|

बागलुङ : नेपाल उद्योग बाणिज्य महासंघका पुर्वअध्यक्ष चण्डीराज ढकालले कृषिलाई उत्पादनमुखी नबनाउँदासम्म आर्थिक विकास असम्भव रहेको बताएका छन्। ढकालले लाखौं युवालाई विदेश पठाएर बिदेशमै उत्पादन भइरहेका सामग्रीको प्रयोग गर्नुपर्ने बाध्यता रहँदासम्म नेपालको आर्थिक विकास हुन नसक्ने बताएका हुन्।

बागलुङ उद्योग बाणिज्य संघको ५५ औं साधारणसभा तथा १७ औं अधिवेशनको शुक्रबार बागलुङ बजारमा उद्घाटन गर्दै ढकालले सरकारले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा सुधार ल्याउन आवश्यक रहेको बताए। कृषिको उत्पादनलाई व्यवसायीक बनाउने र निर्यातमुखी उत्पादन गर्नुपर्नेमा ढकालको जोड थियो। देशमा निजी क्षेत्रले उत्पादनमा बृद्धि गर्नेगरी लगानी गर्न तयार रहेको भए पनि सरकारले तिनै तहमा कानुन निर्माण गरेर प्रष्ट बाटो दिन नसकेको ढकालको आरोप थियो।

पछिल्लो समय बैंक तथा बित्तीय क्षेत्रमा बढेको व्याजदरले नेपाली व्यवसायीलाई मर्का पर्ने भन्दै ढकालले महँगो व्याज तिरेर लगानी गर्ने र त्यसबाट उत्पादित वस्तुले विश्व बजारसँग प्रतिस्पर्धा गर्न नसक्ने धारणा राखे। सरकारले लागु गरेको सामाजिक सुरक्षा योजना मजदुरका लागि बहुउपयोगी हुँदा/हुँदै साना तथा मझौला उद्योगलाई समस्या पार्न सक्ने भन्दै ढकालले सरकारले ल्याएको कार्यक्रमका कारण उत्पादन गरिरहेका उद्योगहरू बन्द हुने अवस्था आउन नहुने बताए।

सामाजिक सुरक्षा कार्यक्रमको मुख्य चुनौती उद्योगी व्यवसायीलाई दीगो बनाउनु र तत्काल कार्यक्रम सुरुवात गर्दा आवश्यक पर्ने बजेटको व्यवस्थापन गर्नुपर्ने भएकाले सरकारले त्यसतर्फ ध्यान दिनुपर्नेमा उनले जोड दिए। नेपालमा कठिन परिस्थिति आउँदा समेत उद्योगी व्यवसायीले आफ्नो कर्मलाई निरन्तरता दिएको स्मरण गर्दै ढकालले राज्य र निजी क्षेत्रको सहकार्य आवश्यक रहेको बताए। देशको अर्थतन्त्रलाई चलायमान बनाउनका लागि निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने उनको भनाई थियो।

उद्योग बाणज्य संघ बागलुङको अधिवेशनलाई लक्षित गर्दै ढकालले उद्योगी व्यवसायी कुनै दल तथा संगठन निकट भन्दामाथि उठेर सबैको साझा हुनुपर्नेमा जोड दिए। उद्योग बाणिज्य संघको निर्वाचनका बेला उद्योगी व्यवसायी पनि पार्टीका भातृ संगठनको जस्तै व्यवसायिक संगठन बनाएर आउन नहुनेमा उनको जोड थियो। निजी क्षेत्र फाइदाका लागि लगानी गर्ने क्षेत्र भएकाले जिल्लामा भएका सम्भावनाको पहिचान गरी समयको मागअनुसार व्यवसायीले लगानी गर्नुपर्नेमा ढकालले जोड दिए।

कार्यक्रममा बोल्दै प्रतिनिधिसभा सदस्य ज्ञानकुमारी छन्त्यालले बागलुङ उद्योग बाणिज्य संघको आगामी नेतृत्वले व्यवसायीको हितमा काम गर्नुपर्नेमा जोड दिइन्। गण्डकी प्रदेशका सदस्य इन्द्रलाल सापकोटाले देशका तिनै तहका सरकार र निजी क्षेत्रको सहकार्यमा आर्थिक तथा भौतिक विकासका क्रियाकलाप सञ्चालन हुनुपर्ने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.