|

पोखरा : फापर फुल्ने समय भनेको भदौ\असोजको महिना हो। यो समय कोही मान्छे कालगतिले मरिहाल्यो भने जलाउँन पाइँदैन। गाड्न त झन हुँदै हुँदैन। यो परम्परा हो मुस्ताङको।

मुस्ताङको पनि घरपजोङ गाउँपालिको ठिनी, मार्फा, स्याङ गाउँमा फापर फुलेको समयमा कोही मान्छेको मृत्यु भयोर जलायो भने अनिष्ट हुने स्थानीयको आस्था छ।

‘धेरै वर्ष पुरानो रीति हो’, मुस्ताङको ठिनी क्षेत्रबाटै निर्वाचित भएका प्रदेशसभा सदस्य महेन्द्र थकालीले भने, ‘एक वर्ष फापर फलेको सिजनमा गाउँमा मान्छे मरेछ। त्यो वर्ष आँधिहुरी असाध्यै आएर विपद् नै निम्त्यो रे! त्यसबेलादेखि लामाहरूले यस्तो नियम बसालेको भनेर बूढापाकाले भन्छ। पहिले जोमसोममा पनि यही नियम थियो। यहाँ विस्तारै हट्दैछ।’

ठिनी, स्याङ र मार्फामा यो परम्परा अहिले पनि कायम छ। ‘बारीमा फापर फुलेको बेला कोही मरिहाल्यो भने तुसारो पनि पर्छ भन्छ’, उनले भने, ‘त्यस्तो बेला मान्छे मर्दा कालीगण्डकीको किनारमा लगेर टुक्रा–टुक्रा बनाएर काटिन्छ। अनि कोही गिद्धलाई दिने कोही त्यहीँ छोडेर आउने गरिन्छ।’
त्योबेला मृत्यु भएकको मान्छे काट्न पनि लामाले मान्छे तोक्छन्। थकालीका अनुसार शव काट्न अरू हतियारको प्रयोग गर्न पाइँदैन बञ्चरोले नै काट्नुपर्छ। मुस्ताङीहरूको मुख्य अन्नबाली नै फापर हो। 

फापर फुुलेको समयमा शव जलाए शवको धुवाँले फापर मर्ने जनविश्वास पनि छ। आफन्तको शव गिद्धलाइ खुवाउन पाउँदा परिवार पनि खुसी हुने अर्का स्थानीय भूपेन लालचनले जानकारी दिए। मुस्ताङको यो क्षेत्रमा यस्तो परम्परा बसेको एक शतकभन्दा धेरै समय भइसकेको थकाली बताउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.