|

हेटौंडा : प्रदेशस्तरीय ब्‍याडमिन्टन प्रतियोगिता–२०७५ शनिबार हेटौँडामा सम्पन्न भएको छ। हेटौंडा–११ स्थित थानाभर्‍याङमा नवनिर्मित बहुउद्देश्यीय कभर्ड हलमा सम्पन्न भएको प्रतियोगितामा खुला पुरुषतर्फ डबल्सको उपाधि काठमाडौंका इन्द्र मेहेता र महेन्द्र ढकाल तथा भेट्रान्स पुरुष भेट्रान्सको उपाधि हेटौंडाका बुद्धि चौधरी र विष्णु अधिकारीले जितेका छन् । 
खुलापुरुषतर्फ मेहेता र ढकालको जोडीले किरण लामा र निश्चल बस्नेत चितवनको जोडीलाई  १६–२१, २४–२२ र २१–११ तथा भेट्रान्सतर्फ चौधरी र अधिकारीको जोडीले वीरगञ्जका नरेश कायस्त र सरोजराज श्रेष्ठको जोडीलाई १७–२१, २१–१८ र २४–२२ को सेटमा पराजित गर्दै च्याम्पियन भएको हो। उपाधिसँगै विजेताले नगद ५० हजार रुपैयाँ, 

उपविजेताले नगद ३० हजार रुपैयाँ र सेमिफाइनलमा पुग्ने जोडीले २० हजार रुपैयाँ प्राप्त गरे।  मंसिर १९ गतेबाट सुरु भएको प्रतियोगितामा विभिन्न जिल्लाका ४८ जना खेलाडी सहभागी  थिए। 
विजेता खेलाडीलाई कभर्ड हल सञ्चालन समिति अध्यक्ष ध्रुव घिमिरे, हेटौँडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महत तथा वरिष्ठ प्रहरी उपरीक्षक वसन्त लामा लगायतले पुरस्कार वितरण गरेको कार्यक्रम सञ्चालक शम्भु पुडासैनीले जानकारी दिए।
प्रतियोगिता समापनको सन्दर्भ पारेर मकवानपुर जिल्लाकै सबैभन्दा ठूलो ब्‍याडमिन्टन कभर्डहलको उद्‍घाटन गरिएको छ। करिब ६० लाख रुपैयाँमा उक्त बहुउद्देश्यीय ब्‍याडमिन्टन कभर्ड हल तयार भएको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.