|

काठमाडौं : नेपाली कांग्रेसको विधान मस्यौदामाथि छलफल सुस्त गतिमा अघि बढेको छ। महासमिति बैठक आउन एक साता मात्र बाँकी रहँदा पनि पार्टी केन्द्रीय समितिमा जारी छलफलले गति लिन नसकेको हो। 

गत मंसिर १३ गतेदेखि निरन्तर छलफलमा रहेको विधान मस्यौदामाथि अहिले पनि दुई दर्जन बढी केन्द्रीय सदस्यले धारणा राख्न बाँकी रहेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। महासमिति बैठक मंसिर २८ गतेदेखि पुस ३ गतेसम्म बस्ने तय भएको छ। महासमिति बैठकले अहिले केन्द्रीय समितिमा छलफल भइरहेको विधान मस्यौदालाई पारित गर्नेछ। 

उक्त विधान महासमितिसम्म पुग्न कांग्रेस केन्द्रीय समितिले पहिला पारित गर्नुपर्ने हुन्छ। गुटगत विवादमा फसेको कांग्रेसमा सर्वसम्मत विधान पारित हुने संभावना निकै कम छ। केन्द्रीय समितिबाट विधान पारित गर्नका लागि केन्द्रीय समितिमा सभापतिले बहुमत सदस्यको साथ लिनुपर्ने हुन्छ। सभापति देउवाको पक्षमा बहुमत पनि छ। त्यस कारण उनले बहुमतको बलमा भए पनि विधान महासमितिसम्म लैजान सक्छन्। महासमितिबाट पारित गर्न भने दुई तिहाई बहुमत आवश्यक पर्छ। महासमितिमा यो दुई तिहाई मत जुटाउने देउवालाई हम्मेहम्मे पर्छ। 

तर पार्टीमा एक साताभन्दा लामो समयदेखि छलफलमा रहेको विधान मस्यौदामा अझै सदस्यहरूले धारणा राख्ने क्रम नसक्दा महासमितिलाई असर पर्ने देखिएको छ। ‘अहिले पनि धेरै सुस्त गतिमा धारणा राख्ने क्रम छ’, एक केन्द्रीय सदस्यले भने, ‘महासमिति बैठक आउन अब एक साता पनि छैन। यस्तो अवस्थामा यसै भन्न सक्ने अवस्था छैन।’

विधान मस्यौदा समितिमा छलफल गर्न अझै कम्तीमा पनि दुई दिन आवश्यक पर्छ। समयमा महासमिति बैठक सक्नुपर्ने भन्दै सभापति शेरबहादुर देउवा केही दिनअघि छलफललाई छोट्याउन निर्देशन दिएका थिए। उनले १० मिनेट मात्र धारणा राख्न सबै केन्द्रीय सदस्यलाई निर्देशन दिए तर केन्द्रीय सदस्यहरूले भने उनको निर्देशनलाई चुनौती दिँदै बोल्न आधा घण्टा बढी समय खर्चिरहेका छन् तर पनि उनी धैर्य भएर बैठकमा बसिरहेका छन्। 

देउवालाई बेलाबेला अस्थिर नेताको आरोप लाग्ने गरेको छ। उनी आफ्नो आलोचना र कसैले गरेको लामो भाषण सुन्न सक्दैनन्। तर यस पटक भने पूर्ण रूपमा देउवा बैठकमा बसेर सबैको धारणा सुनिरहेका छन्।  ‘यस पटक सभापतिले धर्य र चासोका साथ सबैका कुरा सुनिरहनुभएको छ’, केन्द्रीय सदस्य जीवन परियारले भने, ‘सुन्ने ठाउँमा पुगेर होला सबैका कुरालाई ध्यान दिनुभएको छ।’ 

बैठकमा कतिपय विषयमा संस्थापन समूह र असन्तुष्ट समूहबीच एक मत छैन। यसले पनि बैठक लम्बिन सक्ने नेताहरू बताउँछन्। संस्थापनइतर समूह सभापतिको अधिकार, पदाधिकारी, सदस्यतालगायत विषयमा असन्तुष्ट छन्। बैठकमा आएका सबैको धारणालाई समेटर विधान मस्यौदामा पुनः समावेश गर्दै महासमितिमा पेस गर्नुपर्ने हुन्छ।

विधान मस्यौदा, राजनीतिक प्रस्ताव, समग्र आर्थिक नीति, सांगठनिक नीतिलगायत महासमितिमा पेस हुने कागजात छपाइका लागि पनि केही दिन लाग्छ। विधान मस्यौदामाथि अझै केही दिन बहस चल्ने भएकाले आर्थिक र राजनीतिक प्रस्तावले विषय प्रवेश नै नपाएको कांग्रेसका एक केन्द्रीय सदस्य बताउँछन्। ‘विधानमै छलफल सकिएको छैन। निकै सुस्त गतिमा छलफल भइरहेको छ’, एक केन्द्रीय सदस्यले भने, ‘अहिलेको अवस्था देखेर महासमितिका बारेमा केही भनिहाल्ने अवस्था छैन।’ 

तर केन्द्रीय सदस्य मीन विश्वकर्माले भने अब महासमिति बैठक सर्ने संभावना नरहेको दाबी गरे। ‘बैठकले महासमितिलाई त असर गरेकै छ। जति तामझामका साथ गर्ने थियौँ, बैठकमा केन्द्रित भएकाले त्यो नसकिने भइयो’, उनले भने, ‘तर भौतिक रूपले राम्रो गर्न नसके पनि प्राविधिक रूपले राम्रो महासमिति बैठक गर्छौं। कुनै हालतमा बैठक सार्दैनौँ।’

पार्टी सहमहान्त्री डा. प्रकाशशरण महतको संयोजकत्वमा रहेको पार्टीको समग्र आर्थिक नीति बैठकमा पेस भएको छ। यद्यपि, छलफलमा भने प्रवेश भएको छैन। उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा रहेको राजनीतिक प्रस्ताव मस्यौदा समितिले अझै मस्यौदा केन्द्रीय समितिमा बुझाउन सकेको छैन। समितिका सदस्यबीच देखिएको मतभेदका कारण राजनीतिक प्रस्ताव पेस हुन नसकेको स्रोतले बताएको छ।

समितिले सहमतिका लागि शुक्रबार पनि लामो प्रयास गर्‍यो। निधिले शुक्रबार उक्त प्रतिवेदन बैठकमा पेस गर्ने तयारी गरेका थिए तर संस्थापन र असन्तुष्ट समूह एक मत हुन नसकेपछि प्रतिवेदन मस्यौदाले आन्तिम रूप पाएन। आइतबार बैठकमा प्रस्तुत गर्न उपसभापति निधिले राजनीतिक प्रस्ताव समितिको बैठक बोलाएका छन्। 

उक्त प्रस्तावलाई केन्द्रीय समिति बैठकमा पेस गरेपछि पनि छलफलमा समय लाग्न सक्ने केन्द्रीय सदस्य धनराज गुरुङ बताउँछन्। ‘आर्थिक नीतिको मस्यौदामा त्यति धेरै समय नलाग्ला’, गुरुङले भने, ‘तर राजनीति प्रस्तावको मस्यौदामा समय लाग्न सक्छ।’ आइतबार राजनीतिक दस्तावेज बैठकमा प्रस्तुत हुने प्रवक्ता शर्माले बताए। 

तर प्रवक्ता शर्मा भने समयमै महासमिति बैठक बस्ने दाबी गर्छन्। उनले महासमिति सदस्यहरू २८ गते काठमाडौं आइपुग्ने र केन्द्रीय कार्यालयमा स्वागत गरिने बताए। तर विधान मस्यौदाको छलफलका लागि पार्टी केन्द्रीय समितिमा भइरहेको छलफलले बैठक नसर्ने उनले दाबी गरे। ‘यसरी सिलसिलेबार ढंगबाट बैठक व्यवस्थित र विस्तृत गर्दै समयमै महासमिति बैठक कांग्रेसले गर्छ’, उनले भने, ‘लामो समय लिएर बैठक गरेका छौँ। यसले महासमितिलाई सफल ढंगले सम्पन्न गर्न प्रभाव पार्छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.