|

धनगढी : कैलाली जिल्ला सदरमुकाम धनगढीबाट नजिकै र प्रदेशको राजधानी तोकिएकै नगरपालिकाभित्र अधिकांश युवा नागरिकताविहीन पाइएका छन्।

गोदावरी नगरपालिका ११ गौणीमा जिल्ला प्रशासन कार्यालय कैलालीले सुरु गरेको दुई दिने घुम्ती शिविरका क्रममा युवाहरूसँग नागरिकता नभएकाे पाइएको हो।ती युवासहित शिविरमा करिब ५०० जनाले नागरिकता लिएको जिल्ला प्रशासन कार्यालय कैलालीका प्रशासकीय अधिकृत विकास लम्सालले बताए। 

उनीहरूमध्ये २० भन्दा बढी ७० देखि ८० वर्ष उमेर समूहका नागरिक रहेको उनले जानकारी दिए। ‘दुई दिनमा ४७९ जनाले नागरिकता लिए, त्यसमा केही जेष्ठ नागरिक छन्, प्रशासकीय अधिकृत लम्सालले भने, ‘आज सम्म नागरिकताको महसुस नगरेर होला उहाँहरू नागरिकताविहीन हुनुहुन्थ्यो।’

शुक्रबार पहिलो दिन २२५ र शनिबार दोस्रो दिन २५४ ले नागरिकता लिएका हुन्। राति अबेर सम्म टोलीले नागरिकता वितरण गरेको थियो। ‘बत्ती बालेर पनि नागरिकता दियौँ, कसैलाई फिर्ता पठाएनौँ’, प्रशासन कार्यालयका प्रशासकीय अधिकृत लम्सालले भने।

गाउँमा छुटेका सबैले नागरिकता पाएको कैलालीका प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठले दाबी गरे। उनले निर्वाचनमा जनातको सहभागिता भए जस्तै नागरिकता बितरणमा पनि सहभागिता जनाएको बताए। ‘हामीले सोचेको भन्दा पनि धेरैको सहभागिता भयो, प्रमुख जिल्ला अधिकारी श्रेष्ठले भने।

स्थानीय बासिन्दा पिन गाँउमै नागरिकता पाएपछि दंग थिए। परिवारको एक जना सदस्यलाई नागरिकता दिलाउन परिवारका सबै सदस्यको उपस्थिति थियो। ‘मेरो उमेर ३० वर्ष भयो’ लाइनमा नागरिकता लिन कुरिरहेकी हिरादेवी साउदले भनिन्, ‘यसले के काम गर्छ भन्ने नै थाहा छैन।’ 

यस क्षेत्रका अधिकांश युवा मजदुरीका लागि भारत जाने गरेका छन्। श्रीमान् भारतमा रहेकाले उनीरुको श्रीमतीसँग पनि नागरिकता नभएको नम्बर ११ का वडा अध्यक्ष शिव विकले बताए। ‘गाउँमा अधिकांश युवासँग नागरिकता छैन। नागरिकता बनाउने उमेरमा भारत छन्’ वडाध्यक्ष विकले भने, ‘धनगढीसम्म पुग्ने खर्च र झण्झट धेरै हुँदा पनि नागरिकता बनाउन जान नचाहेका हुन्।’

कैलाली सदरमुकाम धनगढीबाट गोदावरी नजिकै भएपनि यातायात सुविधा नहुदा सर्वसाधरणहरु धनगढी पुग्न सास्ती हुनेगरेको बताउछन्। दुई दिनसम्म गाउँमा आएको घुम्ती शिविरले निकै सहज बनाएको उनीहरूले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.