|
बुवा विन्देश्वरसँग वसन्त

जनकपुरधाम : धनुषाको एक निजी विद्यालयमा गृहकार्य नगरेको सजायस्वरूप एक विद्यार्थीलाई शौचालय सफा गर्न लगाएको घटना बाहिर आएको छ। धनुषाको जिल्लाको बटेश्वर गाउँपालिका २ स्थित एक निजी विद्यालयका शिक्षकले अङ्ग्रेजी विषयको सबै गृहकार्य नगरेको  भन्दै शौचालय सफा गर्न लगाएका हुन्।   

स्थानीय सनसाइन इ‌ंग्लिस बोर्डिङ स्कुलमा कक्षा ५ मा अध्ययनरत ११ वर्षीय  वसन्तकुमार सिंहले गत बुधबार गृहकार्य नगरेको भन्दै शिक्षक फ्रान्कीले अाफूलाई कक्षाकोठाबाट निकालेर शौचालय सफा गर्न लगाएको बताए। ‘फ्रान्की सरले पाँच वटा होमवर्क गर्न दिनुभएको थियो। मैले चारवटा मात्र गरेको थिए, त्यसैले सरले घण्टी अवधिभर शौचालय सफा गर्न लगाउनुभयो’, वसन्तले भने।

यसअघि पनि विद्यार्थीहरूले होमवर्क नगर्दा उनले बेञ्चमा उभ्याएर लठ्ठीले पिट्ने गरेको वसन्तले बताए। वसन्तका बुवा विन्देश्वर महतोले छोरालाई शिक्षकले शौचालय सफा गर्न लगाएको विषयमा बुझ्न जाँदा प्रिन्सिपल श्रवण महतोले विद्यालय प्राङ्गणबाट जबरजस्ती निकाल्न लगाएको गुनासो गरे। 

‘छोरालाई शौचालय सफा गर्न लगाएको विषयमा बुझ्न जाँदा श्रवण सरले तिमी के गर्न सक्छौ भन्दै दुर्व्यवहार गर्नुभयो', उनले भने। गाउँपालिकाको न्यायिक समिति,  र प्रहरी चौकीमा उजुरी दर्ता गराए पनि कुनै पहल नभएको उनको दुःखेसो छ। 

स्कुलका प्रिन्सिपल महतोले विन्देश्वर महतोको घरबाट चार बालबालिका पढ्दै गरेको र २५ हजार रुपैयाँ  तिर्न ताकेता गरेपछि विद्यालयलाई बदनाम गर्न यस्तो हर्कत गरेको बताए। ‘विद्यार्थीले मात्र हैन, शिक्षकले समेत ओरल विषय अन्तर्गत शौचालय सफा गर्ने  गरेका छन्’, उनले भने।

 प्रिन्सिपल महतोले सामाजिक विषयअन्तर्गत विद्यार्थीहरूलाई सरसफाइको बारेमा शिक्षकसँगै विद्यार्थीहरूले पनि शौचालय सफा गरेको दाबी गरे। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.