चित गरिनुपर्छ। दया र माया अब चाहिँदैन। केवल अवसरको खाँचो छ।’ अपांगता  भएका व्यक्तिहरूका लागि बनेका ऐन कानुन पूर्णरूपमा कार्यान्वयन नहुँदा अपांगता भएका व्यक्ति प्राथमिकताको क्रममा नपर्ने गरेको अपाङ्गताका भएका व्यक्तिहरुको अगुवाई गर्दै आएका शिक्षक तेजबहादुर सुनारले बताए। 

अपांगता भएका व्यक्तिहरूका लागि प्राथमिक तहदेखि उच्च शिक्षा ग्रहण गर्नका लागि छात्रवृत्तिको व्यवस्था गरे पनि अधिकांशले नपाएको उनको भनाइ रहेको छ। सरकारी पुराना भौतिक संरचना अपांगमैत्री थिएनन् लक्ष्मी चौधरीले भनिन्, ‘नयाँ बनेका र बन्न लागेका अधिकांश भौतिक संरचनासमेत अपांगमैत्री छैनन्। ह्वील चेयर गुडाएर सरकारी कार्यालयमा पुग्ने अपांगता भएका व्यक्तिहरु सेवाबाट वञ्चित हुने गरेका छन्।’

अपाङ्गता भएकाहरुको क्षमता अभिबृद्धि गरी रोजगारीका अवसरहरु प्राप्त गर्नका लागि तालिममा १० प्रतिशत आरक्षणको व्यवस्था गरिनुपर्ने पर्ने भए पनि त्यो व्यवस्था कागजमै सीमित भएको छ भागिराम चौधरीले भने, ‘स्थानीय तहले समेत समावेशिताको सिद्धान्तविपरीत कार्य गर्दै आएकाले अपांगता भएका व्यक्तिहरुले कानुनतः अधिकार पाउन सकेका छैनन्।’

सार्वजनिक यातायातमा ५० प्रतिशत भाडामा छुट दिने नीतिगत निर्णय भएको भएपनि यातायात व्यवसायीहरुले सो निर्णय पूर्णरूपमा कार्यान्वयन नगर्दा अपांगता भएका व्यक्तिहरूले छुट नपाउने गरेका छन् बागमती लुहारले भनिन् ‘यातायातका साधनहरूमा अपाङ्गता भएका व्यक्तिहरुलाई सिट नै नछुटयाउँदा अप्ठेरोमा पर्ने गरेका छन्।’

अपांगता भएका व्यक्तिहरूले सडकमा यातायातका साधन रोक्न खोज्दा नरोक्ने र अर्कै व्यक्तिहरुको सहायतामा सार्वजनिक यातायातका साधन रोक्न लगाएर चढनुपर्ने समस्या रहेको उनले बताइन्। सरकारले अपांगता भएका व्यक्तिहरुमध्ये अति अशक्त रातो परिचयपत्र भएका र नीलो परिचय पत्र भएकालाई सामाजिक सुरक्षा तर्फको भत्ता दिएर केही न्याय गरेको हर्क बहादुर कुँवरले बताए।

०६८ को जनगणनाअनुसार सुदूरपश्चिम प्रदेशमा शारीरिक, दृष्टि, बहिरा, मानसिक, बोलाई, श्रवण दृष्टिविहीन र बहु अपांगता गरी ६७ हजार ८३० जना अपांगता भएका व्यक्ति रहेका छन्। जसमध्ये सबैभन्दा बढी कैलालीमा १५ हजार ३७८ अपांगता भएका व्यक्ति छन्। कञ्चनपुरमा ९०७०, अछाममा ८६०२, बैतडीमा ७७८८, डडेल्धुरामा ५१५०, दार्चुलामा ३६६९, डोटीमा ७३०२, बझाङमा ४९७६,  र बाजुरामा ५८९५ अपांगता भएका व्यक्ति रहेको तथ्यांकले देखाउँछ।

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.