|

बकैया :  उचित क्षतिपूर्ति नदिई सडक बिस्तार गर्न लागिएको भन्दै धरान–चतरा सडकअन्तर्गत बकैया गाउँपालिका ३, ४ र ५ का स्थानीय आन्दोलित भएका छन्। 

बकैया–४, जुरेलीमा पीडितहरूको भेलाले संघर्ष समिति समेत गठन गरेका छन्। मुआब्जाको विवादकै कारण यो क्षेत्रमा काम सुरु हुन सकेको छैन्। सडकको सीमा दायाँ बायाँ १५\१५ मिटर कायम गरी काम भइरहेको छ। ‘अहिले १५\१५ मिटरको मापदण्डअनुसार काम भइरहेको छ,’ गठित मुआब्जा समन्वय समितिका सहसचिव रामहरि कार्कीले भने, ‘तर, हामीले उचित मुआब्जा पाएका छैनौँ।

भौतिक संरचनाको मात्रै मुआब्जा दिने भनिएको छ। तर यो क्षेत्रमा घरको मात्रै मुआब्जा दिने हो भने धेरै मान्छेहरू सडकमा आउँछन्।’ नेपाल सरकारले राजपत्रमा यो सडक १५\ १५ मिटर बिस्तार गर्ने  उल्लेख गरेको छ। यो सडकको नापी दुई वर्ष अघि मात्रै भएकोले जग्गाको पनि मुआब्जा पाउनुपर्ने स्थानीयको माग रहेको छ। यसअघि गाउँपालिकामा भएको छलफलको निर्णय पनि कार्यान्वयन नभएको भन्दै स्थानीय आक्रोशित छन्। धरान चतरा सडक आयोजना, डिभिजन सडक कार्यालय हेटौँडासहितको उपस्थितिमा भएको छलफल अनुसार ११\११ मिटर मात्रै सडक बिस्तार गरिने जानकारी गराइएको स्थानीयको भनाइ छ।

आफ्नो घर जग्गाको उचित मुआब्जा नदिई सडक बिस्तार हुन लागेको भन्दै यस क्षेत्रका पीडितहरुले मुद्दा  हाल्ने तयारी समेत अगाडि बढाएका छन्। शनिबार गठित समितिले हस्ताक्षर संकलन गर्दै उच्च अदालत पाटन हेटौँडा इजलासमा रिट निवेदन दर्ता गर्ने तयारी गरेका छन्।  यसअघि हेटौँडा–६ का स्थानीयले सोही आयोजनाविरुद्ध हालेको रिटमाथी सुनुवाइ गर्दै अदालतले मंसिर १९ गते उक्त क्षेत्रमा काम अघि नबढाउन आदेश जारी गरेको छ।  

पीडितहरुको लगत संकलन गरी तुरुन्तै मुद्दा  प्रक्रियामा अघि बढ्ने अध्यक्ष चौलागाईँले जानकारी दिए। यस क्षेत्रका सांसद र स्थानीय सरकारले जनताको पक्षमा नबोलेकोले आफूहरू बाध्य भएर आन्दोलनमा उत्रिएको पीडित गोबर्धन गौतमले गुनासो गरे। यो क्षेत्रमा करिब ३०० घर छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.