|

बैतडी : सीमा क्षेत्रमा शान्ति सुरक्षा कायम गर्ने, सीमारक्षा गर्ने उद्देश्यसहित बैतडीमा आएको सशस्त्र प्रहरी बल बिगत ३ महिनादेखि सदरमुकाममै बसेको छ। गत असोजमा आएको सशस्त्र प्रहरी बलको गुल्म नेपाल-भारत सीमा नाका झुलाघाटमा नगई सदरमुकाम गढीमा स्थापना भएको हो।  

नेपाल सरकारले सबै जिल्लामा सशस्त्र प्रहरी बलको उपस्थिति गराउने निर्णयानुसार बैतडीमा पहिलो पटक सशस्त्र प्रहरी बलको गुल्म स्थापना भएको हो। शान्ति सुरक्षा र सीमा अपराध न्यूनीकरणका लागि भन्दै सशस्त्र प्रहरी बल नेपाल, गुल्म हेडक्वाटर नं ५१ कार्यालय रुपमा गुल्म सदरमुकामम मै रहेको छ। सशस्त्र प्रहरीको  सुदूरपश्चिम क्षेत्रीय कार्यालयवाट सीमामा बस्नको लागी अनुमति दिन ढिलाइ हुँदा सदरमुकाममै बसेको सशस्त्र प्रहरी नायव उपरीक्षक दुर्गादत्त पन्तले जानकारी दिए।  

सुरुका केही दिन झुलाघाटमा बस्नको लागी घर नमिलेको र केही दिन अगाडि घर मिलिसकेको छ। उनले भने, 'क्षेत्रले अनुमती दिनासाथ सीमामा जान्छौं।' अर्को व्यवस्था नहुँदासम्मको लागी भनेर  सशस्त्र प्रहरी अहिले साविकको डिभिजन सहकारी कार्यालय र साविकको जिल्ला कृषि विकास कार्यालयको भवनमा बसिरहेको छ। सरकारले गत साउनमा सबै जिल्लामा सशस्त्र प्रहरी बलको उपस्थिति गराउने निर्णयानुसार जिल्लास्तरीय कार्यालयको रूपमा सदरमुकामस्थित गढीमा गुल्म हेडक्वाटरको नं ५१ कार्यालय स्थापना भएको छ। 

गुल्मले जिल्लामा शान्ति सुरक्षा कायम गर्नका लागि अन्य सुरक्षा निकायहरूसँग मिलेर काम गर्ने सशस्त्र प्रहरी नायव उपरीक्षक दुर्गादत्त पन्तले बताए। गुल्ममा तत्कालका लागि सशस्त्र प्रहरी नायव उपरीक्षकको नेतृत्वमा १६० जनशक्ति रहने भएको छ। कार्यालय स्थापना भएसँगै समुदायमा शान्ति स्थापनार्थ गस्ती, हूल दंगा नियन्त्रण, विपद् व्यवस्थापन, लागुऔषधलगायत अवैध सामग्री नियन्त्रण, चोरी निकासी, पैठारी र शान्ति सुरक्षा मजबुत बनाउने जस्ता काममा आफूहरू सक्रिय रहेको जनाएको छ।  

सीमा क्षेत्रमा शान्ति सुरक्षा कायम गर्ने, सीमारक्षा गर्ने उद्देश्यसहित सशस्त्र प्रहरीको गुल्म स्थापना भएको गुल्मले सीमा क्षेत्रको रक्षाको म्याडेड पनि सशस्त्र प्रहरीले पाएकाले केही दिनमै सीमा क्षेत्रमा सशस्त्र प्रहरी खटिने प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरेले बताए। भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा सशस्त्र प्रहरी बलको क्याम्प राख्ने तयारी भएको  जिल्ला समन्वय समिति बैतडीका प्रमुख सिद्धराज भट्टले जानकारी दिए।

सीमा सुरक्षाका लागि सशस्त्र प्रहरीलाई तैनाथ गराउने तयारी भएको उनले बताए। सीमा नाकामा सशस्त्र प्रहरी खटाउनका लागि सशस्त्र प्रहरी र जिल्ला समन्वय समितिको टोलीले सीमा नाकाको निरीक्षण समेत गरिसकेको छ।

सीमा क्षेत्रमा चोरीपैठारी तथा सीमा क्षेत्रमा अापराधिक घटना हुने भएकोले सशस्त्र प्रहरीको गुल्म सदरमुकाममा नभई सीमा क्षेत्रमा गुल्म जानपर्ने जनगुनासो बढ्दै गएको छ। यसका साथै सीमामा नेपाली नागरिकमाथि हुन सक्ने दुर्व्यवहारलाई न्यूनीकरण गर्ने, सीमाको सुरक्षा अवस्थालाई बलियो बनाउने उद्देश्यसहित झुलाघाटमा सशस्त्र प्रहरी परिचालन गर्न आवश्यक छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.