नम्बरी जग्गा भए खाली गराउँछौँ : नगर प्रमुख कार्की

|

जनकपुरधाम : महोत्तरीको बर्दिबास नगरपालिका ९ पशुपतिनगरमा ५ बिघा लालपुर्जा भएको निजी जग्गा नेपाली सेनाले आफ्नो कब्जामा लिएको आरोप लागेको छ। प्रदेश २ को नेपाली सेनाको पूर्वी पृतना मातहतको श्री नं. २ युद्धकवच गुल्म किसाननगरका जवानले स्थानीय बासिन्दाको नम्बरी जग्गामा पिलर गाडेर कब्जा गरेको स्थानीयवासीले आरोप लगाएका हुन्।

स्थानीयले लालपुर्जा देखाए पनि नेपाली सेनाले ५ बिघा नम्बरी जग्गामा पिलर गाडेको पीडित किसान जोगेन्द्र महतोले जनाए। महतोले भने, ‘हामीले यो जग्गा ५० औं वर्षदेखि भोगचलन गर्दै आएका हौँ। अहिले आएर नेपाली सेनाले जबरजस्ती पिलर गाडेको छ। हामीले भन्दा टेर्दैनन्, उनीहरू राति, दिउँसो जतिबेला मन लाग्यो सयौँको संख्यामा आएर पिलर गाड्छन्। तर हाम्रो कुरा मान्दै मान्दैनन्।’

स्थानीय घुरन महतोले सितली देबी महतोको २ बिघा, रामप्रताप साहको १ बिघा ५ कठ्ठा, रामसोगारथ महतोको १६ कठ्ठा, जोगेन्द्र महतोको ६ कठ्ठा, रेखादेवी यादवको २ कठ्ठा, नवल महतोको ४ कठ्ठा जग्गामा सेनाले जबरजस्ती पिलर गाडेको बताए। 

पुर्खौंदेखि किसाननगरका स्थानीय किसानले जोतभोग गर्दै आएको सोही स्थानको २८२ बिघा जग्गाको लालपुर्जा स्थानीयले माग गर्दै आएको समयमा ऐलानी जग्गामा प्रदेश २ को पृतना स्थापनाका लागि सरकारबाट हस्तान्तरण गरिएको थियो। हस्तान्तरणपछि नेपाली सेनाको पृतना स्थापनाको क्रममै हाल स्थानीय किसानको जग्गामा सेनाले पिलर गाडेको हो।   

नम्बरी जग्गा भए खाली गराउँछौँ : नगर प्रमुख कार्की

यता, आफूहरूको नम्बरी जग्गामा सेनाले पिलर गाडेको बर्दिबास नगरपालिकाका प्रमुख विदुर कार्कीलाई जानकारी गराउँदासमेत कुनै सुनवाइ नभएको पीडित रामसोगारथ महतोले दुःखेसो पोखे। उनले भने, ‘हामीले प्रमुख साब'लाई भन्यौँ आज आउँछु। निरीक्षण गर्न भोलि आउँछु भन्दै हुनुहुन्छ। तर, हालसम्म एकपटक पनि आउनुभएको छैन।’

बर्दिबास नगरपालिकाका नगर प्रमुख कार्कीले नेपाली सेनाले फुटबल ग्राउण्डका लागि ऐलानी जग्गाको आफूसँग स्वीकृति मागे पनि कसैको नम्बरी जग्गामा कब्जा गर्न नपाइने र गरेको भए त्यसलाई हटाउन लगाइने बताए। उनले भने, ‘मैले पनि साथीहरूबाट घटनाको बारेमा थाहा पाएँ। नम्बरी जग्गाका स्थानीयलाई अफिसमा लालपुर्जा लिएर सम्पर्क गर्न पनि भनेको छु। तर, उहाँ सम्पर्कमा आउनुभएको छैन। यदि त्यस्तो रहेको भने हामी सेनासँग त्यो जग्गा खाली गर्न लाउँछौँ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.