|

 दुनै(डोल्पा) : डोल्पाका सातवटा स्थानीय तहमा भरपर्दो इन्टरनेट सुविधा छैन। आठवटा स्थानीय तहमध्ये ठूलीभेरी नगरपालिकाबाहेक त्रिपुरा सुन्दरी नगरपालिका, मुड्केचुला, जगदुल्ला, काइके, डोल्पो बुद्ध, छार्काताङसोङ् र शे–फोक्सुन्डो गाउँपालिका इन्टरनेटको सुविधाबाट वञ्चित छन्।

भरपर्दो एडिएसएल इन्टरनेट सुविधा नभएकै कारण इन्टरनेटबाट गर्नुपर्ने सरकारी कामकाजसमेत ठप्प भएको विभिन्न स्थानीय तहले जनाएका छन्। 'आजभोलि घरमै बसेर एक कल कुरा गर्न पाइँदैन्, घरमै बसेर इन्टरनेट चलाउने कुरा उपल्लो डोल्पावासीका लागि यस जुनीमा सम्भव छ जस्तो लाग्दैन्' शे–फोक्सुन्डो गाउँपालिकाका स्थानीय निमा गुरुङले भने।

जटिल प्रकारका बिरामीलाई गाउँबाटै हेलिकोप्टर बोलाएर उपचारका लागि सहरका अस्पतालमा लैजाऊँ भन्दा भरपर्दो टेलिफोन सुविधा नभएका कारण दर्जनौँ जनताले ज्यान गुमाइसकेको गुरुङले गुनासो गरे। 'हामीलाई तत्काल इन्टरनेट होइन टेलिफोन टावरको आवश्यकता छ, हाम्रो आवाज सरकारले सुन्छ भने उपल्लो डोल्पाका विकट गाउँबस्तीमा टेलिफोन टावर राखिदियोस्।'

नगरपालिकामा इन्टरनेट सुविधा नहुँदा विभिन्न गतिविधि वेभसाइटमा प्रकाशन गर्न समस्या हुने गरेका त्रिपुरा सुन्दरी नगरपालिकाका आइटी इन्जिनियर हेमन्त बोहोराले बताए। 'नगरपालिकाकै कार्यालयमा टेलिफोन छैन्, इन्टरनेटको कुरा छोडौँ' त्रिपुरा सुन्दरी नगरपालिकाका निमित्त प्रशासकीय अधिकृत नेत्रराज गिरीले भने। 'इन्टरेनट सुविधा नभएकै कारण पञ्जीकरणसम्बन्धी कार्यहरु ठप्प हुनुका साथै, एकप्रति फ्याक्स, इमेल गर्न पनि सदरमुकाम धाउनुपर्ने स्थिति अझै छ।'

आजको युग इन्टरनेटको युग भए पनि स्थानीय सरकारकै पहलमा जनतालाई इन्टरनेट सेवा उपलब्ध गराउनुको सट्टा आफैँ टेलिफोन र इन्टरनेट सुविधाविहीन हुनु दुखको कुरा भएको त्रिपुरा सुन्दरी नगरपालिका १ का स्थानीय कालुप्रसाद हमालले बताए। जिल्लाका एक नगरपालिका र ६ वटा गाउँपालिकाको आधिकारिक सम्पर्क नम्‍बरसमेत छैन। कार्यालयमा सम्पर्क गर्नका लागि आधिकारिक सम्पर्क नम्‍बर नहुँदा नगरपालिकाबाट उपलब्ध हुने विभिन्न सेवासम्बन्धी जानकारी लिन समस्या हुने गरेको सेवाग्राहीको गुनासो छ। ठूलीभेरी नगरपालिकाको केन्द्र जुफाल र सदरमुकाम दुनैमा भने एडिएसएल इन्टरनेट सेवा र लेनलाइन फोनको राम्रो सुविधा रहेको बताइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.