सम्पत्तिका नाममा टाटीले बेरेको छाप्रो र एउटा माउ कुखुरो

|

विराटनगर : चाउरिएको अनुहारका कैयन रेखाहरू,आफ्नै जीवन नियालिरहेका आँखा, बाँसका टाटीले घेरिएको सानो छाप्रो, मंसिर तेस्रो साताको चुरे फेदीको सिरेटो र जस्ताबाट चुहिने शीतका थोपा ओडेर रात गुजारेकी एक ७८ वर्षीया आमा। ४० वर्ष अगाडि पाँचथरको मौवाबाट मधेसको भात खान ३ छोरा र १ छोरीसहित कुम्लो कुटुरो बोकेर झरेकी मिक्लाजुङ ६ कि सनमाया महरा अहिले ७८ वर्ष पुगिन्। उनी दुःखका पहाडले पटक-पटक थिचिएकी छन्।

कैयन बज्रपात सहेकी छिन्। ४ जना छोरा, १ छोरीकी आमा उनको श्रीमान् ५४ सालतिरै स्वर्गवास भए। जेठो छोरा जन्मथलोमा अहिले पनि छँदै छन्। साइँलो छोरा पैसा कमाउन आसामको कोइला खाँद गएको अहिलेसम्म खोजीखबर छैन। माइलो छोराको क्यान्सरका कारण गत कात्तिमा मृत्यु भयो। साथमा रहेको कान्छो छोराले गत साउनमा आत्महत्या गर्‍यो। कान्छी बुहारी अर्कैसँग विवाह गरेर गएपछि कान्छो छोरा लोकिन्द्रले आत्महत्या गरेको उनी बताउँछिन्।

कान्छो छोराका दुई सन्तानको रूपमा रहेका १४ वर्षे आयुस महरा, आह्‍वान महरा र मानसिक सन्तुलन गुमाएकी ३८ वर्षे छोरी देवीमाया पालेर बस्नुपर्ने ७८ वर्षे सनमायाको बाध्यता बनेको छ। वषौदेखि चारैतिर जंगलले घेरिएको झोडामा बसोबास गर्दै आएकी वृद्धा सनमायाको जस्ताले छाएको घर कहिलेकाहीँ हात्तीले भत्काइदिन्छ।आफू बिरामी पर्दा छिमेकी पूर्वमाया लिम्बू, विनोद दर्नाल लगायतले औषधि पानीको बन्दोबस्त गरिदिन्छन्। 

छिमेकी दिलबहादुरु रुचालका अनुसार भूमिहीन सनमाया  वृद्ध र अशक्त भएको  छिमेकीहरूको दयामायामा आफू र छोरी, नातिहरूसँगै कष्टकर जीवन बाँचिरहेकी छिन्। गरिबीले गर्दा कक्षा ८ मा पढ्दै गरेका ठूलो नातिले स्कुल जान छाडेर मुढा (काठ) पल्टाउने काम गर्न थालेका छन्। कक्षा ६ मा पढ्दै गरेका कान्छा नाति आह्‍वान पनि नियमित स्कुल जान सकिरहेका छैनन्।  

 सम्पत्तिका नाममा टाटीले बेरेको छाप्रो र एउटा माउ कुखुरो 

राजनीतिक दलका नेता तथा मन्त्रीहरू समाजवादी राज्य व्यवस्था ल्याउँछु भनिरहेका छन्। पर्चा र पोष्टरमा नयाँ युगको आह्‍वान पनि भइरहेकै छ। तर, सनमायाको घरमा नयाँ युग कहिले आउने हो प्रश्न अनुत्तरित नै छ। खाना बनाएर खाने सामाग्री छैन, मकैका झुत्ता घरमा झुण्ड्याइएको भए पनि खानका लागि उनीसँग दाँत छैनन्। पिँध्नका लागि जाँतो छैन। छोडाउन हात लाग्दैन। सानो एउटा खाटमा दुई तीनवटा तन्ना र बर्कोको सहारामा चिसो रात कटाउनुपर्ने उनको बाध्यता छ।

सम्पत्तिको नाममा त्यही बाँसको टाटीले बेरेको एउटा छाप्रो र एउटा कुखुराको माउ छ। ‘के गर्नु दुःखी कर्म रहेछ सबैले छोडेर गए जसोतसो बाँचिरहेकी छु,’ उनले भनिन्, ‘छोरीलाई कहिलेकाहीँ बाँधेर राख्नुपर्छ, नातिहरूलाई जसोतसो स्कुल जाऊ भनिरहेको छु।’

शुक्रबार केही सहयोगी दाताहरूले केही चामल, तेल, कपडा र नगद सहयोग गरे। राज्यले उनीजस्ता ज्‍येष्ठ नागरिकलाई संरक्षण गर्न र विचल्लीमा परेका बालबालिकाको शिक्षा दिक्षाको ग्यारेण्टी गर्न कानुनहरू थुप्रै बनाएको छ। तर उनका लागि ति कथा जस्तै लाग्छन्। ‘मासिक भत्ता चाहिँ घरैमा ल्याइदिन्छन्, त्यसबाहेक केही सहयोग भएको छैन,’ भक्कानिँदै उनी भन्छिन्, ‘तपाईंहरूले सहयोग गर्नुभयो, भगवानले दया गरून्।’ दुःखमा भगवान सम्झने उनलाई भगवानले भने सम्झिएको कहिल्यै देखिएन। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.