|

दमक (झापा) : धिमाल दमक नगरको पहिलो मानव बस्ती बसाल्ने जाति हो। विभिन्न अध्ययन र अनुसन्धानलाई आधार मान्दै दमक नगरपालिकाको पहिलो नगरसभाले धिमाल जातिलाई यहाँको पहिलो नागरिक पनि घोषणा गरेको छ तर पहिलो नागरिक घोषणा गरिएकै नगरभित्र यो समुदायको संस्कृति संग्रहालयमा सीमित हुने अवस्थामा पुगेको छ। 

यहाँको वडा- ९ स्थित चरकपारा टोलमा दुई वर्षदेखि निर्माणाधीन धिमाल संस्कृति संग्रहालय अझै अधुरो छ। परंपरागत रूपमा उपयोग हुँदै आएका गहना, बाजा, खेतीपातीका औजार, उपकरण, मूल पेसा माछा मार्ने शैली र औजार, विभिन्न सांस्कृतिक उत्सवहरूमा प्रयोग हुने पोसाकलगायतका सामग्री लोप हुँदै गएपछि सामुदायिक स्तरबाट संग्रहालय निर्माण सुरु भएको हो।

स्थानीय सरकारबाट डेढ वर्षअघि मात्रै प्रथम नागरिक घोषित धिमाल जातिको संस्कार, संस्कृतिलाई संगृहीत गर्न दुई वर्षअघिदेखि निर्माण थालिएको हो। तर अझै आधाभन्दा बढी काम गर्न बाँकी रहेको धिमाल संस्कृति संग्रहालयका अध्यक्ष लोकबहादुर धिमाल बताउँछन्। ‘नगरपालिकाले पहिलो नागरिक घोषणा गर्‍यौँ। यसले हामीलाई उत्साहित पनि बनाएको छ’, नगरपालिकाका पूर्वउपप्रमुखसमेत रहेका धिमालले भने, ‘तर हामी यसअघिदेखि नै हाम्रो पहिचान र संस्कृति संरक्षणमा लागिपरेका छौँ।’ तर आफ्नै स्राेत नहुनु र ठूलो परिमाणमा बजेट विनियोजन हुन नसक्दा निर्माण कार्य अपेक्षित रूपमा तीब्र पार्न नसकिएको उनको भनाइ छ। 

प्रदेश र संघबाट ४५ लाख

दमक- ९ मा निर्माणाधीन धिमाल साँस्कृतिक संग्रहालयलाई यस वर्ष भने प्रदेश र संघीय सरकारले ४५ लाख रुपैयाँ विनियोजन गरेका छन्। संग्रहालयमा विभिन्न संरचना निर्माणका लागि उक्त रकम विनियोजन भएको संग्रहालय समितिले जनाएको छ। समिति अध्यक्ष धिमालका अनुसार प्रदेश १ को सरकारबाट ३० लाख र संघीय सरकारबाट १५ लाख रुपैयाँ छुट्याइएको हो। संग्रहालयमा अझै धेरै संरचना बनाउनुपर्ने भएकाले उक्त रकम आवश्यक संरचना निर्माणमा खर्च गरिने उनले बताए।

हाल संग्रहालयको मूल भवन, चारवटा ग्रामथान तथा दुईवटा नमुना घरका लागि टहरा निर्माण गरिएको छ। अब थप रकमबाट १५ वटा टहरा निर्माण गरिने र तिनमा धिमाल समुदायको जन्मदेखि मृत्युसम्मका विभिन्न संस्कार झल्कने प्रतिमाहरू राखिने अध्यक्ष धिमालले बताए।

संग्रहालयको स्वरूप

निर्माणाधीन संग्रहालयमा धिमाल समुदायको जन्म, शिशु स्याहार, खेती–किसानी, माछा मार्ने चलन, हाट–बजार, विवाह, वृद्धावस्था तथा मृत्यु संस्कारसमेत झल्कने प्रतिमाहरू अलग अलग टहरामा निर्माण गर्ने जनाइएको छ। यस्तै, एक हलमा धिमाल समुदायले उपयोग गर्ने विभिन्न सामान, बाजा, खेतीका लागि चाहिने सामग्री, गहना, पोसाक, सिकार गर्ने साना हतियारलगायतका सामग्री संग्रहालय अवलोकनका लागि राख्ने समितिको योजना छ।

परिसरको मध्यभागमा एक पोखरी निर्माण गरी नगरको आकर्षक गन्तव्यको रूपमा स्थापित गर्ने लक्ष्य रहेको समितिका अध्यक्ष धिमालले बताए।

२०७३ सालबाट निर्माण सुरु गरिएको संग्रहालयमा यसअघि विभिन्न निकायबाट स्थानीयस्तरबाट आर्थिक स्राेत जुटाएर विभिन्न संरचना निर्माण थालिए पनि बजेट अभावमा अलपत्र जस्तै बनेको उक्त संग्रहालय निर्माणलाई गति दिन आफूहरू पनि सक्रिय भएर लाग्ने धिमाल जाति विकास केन्द्र झापाका सचिवसमेत रहेका दमक- ४ का वडा सदस्य मणिराज धिमालले बताए।

नयाँ पुस्तालाई नौलो

झापा र मोरङमा बाहुल्य रहेको आदिवासी धिमाल समुदायको संस्कार, सँस्कृतिका कतिपय पक्ष लोप भएको स्थानीय बताउँछन्। नयाँ पुस्ताका लागि परंपरागत सामान नौलो लाग्न थालेको र कतिपय लोपसमेत भइसकेकाले संग्रहालय आवश्यक रहेको दमक- ९ का स्थानीय सोमबहादर धिमालले बताए। ‘पुर्खाले कस्तो खान्थे। कस्तो लाउँथे। हाट बजार कसरी गर्थे? अहिलेका केटाकेटीलाई केही थाहा छैन’, उनले भने, ‘एक त भाषा पनि कम बोल्छन् हाम्रा केटाकेटी, त्यसमाथि बाजा, लुगा, चाडपर्व केहीको नाम र रूप थाहा नभएपछि हामी थर मात्रै धिमाल हुने अवस्थामा पुगिसक्यौँ।’

केही समययता समुदायको पहिचान लोप हुन नदिन स्थानीय र उपल्लो तहका सरकारले चासो देखाएपछि भने केही आशा जागेको उनले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.