कलंकी-नागढुंगा सडक सम्पन्न गर्न जेठ लाग्‍ने

|

काठमाडौं : भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले राजधानी भित्रिने नाकाबाट आएको धुलोका कारण महानगर थप फोहोर भएको बताएका छन्।

उनले जेठ मसान्तसम्म कलंकी-नागढुंगा सडक सम्पन्न गर्ने र यो सबै ठीक हुने दाबी गरेका छन्। काठमाडौं महानगरपालिकाको 'सहरी सौन्दर्य प्रवर्द्धन सघाउ अभियान'को शनिबार शुभारम्भ गर्दै मन्त्री महासेठले आगामी जेठ मसान्तसम्म कलंकी-नागढुंगा बाटो निर्माणकार्य सम्पन्न भइसक्ने दाबी गरे।

'म तपाईंहरूसँग जेठ मसान्तसम्मको समय माग्छु। त्यो बेलासम्ममा कलंकी–नागढुंगाको बाटो पनि बनिसक्नेछ।' उनले भने, 'त्यतिबेलासम्म काठमाडौँ महानगरपालिका र हामी मिलर आवश्यक पर्‍यो भने प्रदेश सरकारसँग पनि साथ लिएर महानगरपालिका सफा गर्नेछौँ। यो मेरो प्रतिबद्धता पनि हो।'

मन्त्री महासेठले भित्री र बाहिरी दुवै सडकलाई व्यवस्थित बनाए मात्र परिणाम प्राप्त हुने भन्दै मौसम प्रतिकूलताले कलंकी नागढुंगा सडक निर्माण भइनसकेकोले धुँवा धुलो नियन्त्रणमा समस्या  भएको बताए। काठमाडौं महानगरपालिकाले रात–दिन नभनी सरसफाइ अभियानलाई निरन्तरता दिएको भन्दै खुसी व्यक्त गर्दै मन्त्री महासेठले मन्त्रालयको पनि साथ र सहयोग निरन्तर रहनेसमेत बताए। 

काठमाडौं महानगरपालिकाको उक्त अभियानलाई लक्षित गर्दै उनले भने, 'महानगरपालिकाले रातो–दिन काम गरिरहेको छ। तर, अहिले बन्दै गरेका भौतिक संरचना र त्यसका निर्माण सामाग्री जथाभावी मिल्काउँदा सहरको सौन्द‍र्यकरण बढाउन केही समस्या भएको छ।'

यसैगरी कार्यक्रममा बोल्नै काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौंको मुख्य क्षेत्रका भौतिक संरचना निर्माणलाई जोड दिएको बताए। 'सहरी सौन्दर्यीकरण बढाउन यो अभियानलाई निरन्तरता दिने तयारी गरेका छौं', शाक्यले भने, 'अहिले धरहरा, दरवारहाइस्कुल, वीर अस्पताल र रत्नपार्कमा ठूला–ठूला भौतिक संरचना निर्माण भैरहेका छन्। यी संरचनाका लागि आवश्यक निर्माण सामाग्री ढुवानी गर्ने साधनले जथाभावी धुलो, गिट्टी, बालुवा नझार्ने हो र ठेकेदारहरुले पनि यति कुरामा मात्रै ध्यान दिने हो भने महानगर सफा राख्ने हाम्रो अभियान धेरै हदसम्म सफल हुने थियो।'

अहिले पनि निरन्तररूपमा महानगर सुन्दर बनाउने अभियानमा जुटेको भन्दै उनले थप पाँचवटा  ब्रुमर निकट भविष्यमै आउने तयारीमा रहेको बताए। आफू निर्वाचित भएर आएको अवस्थाको भन्दा अहिले विस्तारै महानगरपालिका धुलोमुक्त हुँदै गएको दाबी गर्दै प्रमुख शाक्यले अब अझ सुन्दर र सफा महानगर हुने दाबी गरे। अहिले पनि चाहेको जति काम हुन नसकेको भन्दै यसरी सरसफाइ गर्ने कामलाई महानगरपालिकाले नियमित रूपमा अघि बढाउने उनले बताए।

यसैगरी महानगरकी उपप्रमुख हरिप्रभा खड्कीले विकास जादुको निरन्तरता दिएको बताए। काठमाडौं महानगरपालिकाले मंसिर ८ गतेदेखि सुरु गरेको अभियानलाई अब निरन्तरता दिने बताउँदै उनले विकास दाजुको छडीजस्तो नभएको बताइन। महानगरपालिका सरसफाइ अभियानमा जुटेको उनले दाबी गरिन्।

शनिबार दुई चरणमा सरसफाइ अभियान सञ्चालन गरिएको थियो। शान्तिवाटिकाबाट मन्त्री महासेठ, महानगर प्रमुख शाक्य र उपप्रमुख हरिप्रभा खड्कीले सरसफाइ अभियानको सुरुवात गरेका थिए। त्यहाँबाट सुरु भएको अभियान भोटाहिटी, जमल हुँदै महाराजगञ्जतिर अघि बढेको थियो। दोस्रो चरणको अभियान महाराजगञ्जबाट  शिक्षण हस्‍पताल हुँदै लाजिम्पाटतर्फ आएको थियो। 

यस क्रममा सडकपेटीमा रहेका र्‍याम्प हटाएर सडकको ढल तथा साइट ड्रेन जेट मेसिनले सफा गर्ने, अव्यवस्थित रूपमा रहेका केवल, विद्युत्, टेलिफोन तथा केवलका पोल तथा तार, खानेपानीका पाइप, निर्माणजन्य फोहोर हटाउने, सडकमा मार्किङ गर्ने तथा मर्मत गर्ने काम भएका थिए। सफाइका लागि ५ वटा जेट, २ वटा ब्रमुर, २ वटा स्काभेटर र ३ वटा फोहोर संकलन गर्ने सवारीसाधनको प्रयोग गरिएको थियो। काठमाडौं महानगरपालिकाले मंसिर ८ गतेदेखि सुरु गरेको अभियानलाई अब निरन्तरता दिने बताएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.