|

जनकपुरधाम : प्रदेश २ को मुख्यमन्त्री मो. लालबाबु राउत गद्दीले विकास र समृद्धिको मुद्दामा स्थानीय तहलाई हातेमालो गरेर अघि बढ्नुपर्ने बताएका छन्। मुख्यमन्त्री राउतले विकास निर्माणको मुख्य केन्द्र विन्दू स्थानीय तह नै रहेको र स्थानीय तहमा विकासो मुल फुटाउन प्रदेश सरकारसँग हातेमालो गरेर अघि बढनुपर्ने बताएका हुन्।

धनुषाको उत्तरी क्षेत्र लालगढमा आयोजित गाउँपालिका राष्ट्रिय महासंघको प्रदेश २ स्तरीय प्रथम प्रदेश अधिवेशनको उद्दघाटन सत्रमा मुख्यमन्त्री राउतले स्थानीय तहका जनप्रतिनिधिलाई दलगत प्रवृतिबाट माथि उठेर देश र जनताको सेवामा जुट्नुपर्ने बताए। उनले इमान्दारिताका साथ विकास निर्माणको कार्यमा लाग्न आग्रह गर्दै सबैले स्थानीय निकाय तथा प्रदेश र संघ सरकारले हातेमालो गरेर विकास निर्माणमा जुट्न आग्रह गरेका छन्।

मुख्यमन्त्री राउतले स्थानीय तहमा रहेका समस्या समाधानको लागि पनि प्रदेश र स्थानीय तहबीचको समन्वय आवश्यक रहेको बताउँदै नेपालको संघीयता नै सहकार्यमा आधारित रहेकोले संघीय, प्रदेश र स्थानीय तहबीचको सहकार्य नभई नहुने पाटो भएको बताए। भ्रष्टाचारको अत्यधिक प्रचार प्रसार भएको प्रदेश २ मा भ्रष्टाचार नियन्त्रणमा जोड दिन समेत आग्रह गरे। उनले भने, ‘यो प्रदेश देशमै धेरै बदनाम भइसकेको छ। भ्रष्टाचारमा लिप्त छ भनी प्रचार प्रसार गरिँदैछ। कतिपय सत्य पनि छन् त्यसैले बदनामीबाट जोगाउन भ्रष्टाचार न्यूनीकरणमा पनि यहाँहरूले सकारात्मक भूमिका खेल्नु हुन्छ भने मलाई विश्वास छ।’

मुख्यमन्त्री राउतले प्रदेश सरकार भ्रष्टाचार न्यूनीकरणका लागि स्वशासन ऐन प्रदेशसभामा दर्ता गराई सकेको बताउँदै स्वशासन ऐन पारित भए लगतै भ्रष्टाचारीहरू कानुनको पकडमा आउनेतर्फ सचेत गराए। गाउँपालिका राष्ट्रिय महासंघका प्रदेश संयोजक विजय चौरसीयाको अध्यक्षतामा भएको उद्दघाटन सत्रमा वन, उद्योग तथा पर्यटन राज्यमन्त्री सुरेश मण्डल, नेपाली कांग्रेस संसदीय दलका नेता राम सरोज यादव, नेकपा नेता एवं प्रदेशसभा सदस्य सत्रुधन महतो सहितका वक्ताहरूले सम्बोधन गरेका थिए।

प्रदेश अन्तर्गतका ५९ गाउँपालिका प्रतिनिधिको सहभागिता रहेको अधिवेशन नयाँ नेतृत्व चयन गर्दै २२ गते सम्पन्न हुने जनाइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.