|

बाँके : सिक्टा सिँचाइ आयोजनाका वर्तमान, तत्कालीन र पूर्व प्रमुख, इन्जिनियर, कर्मचारी तथा कालिका कन्स्ट्रक्सनका सञ्चालकसहितलाई भ्रष्टाचार मुद्दा लगाइएपछि नहर आपसपासका बासिन्दाले खुशी व्यक्त गरेका छन्।

नहर निर्माण गर्ने क्रममा कमसल खालका निर्माण सामग्री प्रयोग भएको र नियमअनुसार हुनुपर्ने काम नभएको ढकेरीका गोविन्द थापाले बताए। ‘निर्माणका क्रममा धेरै हेल्चेक्र्याइँ भएको छ। कमसल काम गरेर पैँसा कुम्ल्याइएको छ। त्यसको परिणाम आज आयोजनाका कर्मचारी र निर्माण कम्पनीले भोग्दै छन्,’ उनले भने, ‘समयमा बुद्धि पुर्‍याएको भए यो स्थिति आउने थिएन।’

ढकेरीकी रती खत्रीले पनि विशेष अदालतमा मुद्दा दायर काम नै नगरी रकम कुम्ल्याउन खोज्नुको परिणाम  भएको बताइन्। उनले नहर निर्माणका क्रममा भ्रष्टाचार भएको भन्दै दोषीलाई कारवाही गर्नुपर्ने बताइन्। ‘जसले गल्ती गरेको छ सजायको भागीदार हुनैपर्छ,’ उनले भनिन्, ‘कर्मचारी र निर्माण कम्पनीले हिनामिना गरेको रकम हामी सम्पूर्ण नेपालीको हो।’

विशेष अदालतमा मुद्दा दायर भएपछि सिक्टा सिँचाइ आयोजनाको काम अवरुद्ध हुने हो कि भन्ने चिन्ता स्थानीयले गरेका छन्। मुद्दाको किनारा नलागेसम्म काम नभए नहर झनै जीर्ण हुने स्थानीय भाइराम ओलीले बताए। उनले मुद्दाको सुनुवाइ र निर्माण कार्य सँगसँगै लैजानुपर्ने धारणा राखे। ‘काम र कारवाही सँगसँगै लैजानु पर्‍यो। मुद्दा किनारा लागेपछि मात्र काम अगाडि बढाए झनै लथालिङ्ग हुन्छ,’ उनले भने। 

स्थानीय टिका खत्रीले पनि नहर निर्माणलाई निरन्तरता दिनुपर्ने बताइन्। नहर यत्तिकै छोडे भत्केर जाने भन्दै उनले संरक्षणको जिम्मा सिक्टा सिँचाइ आयोजनाले लिनुपर्ने बताइन्। ‘पूरा भएको संरचनालाई जोगाउने र निर्माण कार्यलाई निरन्तरता दिएमा थप रकम बचत हुन्छ,’ उनले भनिन्। मुद्दाका कारण निर्माण कार्य रोक्न नहुने स्थानीयको माग छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.